साप्ताहिक संवाददाता
नेपाल चलचित्र कलाकार संघले दसैंको टीकााके चौँथो दिन टीकासहित शुभकामना आदानप्रदान गरेको छ । संघले गत शुक्रबार दसैं, तिहार तथा छठ र नेपाल सम्वत् ११४० को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष रविन्द्र खड्का साथमा बरिष्ठ चलचित्रकर्मी तथा गीतकार यादव खरेलले उपस्थित कलाकारहरुलाई टीका लगाई दिएका थिए । संघका उपाध्यक्ष मोहन निरौलाले संचालन गरेको कार्यक्रममा संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ले स्वागत मन्तव्य राखेका थिए ।
नेपाल सङ्गीत तथा नाट्यक कला प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, संघका सल्लाहाकार तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष, कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलगायतले संघको उक्त कार्यको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा टीका सहित संघ स्थापना भएको ३१ वर्ष पुगेको भन्दै कलाकारलाई ३१ रुपैयाँ दक्षिणा पनि दिएको थियो भने संघका कोषाधक्ष्य सुनिल कटुवालले ३१ रुपयाँलाई ३१०० बनाइ चलचित्र कलाकार संघको कोषमा जम्मा गर्न सुरुवात गरे संगै कलाकारहरुले सो ३१ रुपैयाँमा थप रकम जम्मा गरी कलाकार अक्षय कोषका लागि रकम हस्तान्तरण गरेका थिए । यो रकम ३५ हजार भन्दा बडी संकलन भएको थियो ।
अध्यक्ष रविन्द्र खडाकाले अगामी वर्षदेखि हरेक चतुर्दशी तिथीमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि कलाकार जनक गर्तौलाले आर्थिक सहयोग गरेका थिए ।