साप्ताहिक संवाददाता
हरि लम्साल सुगम संगीतका स्थापित संगीतकार हुन् । उनले संगीतबद्ध गरेका दर्जनौं गीत लोकप्रिय छन् । यद्यपि संगीतकार लम्सालले सांगीतिक यात्राको प्रारम्भ गायकका रूपमा गरेका थिए । यो अवधिमा उनले करिब दुई दर्जन गीत आफ्नै स्वरमा रेकर्ड गराए ।
गायनमा खासै नचले पनि संगीतकारका रूपमा भने उनका गीत एकपछि अर्को गर्दै लोकप्रिय भए । झन्डै सात सयवटा गीत संगीतबद्ध गरिसकेका यी संगीतकार अहिले आएर गायकका रूपमा स्थापित भएका छन् । चार महिनाअघि उनकै स्वरमा रेकर्ड भएको गीत ‘परानै दिन्छु...’ म्युजिक भिडियोका रूपमा सार्वजनिक भयो ।
मेलिना राईसँगको उक्त यूगल गीतमा लम्सालकै संगीत छ भने त्यसका शब्दहरू प्रल्हाद शाहले रचना गरेका हुन् । दयाहाङ राई तथा लक्ष्मी बर्देवाको अभिनय रहेको उक्त गीतको भिडियो युट्युबमा ७२ लाखभन्दा बढी पटक हेरिएको छ । संगीतकार लम्साल भन्छन्— ‘वास्तवमा म गायक नै हुँ, मैले संगीतबद्ध गरेका गीत लोकप्रिय भएकाले मात्र मेरो गायकी लुकेको थियो । अब भने गायनमा पनि उत्तिकै सक्रिय रूपमा लाग्नेछु ।’