दशैं शब्दमै एकप्रकारको रोमाञ्चकता छ । न जाडो न गर्मी, जागिरबाट विदा भएकाहरु सवैको एकैठाउँमा मेल, विदेशबाट आउँनेहरुको ताती, नयाँ लुगा लगाउन पाउने खुसीमा उफ्रिदै हिडेका बालापनहरु ।
यहि रोमाञ्चकता मनभित्र सजाएर दशैंमा रमाउने वाहना बनाउदै खुसी मनाउछन विदेशमा बस्ने नेपालीहरु । आफ्नो प्रियजनलाई विदेशबाटै मायाको चिनो पठाउदै राम्ररी दशैं मनाउन शुभकामना दिन विवस हुन्छन उनीहरु ।
आधुनिकताको पराकाष्ठमा पुगेको हङकङमा लगभग ४० हजारकोे हारहारीमा नेपालीहरुको बसोबास रहेको छ । सवै जात, धर्मकाले समानरुपमा पर्वहरुलाई मनाउछन्, यहाँका नेपालीहरु । दशैंमा प्रायस रातो टिका नलगाउनेहरु एकआपसमा भेला भई शुभकामना आदनप्रदानसँगै खुसी साट्छन् । ब्यस्त सडकमा रातो टिका लगाएर ठाटिएर हिडेकाहरुको ताती देख्दा विदेशमा अलग्गै खुसी मिल्ने गर्छ ।
फरक संस्कृति, भेषभुषा र भाषामा आफुलाई अभ्यस्त बनाईरहेका नेपालीहरुले निधारमा टिका र कानमा जमरा सिउरिएर परिवारसँग हिडेको दुर्लभ दृश्य हङकङमा पनि देखिन्छ ।
हङकङमा रहेका दर्जनबढि संघसस्थाहरुले दशैं तथा दिपावलीलाई मध्यनजर गर्दै विभिन्न प्रकारका शुभकामना आदनप्रदान र भेटघाटका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् । नेपाली समाज गठन गरि समाज भित्रकै अगुवाहरुले सानालाई आर्शिवादसँगै टिका जमरा दिने प्रचलन पनि रहेको छ ।
कतिपय आयोजकहरुले दशैंलाई मध्यनजर गर्दै सांस्कृति कार्यक्रमको आयोजना गर्छन, कार्यक्रममा दर्जनौ कलाकारहरुलाई प्रस्तुतीका लागि आमन्त्रित गरिएको हुन्छ ।
हङकङमा विगत ४ महिनादेखि निरन्तर चलेको आन्दोलनले सामाजिक सदभाव र एकतामा खलल आईरहेको छ । यहि सन्दर्भमा भित्रिएको दशैंलाई केहि प्रभाव अवश्य पर्ला तर बर्षदिनको यो पर्वमा खुसी नहुने मनहरु सायद भेटिनन्न् ।
यहाँका स्थानियहरुलाई पनि हाम्रो दशैको बारेमा सायद थाहा भएर होला, काममा पनि एकदिनका लागि भएपनि विदा मिल्छ फोटो पत्रकारितासँगै एयरपोर्टमा काम गरिरहेका मज्जाको राई बताउँछन् । एकदिनको विदामा आफन्तहरुसँग भेटघाट, नेपालमा रहेका आफन्त साथीभाईसँग भिडियो कल गर्दै दशैको खुसी साट्ने योजनामा छु, उनी भन्छन् ।
ब्यवसायी ओम गुरुङ भन्छन् हङकङमा हुर्किरहेका नयाँ पुस्तालाई दशैं, तिहारको महत्व नै छैन । यि पर्वहरु मनाउने आफ्नै तौरतरिका छ । आयोजना भएका भेला तथा समाजमा रहेका ब्यक्तिहरुले बालबालिकाहरुलाई अहिलेबाटै यि र यस्ता पर्वहरुको महत्व बुझाए हाम्रो संस्कृती लोप हुदैनथ्यो ।
मोडल तथा कोरियोग्राफर विनोद बस्नेत यो दशैंमा नेपाल जान नपाउँने भएका छन् । पिडा मिश्रित मलिन स्वरमा भन्छन् आफ्नै विवशता छ, विविध कारणले यो दशैमा नेपाल जान पाईन तर विदेशीहरुका लागि जहिल्यै गएपनि दशै ।
बराह ज्वेलरी हङकङ साखाकी सेल्स अफिसर सोनु सुब्बा भन्छिन दशैमा ग्राहकहरुको भिड लाग्ने गर्छ, कतिले नेपालमा आफ्ना आफन्तहरुका लागि गहना किनेर पठाईदिनु हुन्छ । दशैको भेलामा गहना लगाएर ठाटिने महिला, पुरुषहरुपनि किनमेलमा आउनुहुन्छ । दशैमा नेपाल जान नपाए पनि अन्य समयमा नेपाल गएर आफन्तहरुसँग रमाउछु सुब्बा भन्छिन् ।
दशैमा आफ्नो गाउँ जानुको खुसी नै अर्कौ हुन्छ । अन्य समयमा जानु भन्दा दशैंमा जादाँ किन किन आफ्नो गाउँ स्वर्ग जस्तो लाग्छ फोटो पत्रकार कृष्ण गुरुङ भन्छन् । १५ बर्ष भयो नेपाल गएको छैन दशैको वाहनामा हङकङमै भएपनि एकअर्कामा भेला भएर खुसी साट्छौ, आशा छ कुन न कुनै दशैले मलाई पनि नेपाल फर्काउने छ ।
दशै मात्र पर्व होईन यो विश्वास हो, प्रेम र सम्बन्धको जड हो, उमंग हो । हामी खुसीको खोजीमा रुमल्लिरहेका हुन्छौ तर यस्तै पर्वहरु हुन जसले हामीमा खुसीको सञ्चार गर्छ । भलै हाम्रो लागि भेला हुने माध्यम मात्र होला दशैं तर कतिका लागि जीवनको अदभुत पल हो दशैं, मिठो खाने, राम्रो लुगा लगाउने अवसर हो दशैं ।