ऊ सहरमा बस्थ्यो । दसैंमा गाउँ पस्यो । पढ्न बसेको थियो । दसैंमा त गाउँ जानैपर्छ भन्ने सम्झियो र गाउँ गयो । यसरी जाँदा उसले गाउँमा दाजुहरू भेटेन । सबै विदेश उडेका थिए । कतिका त श्रीमान्–श्रीमती नै विदेश । बच्चाबच्ची र बूढाबूढी मात्र घरमा ।
पिङ खेल्ने ठाउँमा सुगठिला ज्यान भएका भाइहरू भेटेन, ती सबै विदेश पसेका थिए । गाउँमा मेलापर्वमा मान्छे पाइन्नन् भन्ने सुन्यो । हुँदाहँुदा गाउँका नातामा टाढैका तर सबैले उही नामले चिनिने जन्तरे काका बित्दा लासलाई काँध हाल्ने चार मलामी धौ–धौले जुटेको कथा सुन्यो । यता टीका लगाएर आशिष दिने हातहरू रित्ता भएको देख्यो ।
उता विदेशमा खाली बस्ने निधारहरूका बारेमा चिन्तन गर्यो र अन्तमा अब यही तालले दसैंको आयु लामो नहुने निष्कर्ष निकाल्यो । उसले सोच्यो– दसैंलाई विजयको प्रतीकभन्दा विछोडको स्मरण गर्ने दिनको रुपमा परिभाषा दिनुपर्ने बाध्यता । उसले आफू पनि विदेश नजाने र अरूलाई पनि देशमै केही गर्न प्रेरित गर्ने सोच बनायो । उसलाई लाग्यो–सबैमा यही सोच आए दसैंको आयु बढ्नेछ ।