साप्ताहिक संवाददाता
रवि ओड, गायक
विगतमा पनि म काठमाडौं पुग्थेँ, फर्कन्थें । आयो, गयो कसैलाई पत्तो हुँदैनथ्यो, तर नेपाल आइडल भैसकेपछि भने मेरो गाउँ फर्काइ र गाउँको बसाइ विशेष बन्यो । यसपालि दसैं मनाउन र विभिन्न कार्यक्रमको निम्तो लिएर फूलपातीको अघिल्लो दिन श्री एयरलायन्सको विमानबाट धनगढी ओर्लिएँ । १७ गते नै ओलानीको कार्यक्रम भ्याउनुपर्ने थियो । आयोजक टिम मलाई लिन धनगढी विमानस्थलमा आइपुगेको थियो । कारणवश त्यो दिनको कार्यक्रम २० गतेका लागि सर्यो । तैपनि १७ गतेको साँझ महेन्द्रनगरमा अर्को कार्यक्रम थियो । उक्त कार्यक्रममा प्रस्तुति दिएँ । त्यसपछि फूलपातीको दिन मेरो जन्मस्थान गुलरियामा भव्य कार्यक्रम भयो । त्यसमा प्रस्तुति दिँदा निकै रमाइलो भयो । विगतका दसैं आफ्नै घरमा बसेर बित्थ्यो, तर यो पटक त्यही ठाउँमा गाउँलाई संगीतमय बनाउन पाउँदा गर्विलो महसुस भएको छ ।
दसैंको मौकामा सहर र विदेसिएका दाजुभाइ, बुबा–काकाहरू गाउँ फर्केका थिए । उहाँहरूलाई पनि भेट्ने मौका मिल्यो । यसपालि करिब ६ महिनाको काठमाडौं बसाइपछि म गाउँ फर्केको थिएँ । यो नै मेरो अहिलेसम्मको लामो काठमाडौं बसाइ थियो । अष्टमीका दिन साथीभाइहरूसँग भेटें । २० गते दिउँसो ओलानीको कार्यक्रम सिध्याएर साँझ पहलमानपुरको कार्यक्रममा प्रस्तुति दिएँ ।
ओलानीको कार्यक्रम सिध्याएर २१ गते मात्र घर पुगें । करिब १२ वर्षपछि यस वर्ष बुबाको हातबाट टीका र आशीर्वाद ग्रहण गर्ने अवसर मिल्यो । किनभने यसभन्दा अघि मेरो बुबा रोजगारीको सिलसिलामा भारतमा हुुनुहुन्थ्यो । त्यसै कारणले यो वर्षको दसैं थप अविस्मणीय बन्यो । विगतको दसैं घरमै मात्र टीका लगाएर बित्थ्यो भने यसपालि मैले गाउँका पाका बाआमाहरूको हातबाट टीका र आशीर्वाद ग्रहण गरें । मेरो घर राजमार्ग नजिकै छ, भनौं सडकबाटै घर देखिन्छ । जसले गर्दा म सडकमा निस्कँदा गाडी, मोटरसाइकल रोकेर धेरैले मसँग भेट्नुभयो । जबकि म नेपाल आइडल हुनुभन्दा अघि मलाई कसैले चिन्दैनथे, त्यसैले यसपालि काठमाडौंबाट गाउँ फर्कंदा र गाउँमा बिताएका मेरा अनुभव व्यक्त गर्ने कुनै शब्द मसँग छैनन् ।
साथै म नेपाल आइडल भैसकेपछि गाउँमा मपछिका पुस्तामा जोस, जाँगर र हौसला बढेको पाएँ । मभन्दा अघिको पुस्ता केही सम्भावना नदेखेर धेरैजसो भारत र खाडी मुलुकतिर प्रस्थान भएका छन्, तर म नेपाल आइडल भएपछि गाउँका दाजुभाईहरूमा हामीले पनि केही गर्नुपर्छ, केही गर्न सक्ने रहेछौं भन्ने ऊर्जा आएको देख्दा गर्व लाग्यो । मभन्दा पछिको पुस्ता अध्ययनमा केन्द्रित भएर रविजस्तै चर्चित बन्ने लक्ष्यका साथ लागेका छन् भन्ने सुन्दा खुसीको सीमा रहेन । यतिबेला पनि म गाउँकै विभिन्न कार्यक्रममा व्यस्त छु । त्यसैले यसपालि मेरो गाउँ बसाइ अविस्मरणीय भयो । यिनै यादहरू सँगालेर कात्तिक ३ गते काठमाडौं फर्कंदैछु ।