साप्ताहिक संवाददाता
अब बल क्यान र उसको नयाँ बोर्डको कोर्टमा पुगेको छ । पारसले पासा त फ्याँकेकै छन्, अब उत्तरमा पाइला चाल्ने काम क्यानको हुनेछ । कप्तान छँदा पारसले जुन प्रकारको असीमित अधिकार र अवसर पाइरहेका थिए, अब त्यस्तो स्थिति रहनेछैन । त्यो अब क्यानमा गएको छ ।
केहीका लागि यो अनपेक्षित रह्यो, केहीका लागि अपेक्षित । पछिल्लो केही वर्ष नेपाली क्रिकेट कसैले एक्लै हाँकिरहेको थियो भने ती पारस खड्का नै थिए । उनी खेलाडी थिए, अझ कप्तान पनि । यो देखिने भूमिका भयो । नदेखिने भूमिकामा उनी प्रशिक्षक पनि थिए, छनौटकर्ता पनि थिए, अझ क्रिकेट बोर्ड पनि । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि प्रतिबन्ध लगाइरहेको स्थितिमा पारस नेपाली क्रिकेटका सर्वेसर्वा नै थिए ।
यिनै पारसले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी छाडेका छन् । मंगलबार बिहान धेरैलाई स्तब्ध पार्दै उनले कप्तानबाट राजीनामाको घोषणा गरे । पारसको राजीनामा यस्तो समयमा आएको थियो, जति बेला आईसीसीले क्यानमाथिको प्रतिबन्ध ससर्त हटाएको थियो । त्यसअघि आईसीसीकै निगरानीमा क्यानको चुनाव पनि भएको थियो । उक्त चुनावबाट क्यानको नेतृत्वमा आएका थिए— चतुरबहादुर चन्दको समूह । सबैलाई थाहा छ, त्यो समूहसँग पारसको सम्बन्ध फिटक्कै राम्रो छैन ।
यस्तोमा पारसले कप्तानी छाडेर फ्याँकेका छन्, ‘बम सेल’ । उनको यो कामले नेपाली क्रिकेटमा एक प्रकारको शून्यता छाउने पक्का छ । निकै लामो समय नेपाली क्रिकेट र पारस पर्यायजस्तै रहेकाले पनि यस्तो अनुभव पक्कै हुनेछ । उनको राजीनामालाई अनपेक्षित मान्नेका लागि सायद यो ठीक समय थिएन् कप्तानी छाड्ने, तर उनको कामलाई अपेक्षित मान्नेलाई के लागेको छ भने पृष्ठभूमि नै यस्तो तयार भएको छ, जहाँ पारससामु कप्तानी छोड्नुबाहेक अर्को विकल्प थिएन ।
क्रिकेट बोर्ड नै आफ्नो पक्षमा नरहेपछि कप्तानी जारी राख्ने काम सजिलो हुने थिएन । पारसकै शब्दमा यो अपेक्षित थियो, उनको आफ्नो योजनाअनुसार चालिएको उपयुक्त कदम । उनले सबैलाई दोहोर्याएर भनेको कुरा एउटै हो, ‘मैले उपयुक्त समयमा कप्तानी छाडेको छु ।’ उनले किन कप्तानी छाडे भन्ने प्रश्नको उत्तर खोज्ने व्यापक प्रयास पनि हुनेछ, स्थितिको विश्लेषण चल्नेछ ।
अब बल क्यान र उसको नयाँ बोर्डको कोर्टमा पुगेको छ । पारसले पासा त फ्याँकेकै छन्, अब उत्तरमा पाइला चाल्ने काम क्यानको हुनेछ । कप्तान छँदा पारसले जुन प्रकारको असीमित अधिकार र अवसर पाइरहेका थिए, अब त्यस्तो स्थिति रहनेछैन । त्यो अब क्यानमा गएको छ । पारस फेरि त्यस्तै पुरानो भूमिकामा देखिएको भए, नयाँ द्वन्द्व सुरु हुने पक्का थियो । उनले कप्तानी छाडेर त्यस्तो सम्भावनालाई निस्तेज पारेका छन् ।
पारसको राजीनामाले क्यानको नयाँ नेतृत्वलाई काम सुरु गर्न सजिलो हुनेछ, तर यही सजिलो स्थितिमा पनि उल्टै क्यानमाथि धेरै चुनौती थपिएको छ । क्यान आफैं उदार भएर पारसलाई फेरि कप्तानको प्रस्ताव राख्न सक्छ । त्यसलाई उनले स्विकार्नेछन् अथवा छैनन, त्यो अर्कै कुरा हो अथवा क्यान नयाँ कप्तान चयन गरेर अगाडि बढ्न पनि सक्छ । तय छ, पारसले अझै केही वर्ष माथिल्लो स्तरमा खेल्नेछन् ।
उनले कप्तानी छाडेर आफ्नो ठूलो महत्त्वाकांक्षा पनि प्रस्ट पारेका छन् र त्यो हो, क्यानको नेतृत्व ताक्ने । लामो समयदेखि उनले खुलेरै भनिरहेका थिए, क्यानको नेतृत्वमा आउने इच्छा छ । उनी नेपाली क्रिकेटकै लागि काम गर्न चाहन्छन् र यो भविष्यमा गएर व्यवस्थापक र प्रशासकको रूपमा हुनेछ । सम्भवत: पारसको राजीनामाको सबैभन्दा ठूलो कारण उनीभित्र लुकेर रहेको क्यान नेतृत्वको आकांक्षा नै हो । यस्तोमा उनी राजीनामा दिएर आफ्नो दोस्रो इनिङ्स सुरु गर्न चाहन्छन् ।
यी सबैको चर्चा गर्दा एउटा तथ्य के अस्वीकार गर्न सकिन्न भने नेपाली क्रिकेटमा पारसको योगदान ठूलो छ, उनको यो वास्तविकतालाई कसैले अस्वीकार गर्न सक्नेछैन । नेपाली क्रिकेट अहिलेको स्थितिसम्म आइपुग्नुमा सबैभन्दा ठूलो हात उनकै छ । चाहे त्यो नेपाललाई एकदिवसीय टिमको मान्यता दिलाउनुहोस् अथवा ट्वान्टी–२० विश्वकपमा छनोटसम्म पुर्याउनुहोस् । त्यति मात्र होइन, नेपाली क्रिकेटमा देखिएको केही व्यवसायिकता पनि उनकै कारणले सम्भव भएको हो ।
सन् २००९ देखि नेपाली टिमका कप्तान रहेका पारसले विनोद दासपछि नेतृत्वको बागडोर सम्हालेका थिए । उनकै नेतृत्वमा नेपालले डिभिजन फाइभबाट यात्रा सुरु गर्दै आफूलाई एकदिवसीय टिमका रूपमा स्थापित गरेको थियो । सन् २०१४ मा उनको नेतृत्वमा नेपालले खेलेको ट्वान्टी–२० विश्वकपको प्रदर्शनलाई कसैले बिर्सन सक्नेछैनन् । उनी एकदिवसीय र ट्वान्टी–२० क्रिकेट दुवैमा शतक प्रहार गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । यिनै पारसले कप्तानी छाडेर नेपाली क्रिकेटमा वास्तवमै ठूलो तरंग ल्याएका छन् ।