साप्ताहिक संवाददाता
विशेष गरी युवा पुस्ताको रोजाइ हुन्छ नयाँ बाइक । कम्पनीहरूले पनि यो वर्ष विभिन्न ब्रान्डका नयाँ बाइक नेपाली बजारमा भित्र्याएका छन् ।
हिरो एक्सपल्स २०० टी
भ्रमणमा जान रुचाउने युवा पुस्ता लक्षित गरी निर्माण गरिएको एक्सपल्स २०० टी आधुनिक रेट्रो संरचना एवं सवारी सहजताको सही संयोजन खोजिरहेका युवाहरूका लागि सटिक मोटरसाइकल हो । एक्सपल्स २०० टी मा २०० सीसी सीभी कार्बोरेटर इन्जिन जडान गरिएको छ । यो इन्जिनले १८ दशमलव ४ पीएस शक्ति तथा १७ दशमलव १ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकल सुरक्षा र सुविधाजनक विशेषताहरूले भरिपूर्ण छ, जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलईडी हेडल्याम्प र टेलल्याम्प, ब्लुटुथसहितको डिजिटल गतिसूचक यन्त्र, टाइ प्वाइन्टहरूयुक्त ठूलो आसन तथा रबर प्याडहरूका साथमा सामान राख्ने प्लेट छन् । यसको मूल्य ३ लाख ३२ हजार रुपैयाँ पर्छ ।
बीएमडब्ल्लू जी ३१० जीएस
बीएमडब्ल्लू जी ३१० जीएस एड्भेन्चर तथा टुरिङ मोटरसाइकल हो । यसमा ३१३ सीसीको लिक्विड कुल्ड डीओएचसी इन्जिन छ, जसले ३४ एचपी र २८ एनएम टर्क जेनरेट गर्छ । यसमा भएको ईएफआई सिस्टमको इन्जिन तथा पछिल्तिर फर्किएको सिलिन्डर हेडले चिसो हावा छोड्न र राम्रो पर्फमेन्स प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसमा भएको लामो स्विङआर्म तथा ५८ इन्चको छोटो ह्विलबेसले ब्यालेन्स नियन्त्रण गर्न तथा स्ट्याबिलिटी सुधारमा सहयोग गर्छ । जी ३१० जीएसको रेसिङ रेड र कस्मिक ब्ल्याक कलरको मूल्य १० लाख ९० हजार तथा ह्वाइट मेटालिकको मूल्य ११ लाख १५ हजार रुपैयाँ छ ।
टीभीएस अपाचे आरटीआर १६० ४भी
टीभीएसको अपाचे सिरिजका बाइक निकै लोकप्रिय छन् । तीमध्ये अपाचे आरटीआर १६० ४भी एक हो । यसमा १५९ दशमलव ७ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक तथा ४ भल्भ इन्जिन छ, जसले १६ दशमलव ५ पीएस पावर तथा १४ दशमलव ८ एनएम टर्क जेनरेट गर्छ । यसमा पावर राइडिङका लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स छ, जसले पावरफुल राइडिङको अनुभव प्रदान गर्छ । यो मोटरसाइकलको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ पर्छ ।
केटीएम ड्युक १२५
यो बाइक कम मूल्यमा राम्रो रेसिङ बाइक खोज्नेहरूका लागि उपयुक्त मानिन्छ । केटीएम १२५ ड्युकमा १२४ दशमलव ७ सीसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ जसले ९२५० आरपीएममा १४ दशमलव ३ बीएचपीको पावर तथा ८००० आरपीएममा १२ एनएमको टर्क जेनरेट गर्छ । यसको इन्जिनमा ६ स्पिड गियरबक्स छ भने यसमा एबीएसको स्ट्यान्डर्ड फिटमेन्ट पनि उपलब्ध छ । यसमा ४३ मिलिमिटरको अप साइड डाउन फोक्र्स सस्पेन्शन जडान गरिएको छ । यसको फ्रन्टमा ३०० मिलिमिटरको डिस्क ब्रेक छ । यो बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय रुपैयाँ पर्छ ।
यामाहा एमटी–१५
यामाहा एमटी–१५ मा १५५ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । ६–स्पिड ट्रान्समिसनयुक्त यो इन्जिनले १९ दशमलव ३ बीएचपी पावर तथा १ दशमलव ७ एनएम टर्क जेनरेट गर्छ । त्यसैगरी यसमा स्लिपर क्लच छ । यसमा फ्युल इन्जेक्सन, सिंगल ओभरहेड क्यामसाफ्टका साथ फोर भल्व हेड, ड्युअल च्यानल एबीएस उपलब्ध छ । यो बाइकको फ्रन्ट लुक निकै आक्रामक छ । अगाडिबाट हेर्दा यो बाइक जेटबोट जस्तै देखिन्छ । १५० सीसी इन्जिनयुक्त यो बाइकमा मोनोफोकस एलईडी हेडल्याम्प तथा सिंगल सिट लेआउट उपलब्ध छ । यसको मूल्य ४ लाख २४ हजार ९ सय रुपैयाँ पर्छ ।
मोटरहेड एमएच २००
