साप्ताहिक संवाददाता
चन्द्र पन्त नेपाली चलचित्रका स्थापित द्वन्द्व निर्देशक हुन् । पन्तले थुप्रै नेपाली चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका छन् । द्वन्द्व निर्देशकका रूपमा सक्रिय रहेकै बेला उनी भोजपुरी चलचित्रतर्फ आकर्षित भएका छन्, त्यो पनि निर्देशककै रूपमा ।
अघिल्लो वर्ष प्रदर्शन भएको भोजपुरी चलचित्र ‘निरहुवा चलल लन्डन’ मार्फत पन्तले निर्देशनको यात्रा प्रारम्भ गरेका थिए । उक्त चलचित्रमा भोजपुरी चलचित्रका सुपरस्टार दिनेशलाल यादव निरहुवा मुख्य भूमिकामा थिए ।
उक्त चलचित्रको व्यवसायिक सफलताले निर्देशक पन्तलाई भोजपुरी चलचित्रको निर्देशनमै व्यस्त बनाएको छ । पछिल्लो समय पन्तले दुई नयाँ भोजपुरी चलचित्रहरू ‘रण’ तथा ‘माही’ निर्देशन गर्ने घोषणा गरेका छन् । दुवै चलचित्रका फस्ट लुक पोस्टरमा पन्तलाई नै निर्देशक तथा कथाकारका रूपमा उल्लेख गरिएको छ ।
दुवै चलचित्रमा निर्देशक पन्तले आनन्द ओझा तथा काजल राघवानीको जोडीलाई मुख्य भूमिकामा अभिनय गराउँदैछन् । तीमध्ये रणको छायांकन भारत तथा नेपालमा गरिनेछ भने माहीको छायांकन लन्डन तथा इटलीमा हुने बताइन्छ । निर्देशक पन्तले दुवै चलचित्रलाई उत्कृष्ट बनाउने दावी गरेका छन् ।