साप्ताहिक संवाददाता
लोक रक ब्याण्ड नेपथ्यको हिट गीत ‘लाम्पाते सुरती’ अब युट्युबमा हेर्न र सुन्न सकिने भएको छ । स्थापना कालमा ‘पप संगीत’बाट सुरु भएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरु अटाएका छन् ।
यो गीतलाई पोखराका गन्धर्वहरुले भाका हालेर निकै बेग्लै पाराले गाउँदै आएको हुनाले आफूले केटाकेटी उमेरमै सुनेको गायक अमृत गुरुङ बताउँछन् । ‘त्यसै भाकालाई माटेपानीको जग्गु भनिने इश्वर गुरुङ दाइले गितारको धुनमा मिसाएर असाध्यै मिठोसँग सुनाएका थिए,’ अमृतले सम्झे, ‘तर, त्यसका शब्दहरुले मलाइ छोएन ।’
‘रेशम’ एल्बमको शिर्ष गीत को भिडियो उतिबेलै तयार भएर अत्यधिक लोकप्रियता हासिल गरेको थियो । त्यसै एल्बमको यो अर्को गीतले लगभग दुइ दसकपछि भर्खरै मात्र श्रब्यदृश्यमा आउन पाएको छ ।
संसारभर ब्याण्डहरुले आफ्ना चलेका गीतहरुलाई ‘लाइभ रेकर्ड’ गरेर श्रब्यदृश्य संस्करण पुनः सार्वजनिक गर्ने प्रचलन अनुसारै यसलाई पनि तयार पारिएको हो । गत वर्ष नेपथ्यले ‘नेपाल टुर’ गर्दाको संग्रहबाटै यो भिडियो तयार पारिएको हो । लाइभ कार्यक्रममा आधारित यस भिडियोले गायक अमृत गुरुङको दर्शकहरुसँग सम्वाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ ।