त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सर्जरी विभागअन्तर्गत ब्रेस्ट थाइराइड युनिट छ । जहाँ ब्रेस्ट क्यान्सरका बिरामीको उपचार हुन्छ । त्यही युनिटमा दैनिक औसत ७०–८० जना बिरामी हेर्छिन्— डा. सुजिता हीराचन । उनी त्रिवि शिक्षण अस्पतालकी कन्सल्ट्यान्ट सर्जन हुन् । मुलुकमा औंलामा गन्न सकिने थोरै महिला सर्जनमध्ये एक डा. हीराचन मुस्ताङको चर्चित गाउँ मार्फामा जन्मिएकी हुन् ।
सन् २००० मा एमबीबीएस पढ्न उनी बंगलादेश पुगिन् । सन् २००५ मा उनले बंगलादेशको ढाका युनिभर्सिटीबाट एमबीबीएस सकिन् । काठमाडौं फर्किएपछि एक वर्ष इन्टर्न र दुई वर्ष करार सेवामा गरी तीन वर्ष उनले वीर अस्पतालमा सेवा गरिन् । त्यसपछि उनी विशेषज्ञता हासिल गर्न काठमाडौं युनिभर्सिटीअन्तर्गतको कलेज अफ मेडिकल साइन्सेज भरतपुर गइन् । भरतपुरबाट उनले २०१२ मा माष्टर्स इन सर्जरी (एमसएस) गरिन् ।
भनिन्छ, हुने बिरुवाको चिल्लो पात । सामाजिक कार्यमा क्रियाशील रहने डा. हीराचन स्कुल जीवनमै युनिसेफजस्ता संघसंस्थामार्फत चाइल्ड एक्टिमिस्टका रूपमा गर्ल ट्राफिकिङ आदि समस्याका क्षेत्रमा सक्रिय थिइन् । ‘सबैले जीवनका सारभूत कुरा पाउनुपर्छ जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘सडक बालबालिकाहरूले पढ्न, लेख्न र राम्रो जीवन जीउन पाउनुपर्छ भन्ठान्थे ।’
चिकित्सक भएर बिरामीको ज्यान जोगाउने उनको नियमित ड्युटी त छँदै थियो । डा. हीराचन रेजिडेन्ट डाक्टरका रूपमा चितवनमा रहँदाको एउटा कारुणिक घटनाले उनलाई जीवनदायिनी बनाउने अर्को मार्ग तय गर्न झकझकायो । केही वर्षअघि चितवनको ग्रामीण भेकबाट उपचार गर्न आएकी भर्खरकी एक युवतीको ज्यान जोगाउन नसकिएको थकथकी उनमा अहिले पनि उस्तै छ । ब्रेस्ट क्यान्सर भएकी युवतीलाई उनले अप्रेसन गर्न सुझाएकी थिइन्, तर ती किशोरी ८–९ महिनापछि मात्र अस्पताल आइन् । त्यतिबेलासम्म उनको क्यान्सर सबैतिर फैलिइसकेको थियो । ‘मलाई अहिले पनि ती बिरामीलाई राम्रोसँग सम्झाउन सकिन् कि भन्ने लागिरहन्छ,’
डा. हीराचन भन्छिन् ।
उक्त घटनापछि डा. सुजिता ब्रेस्ट क्यान्सरमा फरक ढंगले काम गर्न लागि परिन् । सन् २०१४ मा त्यही हुटहुटीको सार्थक परिणाम— ब्रेस्ट क्यान्सर फाउन्डेसन स्थापना भयो । मन मिल्ने साथीहरू डा. सोनिया, डा. एन्जिला, डा. विजय, डा. रितेश, डा. निरसरा तथा डा. अनु मिलेर आफ्नो तलबको केही रकम हालेर उनीहरूले उक्त फाउन्डेसन स्थापना गरे । डा. सुजिता अध्यक्ष रहेको उक्त फाउन्डेसनले ब्रेस्ट क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धिमा काम गर्नुका साथै स्तनको सुरक्षा तथा स्वास्थ्य परीक्षणका क्षेत्रमा काम गर्छ । उनी अहिले उक्त संस्थाको गतिविधीलाई मुलुकका सबै गाउँमा पुर्याउने योजनामा छिन् ।
बिरामीको जीवन बचाउने सार्थक प्रयासमा डटिरहेकी डा. हीराचनलाई सबैभन्दा बढी के कुराले खुसी तुल्याउँछ ? ‘बिरामीको इमोनसल यात्रा मैले देखेकी हुन्छु, अप्रेसन गर्नुभन्दा अगाडि बिरामी रुन्छन्, अप्रेसन गरेपछि निको हुँदासम्मको इमोनसल जर्नीको साक्षी हुन्छु म, जब बिरामी ठीक भएर डिस्चार्ज गर्छु, त्यो क्षणले मलाई सबैभन्दा बढी खुसी दिन्छ,’ डा. हीराचन भन्छिन् । रोगलाई मात्र होइन, परिवार र आफन्तलाई काउन्सिलिङ गर्नुपर्ने जस्ता धेरै कुरा चिकित्सकले सम्हाल्नुपर्छ हाम्रो नेपालमा । ‘बिरामीले आफ्नो सबैभन्दा नजिकको साथीलाई नभनेको कुरा पनि हामीलाई भन्छन्, बिरामीको अनौठो विश्वास हामीमाथि हुन्छ,’ यी युवा चिकित्सक आफ्ना खुसीका क्षणहरू सम्झन्छिन्, ‘हरेक चिकित्सकको खुसी आफ्नो बिरामी निको हुनुसँग जोडिएको हुन्छ ।’
जीवन बचाउने चिकित्सकहरूका लागि सबैभन्दा गाह्रो क्षण कुन हो त ? उनी आफ्नो ओपीडी कक्षतर्फ आँखा डुलाउँदै भन्छिन्, ‘ओपीडीमा बस्दा कैयौं इमोसनल क्षणहरूको सामना गर्नुपर्छ । बिरामीलाई तपाईंलाई क्यान्सर भएको छ भनेर जानकारी दिन निकै गाह्रो हुन्छ । यसलाई हामी ब्रेकिङ ब्याड न्युज भन्छौं, वास्तवमै त्यो क्षण एकदमै जटिल हुन्छ ।’