मोटरहेडको १९९ सीसी इन्जिन क्षमताको एमएच २०० बाइक डर्ट सेगमेन्टको बाइक हो । कार्बोरेटर इन्जिन युक्त यो बाइकले १६ एचपी पावर तथा १७ एनएम टर्क जेनरेट गर्छ । डिजिटल ओडोमिटर तथा टेकोमिटरले युक्त यो बाइकमा ट्रिपमिटर पनि छ । चीनमा बनेको एमएच २०० बाइकमा १२ लिटर क्षमताको इन्धन ट्याङकी छ । यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने बताइएको छ । दुबै चक्कामा डिस्क ब्रेक भएको यो बाइकले युवा पुस्ताको मन जित्ने कम्पनीको दाबी छ । टप स्पिड १ सय २० किलोमिटर प्रतिघण्टा भएको यो बाइकको मूल्य ३ लाख ७२ हजार रुपैयाँ पर्छ ।
सुजुकीको जिक्सर सिरिज
सुजुकी जिक्सर सिरिजका बाइक जिक्सर २५० तथा जिक्सर १५० को नेकेड, फेयरिङ र मोटोजीपी गरी सबै भर्सन उपलब्ध छन् । जिक्सर २५० मा सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड इन्जिन जडान गरिइको छ, जसले २५ पीएस पावर जेनरेट गर्छ । यसमा ६ स्पिड ट्रान्समिसन छ । एसएफ मोडलको मूल्य ४ लाख ९६ हजार ९ सय, मोटोजीपी एडिसनको ४ लाख ९९ हजार ९ सय तथा नेकेड भर्सनको मूल्य ४ लाख ६१ हजार ९ सय रुपैयाँ बताइएको छ ।
जिक्सर १५० मा दिइएको १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले १४ दशमलव १ पीएस पावरका साथै १४ एनएम टर्क जेनरेट गर्छ । कम्पनीले जिक्सर १५० अन्तर्गत एसएफ मोडलको मूल्य ३ लाख ६८ हजार ९ सय, नेकेड भर्सनको मूल्य ३ लाख १५ हजार ९ सय तथा मोटोजीपी भर्सनको मूल्य ३ लाख ७२ हजार ९ सय रुपैयाँ तोकेको छ ।
रोयल इन्फिल्ड गन मेटल ग्रे
रोयल इन्फिल्ड क्लासिक ३५० सीसी गन मेटल ग्रे डिस्क ब्रेक सहित उपलब्ध हुन्छ । यो गन मेटल ग्रेमा स्पोर्टी लुक, म्याट फिनिस, रियर डिस्क ब्रेक जस्ता विशेषतामा उपलब्ध छ । यो बीएस फोर मापदण्डयुक्त बाइक हो । यसलाई युवाहरूको ड्रिम र अत्यन्त लोकप्रिय ब्रान्ड मानिन्छ । यो बाइक हेडलाइट केसिङ, ड्युअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्सजस्ट फाइन, स्पिडोमिटर डायल, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्बली तथा हेडलाइट क्याप युक्त छ । हाल थपिएको रियर डिस्क ब्रेकका कारण यो बाइक टुरिङ एवं दैनिक राइडिङका लागि थप सुरक्षित भएको बताइएको छ । यो बाइकको मूल्य ५ लाख १५ हजार रुपैयाँ पर्छ ।
अप्रिलिया स्टोर्म १२५
अप्रिलियाको उच्च स्तरीय इटालियन रेसिङ टेक्नोलोजीयुक्त अप्रिलिया स्टोर्म रेसरहरूको लागि डिजाइन गरिएको तर आरामदायक स्कुटर हो । यसमा १२५ सीसीको आधुनिक प्रविधिको थ्री भल्व इन्जिन जडान गरिएको छ । यो स्कुटरमा अन र अफरोड दुवैका लागि उपयुक्त १२ इन्चको फराकिलो स्पोर्ट्स अलोय ह्विल टायर छ । युवा पुस्तालाई लक्षित एप्रिलियाको लुक्स स्पोर्टी छ । स्टोर्म १२५ स्कुटरमा मोबाइल कनेक्टिभिटी एप तथा अन्य विभिन्न सुविधा समेत उपलब्ध हुन्छ । यसको मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।
एनआईयूको एनजीटी स्कुटर
एनआईयू विश्वकै नम्बर वान दावी गर्ने इलेक्ट्रिक स्कुटर कम्पनी हो । एनआईयूको एनजीटी स्कुटरमा विभिन्न ड्राइभिङ मोड तथा पछिल्लो भागमा बस्ने यात्रीका लागि समेत थप स्पेस उपलब्ध छ । यसमा ६० भोल्ट ३५ एएचका दुई वटा रिमुभेवल लिथियम आयोन ब्याट्री उपलब्ध छन् । उक्त ब्याट्रीलाई साढे ३ घण्टामा फुल चार्ज गर्न सकिन्छ र यसमा प्रयोग गरिएको बोसको ३ हजार वाटको इलेक्ट्रोमिटरका कारण टप स्पिड ७० किलोमिटर प्रतिघण्टा छ भने एक पटक चार्ज गर्दा १ सय ३० किलोमिटरसम्म चलाउन सकिन्छ । स्मार्ट स्कुटर भएकाले यसमा मोबाइलको सिम प्रयोग गर्न सकिन्छ भने अन्य विभिन्न फिचर यसका आकर्षण हुन् ।