साप्ताहिक संवाददाता
भनिन्छ, चलचित्र मनोरञ्जनका लागि बनाइन्छ । चलचित्र हेर्ने दर्शकले चलचित्रबाट विशुद्ध मनोरञ्जन चाहन्छ । दुई–अढाई घण्टाको चलचित्र हेरुन्जेल अल्छी लाग्नु हुँदैन, तनाव पनि दिनु हुँदैन । नोरञ्जनसँगसँगै समाजलाई केही सन्देश दियो भने सुनमा सुगन्ध थपिन्छ । अघिल्लो शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘छ माया छपक्कै’ मा दर्शकले ती सबै सामग्री फेला पार्न सक्छन्, जुन एउटा सफल चलचित्रका लागि आवश्यक छ ।
दीपेन्द्र लामाको निर्देशन, रोहित अधिकारीको निर्माण तथा दीपकराज गिरी तथा दीपाश्री निरौलाको प्रस्तुतीकरणमा तयार भएको चलचित्र ‘छ माया छपक्कै’ दसैंको बिदापछि प्रदर्शन भएको थियो । अधिकांश ठूला बजेटका चलचित्र दसैंअघि नै प्रदर्शन हुने परम्पराविपरीत चलचित्रका अभिनेता, पटकथाकार तथा प्रस्तुतकर्ता दीपकराजले यसलाई दसैंको बिदा सकिएपछि प्रदर्शन गर्ने हिम्मत देखाए ।
चलचित्रको विषयवस्तु राम्रो छ भने बिदा नहुँदा पनि चलचित्रले दर्शक पाउँछ भन्ने मान्यतालाई आत्मसात् गरेका गिरी अन्तत: आफ्नो प्रयोगमा सफल भएका छन् । चलचित्रले आमदर्शकमात्र होइन, समीक्षकहरूबाट समेत प्रशंसा पाएको छ । चलचित्रको माउथ पब्लिसिटी पनि उत्कृष्ट छ । फलस्वरूप चलचित्रले प्रदर्शनको अघिल्ला तीन दिनमै ३ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको छ । यो सातासम्ममा यो आँकडाले ४ करोड पूरा गर्ने चलचित्रका एक निर्माताको अनुमान छ ।
सुदूर पश्चिमाञ्चल क्षेत्रको तत्कालीन गोदावरी गाविसमा घटेको एउटा सत्य घटनामा आधारित यो चलचित्रमा खानेपानीको समस्यालाई मुख्य विषयवस्तु बनाइएको छ । खानेपानी नभएर काकाकुल भएको एउटा गाउँको कथालाई चलचित्रमा मनोरञ्जक शैलीमा चित्रण गरिएको छ । छिमेकी गाउँमा छेलोखेलो गर्ने पानी भए पनि सँगैको गाउँमा खानेपानीका लागि बिहान चार बजदेखि नै पँधेरामा पुग्नुपर्ने बाध्यता छ । यो बाध्यतालाई दुई गाउँमा राजनीति गर्ने दुई भिन्न राजनैतिक दलको राजनीतिले पनि बल पुर्याएको छ ।
चलचित्रमा एउटा रोमाञ्चक प्रेमकथा छ, जहाँ २४ वर्षीया जल (केकी अधिकारी) ४२ वर्षीय बीपी (दीपकराज गिरी) सँग प्रेमसम्बन्ध गाँस्न पुग्छिन् । खानेपानीको अभावका कारण बीपीका गाउँका युवाहरूले विवाह गर्नका लागि केटीसमेत पाउँदैनन् ।
जलकी गाउँकी एक युवती (सुपुष्पा भट्ट) बीपीको गाउँका युवा प्रवीण (जितु नेपाल) सँग प्रेम गर्छिन्, तर जब विवाहको कुरा आयो, ती युवतीका बुवाले खानेपानी नभएको गाउँमा छोरी नै नदिने भन्दै विवाह टारिदिए । राजनैतिक पृष्ठभूमिका कारण समेत एक–अर्को गाउँका मानिसहरूबीच मनमुटाव भैरहेको बेला जल र बीपीको प्रेमले कस्तो रंग ल्याउँछ ? के उनीहरूको प्रेम सफल होला ? बीपीको गाउँको खानेपानीको समस्या समाधान होला ? चलचित्रको क्लाइमेक्समा यी कुराको जवाफ सुन्दर शैलीमा प्रस्तुत गरिएको छ ।
चलचित्रका निर्देशक दीपेन्द्र लामाका अनुसार छ माया छपक्कै ‘सोसियो–पोलिटिकल–कमेडी’ चलचित्र हो । चलचित्रमा एकातिर नेपालका ग्रामीण समाजका सामाजिक मुद्दाहरू उठाइएको छ भने अर्कातिर सामाजिक समस्या समाधान गर्न आमजनता नै उठ्नुपर्छ भन्ने सन्देशसमेत दिन खोजिएको छ । चलचित्र हेरुन्जेल अधिकांश दर्शकले आफ्नो गाउँठाउँको कथा हेरेको अनुभव गर्न सक्नेछन् ।
चलचित्रको विषयवस्तु सशक्त छ, लेखनले त्यसलाई अझ धारिलो बनाएको छ । समय सान्दर्भिक विषयवस्तुले दर्शकलाई हलचल गर्न दिँदैन । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारीसहितका कलाकारको अभिनयमा जीवन्तता छ । चलचित्रको छायांकन पक्ष पनि उत्तिकै आकर्षक छ । छायांकार हरि हुमागाईंले चलचित्रमा यथार्थपरक दृश्यहरू संयोजन गरेर यसलाई कलात्मक बनाउने प्रयास गरेका छन् ।