मज्जाले सप्रिएको केराको थुम्मोबाट बुङ्गो पसाउँदा साहिलो थापाकहाँ निक्कै खुसियाली छायो । दसैंलाई हुने हो कि होइन भन्ने चिन्ता गर्दै सबैले औँला भाँचे र ठ्याक्कै पाक्ने टुङ्गोमा पुगे ।
पोहोर त निकै घरी थिए र चाडवाड टार्न सजिलो भएथ्यो । यसपालि भने वल्ल एकघरी पसायो । कसरी चाडबाड धपाउने हो भन्ने चिन्ताले थापा दम्पतीलाई पिरोल्यो ।
‘यसपालि एकघरी मात्र छ, कसैलाई बेच्नु हुँदैन नि, आफैँ खानुपर्छ है बा’ केटाकेटीले बुङ्गो निस्किँदैदेखि र्याल चुहाए ।
–‘तीज आउन लाग्यो, धानको गेडो छैन, कसरी मनाउने होला ?’ थपिनीले थापालाई सम्झाई । केही जवाफ नदिई बाहुन गाउँतिर झर्यो थापा । माइला मुखियाकहाँ गएर दसैंलाई झप्री केरा कबोली पाँच पाथी धान हत्यायो ।
–सोह्रश्राद्ध आउन लागेपछि थपिनी फेरि कराई । डाँडाघरे बाहुनकहाँ गएर झप्री केरा कबोली थापाले छ पाथी धान कुम्ल्यायो ।
–दसैं आउन लागेपछि थपिनीले उसै गरी चिन्ता व्यक्त गरी । गदेडाँडा बाहुनकहाँ गएर झप्री केराको बखान गरी थापाले सात पाथी धान हत्यायो र उकालो लाग्यो ।
दसैंमा झप्री केरा खान थापालाई धान दिनेहरूलाई उसले ‘केरा चोरी हुनसक्छ, नौरथा लाग्दै लिन आइहाल्नु है’ भनेकाले धान दिएर केरा आफ्नो बनाएकाहरू डोकोनाम्लो बोकेर एकपछि अर्को उकालो लाग्न थाले ।
केरा लिन आएका माइला मुखियालाई देख्नासाथ साहिलो थापा डाँको छोडेर रुन थाल्यो । उसले रुँदै चोरले राति नै केरा काटेर लगेको थुम्मो देखाइदियो । उसले चोरका सात पुस्तासम्मलाई पुग्ने गरी गाली पनि गर्यो । ‘खुइय’ गर्दै माइला मुखिया ओरालो झरे ।
यही क्रम साँझ र भोलिपल्ट बिहान आएकाहरूमा पनि दोहोरियो । निक्कै दु:खमनाउ गर्दै रित्तो बोरा र डोको लिएर ओरालो झरे केरा लिन आएकाहरू ।
साहिलो थापाको घरमा पनि यसपालिको दसैंमा निक्कै खुसियाली छायो । गिलिक्कै पाकेको झप्री केरा दही–चिउरासँग मुछेर केटाकेटीले रमाई–रमाई खाएको देखि मुसुक्क मुस्कुराए थापा दम्पती ।