सृजना फार्म आउटलेट 

- स्वस्तिक श्रेष्ठ

कार्तिक ३, २०७६

एक दशकअघि व्यवसायिक कृषि सुरु गरेको सृजना फार्मले रुपन्देहीको तिलोत्तमा नगरमा फ्रेन्चाइज रेस्टुराँ स्थापना गरेको छ । पाल्पा जान नसक्ने पर्यटकहरूलाई लक्षित गरी फ्रेन्चाईज मोडलमा तिलोत्तमा नगरपालिका वडा नम्बर–१, आरती चोकमा रेस्टुराँ सुरु गरिएको सञ्चालक निशानबाबु कार्कीले बताए । पाल्पामा कृषि पर्यटनको क्षेत्रमा सृजना फार्मले नमुना काम गरेको छ । सृजना फार्ममा उपलब्ध हुने सबै स्वादिला खाना तथा सेवा यही उपलब्ध हुने कार्कीको दाबी छ । पाल्पाको फार्ममा उत्पादन गरिएका तरकारीका साथै खसी–बोकाका मासु नै तिलोत्तमा रेस्टुराँमा उपलब्ध हुने उनले बताए ।

लिजमा लिएको साढे ३ कठ्ठा क्षेत्रफलमा रेस्टुराँको पूर्वाधार निर्माण भएको छ । मुख्य हलमा आकर्षक बार तथा रेस्टुराँ छ । त्यहाँ कार्यक्रम तथा मिटिङ गर्न मिल्ने सानो हल तथा ४ वटा कटेजका साथै ओपन गार्डेनसमेत छ । यहाँका सबै हल वातानुकूलित छन् भने वातावरण पारिवारिक छ । बालबालिकाहरूका लागि रमाइलो गार्डेन छ । युवाहरू संलग्न भएर पाल्पाको हिरापोखरामा एक दशकअघि सृजना फर्म खुलेको हो ।

यो फार्ममा ३३ जना सेयर होल्डर छन् । यो फार्मका अध्यक्ष अमर गुरुङले १० वर्षअघि काठमाडौंमा सुरु गरेको खेती पश्चिम नेपालको पाल्पा सारेका थिए । काठमाडांैमा जग्गाको अभावको विकल्प पाल्पा रिप्दीकोट गाउँपालिकाको हिरा पोखरामा डेढ सय रोपनी जग्गा खरिद गरी व्यवसायिक तरकारी खेती तथा पशुपालन भएको छ जहाँ कफी खेती, खसी, बोका, बंगुर एवं माहुरी पालन हुँदै आएको छ ।

अहिले जग्गा थप गरी ३ सय रोपनी बनाइएको छ । मौसम एवं हावापानी उपयुक्त भएकाले तरकारी खेती तथा पशुपालन राम्रो छ । आफ्ना कृषि उत्पादन खपत गराउन यो फार्म हाउसमा बाससहितको आकर्षक सेवा उपलब्ध गराइन्छ । सृजना फार्ममा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँमा एक रातको बाससहितको प्याकेजको व्यवस्था छ ।

प्रकाशित :कार्तिक ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्