बाँच्नु यसरी पो बाँच्नु
बाँचेकोमा जिन्दगीले पनि पछुतो नगरोस
मर्नु यसरी पो मर्नु
मरेकोमा मृत्युले पनि पछुतो नगरोस
केही गर्नु यसरी पो गर्नु
असफलताले पनि पछुतो नमानोस
जब मेरो मन उक्लिन्छ बिचारका उकालाहरु
तब स्मृतिको क्यानभासमा आफैं आफैं
लतपतिन आईपुग्छन जिन्दगीका बेरंगी रंगहरु
मलाई रंगमा पनि रातो मन पर्न छोडेको छ
जब मेरी आमा सेता कपडा लगाएर उक्लिन्थिन टाकुराहरुमा भाग्य काट्न
त्यति बेला लाग्थ्यो आमा किन झरिनन्
गुराँस फुलेको पाखा तिर ?
जब मेरी दिदी होस गुमाएर
आफ्नै कपडा स्याहर्न नसक्ने अवस्थामा पनि किन
घरबाट निस्कन्छिन कुनै एक्लो उजाड ठाउँतिर
त्यतीबेला लाग्थ्यो दिदी किन झरिनन्
गुराँस फुलेको काल्ना तिर ?
भाउजू ऐना अघि बसेर आफैंलाई हेरीमात्र किन बस्छिन सधै ?
किन जान्थिन सल्लाको घारी तिर र सुसेल्थिन्
जिन्दगीको बिरही भाका ?
मैले बुझ्दैन थिएँ त्यतीबेला
अनुहारमा युद्दका किरिङमिरिङ अक्षरहरु
पिडाका अनियमीत हस्ताक्षरहरु
दमनका पिरामिडहरु
तर जब देखि बुझ्न थालेको छु
तब देखि यो बस्तीहरुमा वसन्त फर्किएको छैन
भो अब नफुल्नु गुराँस तिमी
जब तिमी फुल्छौ तब यस्तो लाग्छ कि
मेरी आमाको भाग्य तिमीले चोरेको छौ
भाउजू.....
माइजू.......
फूपू..........
दिदिहरुका खुसीहरुमा बदमासी गरेको छौ
निधारको रातो सुर्य अचेल उदाउँदैन उनिहरुको
अझै बाँकी छन
मेरा गाउँलेहरुको पाखुरामा गोलीका ल्याप्चेहरु
अझै उस्तै छन बन्दुकको नालका निला डामहरु
दन्किरहेका छन पेटमा अभावका लप्काहरु
उठ्दै दब्दै गर्छन छातीमा छटपटीका ज्वारहरु
भो अब नफुल्नु गुराँस तिमी
यदि फुल्नै परे
चेतनाको मसाल बाल्नु हरेक बस्तीहरुमा पहिले
परिवर्तनको झर्को सल्काउनु ती घरहरुमा
मुस्कानको अगरबत्ती सल्काउनु ती देश भएर पनि परदेशी अनुहारको अघि
तर मेरी आमाको सिउँदोको खिल्ली उडाउदै
दिदिको मस्तिष्ककोमा हिर्काउदै
भाउजुको आयुमा खुँडा तेर्साउदै
ती अबोध बिचारहरु संग फाईदा लुट्दै
भो अब नफुल्नु गुराँस तिमी
बरु अक्षरहरु खेती गर्नु
र लेख्नु आफ्नै निधारमा अतित्वको शान्ती गीत ।