साप्ताहिक संवाददाता
लियो क्लव अफ चितवन इष्टका युवा सदस्यहरुले चितवन र मकवानपुरको ग्रामिण क्षेत्रका स्थानिय बासिन्दाहरुको निशुल्क स्वास्थ परिक्षण गर्नुका साथै स्वास्थ जनचेतना, प्राथमिक उपचारका समाग्री र औषधिहरु वितरण गरेका छन् ।
चितवनको किरानटारमा आयोजना भएको उक्त शिविरमा मकवानपुर राक्सिराङ गाउँपालिकाका चेपाङ समूदायका स्थानियहरुले लाभ लिएको कार्यक्रम संयोजक एवं लियोकी सचिव प्रेचन थपलियाले जानकारी दिइन् । तिनदिने शिविरमा ७ सय जना स्थानियहरुको स्वास्थ जाँच गर्नुका साथै उनीहरुलाई स्वास्थ सम्बन्धि जनचेतना जगाउनुका साथै औषधि वितरण गरिएको थियो । क्लबले आँखा जाँच गर्नुका साथै मोतिबिन्दुको शल्यक्रिया, स्त्री तथा प्रसुती रोगको परिक्षण, हाड जोर्नी र सामान्य स्वास्थ परिक्षण गरेको थियो ।
विगत १४ बर्ष देखि सामाजिक सेवा र समाज जागरणको क्षेत्रमा काम गर्दै आएको लियो क्लव अफ चितवन इष्ट, लायन्स क्लब चितवन इष्ट र अर्पन च्यारिटेबल ट्रष्टले संयुक्त रुपमा उक्त शिविरको आयोजना गरेको हो । शिविरमा स्थानियलाई प्राथमिक उपचारको समाग्री वितरण गर्नुका साथै सरसफाई सम्बन्धि विशेष तालिम कार्यक्रम संयोजक एवं नर्स प्रेचन थपलियाले गराएकी थिईन् ।
लियो अध्यक्ष कृष्ण शर्मा पौडेलको अध्यक्षतामा गएको उक्त टोलीमा बिशिष्ट अतिथिको रुपमा लायन किरण बुर्लाकोटीको पनि सहभागिता रहेको थियो ।