क्रिस्टल क्लज डान्स क्रुको स्थापना २०७१ सालमा भएको हो । भविष्य हेरेर यो क्रुको स्थापना भएको थिएन । त्यतिबेला सन्देशजंग राणा र देव गुरुङ मिलेर एउटा डान्स इन्स्टिच्युट खोलेका थिए । उनीहरूले डान्स कम्पिटिसनका लागि ग्रुप आवश्यक भएकाले विद्यार्थीहरू र चिनेका साथीहरू बटुलेर क्रिस्टल क्लज डान्स क्रुको स्थापना गरेका थिए, जसमा सन्देशजंग राणा, देव गुरुङ, प्रगति पुन मगर, डेविट गुरुङ, अञ्जना गुरुङ, रोहित गुरुङ तथा प्रविण मगर संलग्न थिए ।
‘हाम्रो सोच कम्पिटिसनमा भाग लिने मात्र थियो, क्रुको फ्युचरचाहिँ हेरिएको थिएन’ क्रुका प्रमुख सन्देश भन्छन् । अम्बुज डान्स टुर्नामेन्टमा पहिलो पटक भाग लिँदा दोस्रो भएपछि क्रु मेम्बरमा उत्साह थपियो । त्यतिबेला कार्टुन क्रु स्थापित भैसकेको थियो । उनीहरूले म्युजिक भिडियोको ट्रेन्ड लिएर आएका थिए ।
त्यही कार्टुन क्रुका साथीहरूले उनीहरूलाई बाटो देखाइदिए । त्यसबाट प्रभावित भएर नै क्रिस्टल क्लज अघि बढेको हो, तर क्रिस्टलका सदस्यहरू कोही विदेश, कोही व्यापारमा व्यस्त हुँदा स्थापना कालका साथीहरू छरिए । पछि नयाँ सदस्यका रूपमा कुशल र सुधीर थपिएपछि उनीहरूको समर्पणकै कारणले क्रुले गति लिन थाल्यो । त्यसपछि म्युजिक भिडियो तथा लाइभ शो बढ्दै गए । नेपालमा म्युजिक भिडियोको ट्रेन्डपछि कभर भिडियोको ट्रेन्ड आयो । त्यस क्रममा डान्स क्रुले अवसर पाउँदै गयो ।
क्रुका मुख्य सदस्य सन्देश हुन् । उनी सोलो रूपमा अग्नुज डान्स टुर्नामेन्ट, डिस्ट्रिक डान्स कम्पिटिसन, आदर्श डान्स मास्टरका विजेतासमेत हुन् । क्रू सदस्य प्रगति पुन मगरले बुगीबुगीमा फस्र्ट रनर्सअपको उपाधि जितेकी छिन् । यो समूहले सञ्चालन गरेको क्रिस्टल क्लज डान्स इन्टिच्युट पोखराको निभागल्लीमा छ जसका निर्देशक सन्देशजंग राणा हुन् । सञ्चालकका रूपमा गोविन्द बाँस्तोला छन् । क्रुका सबै सदस्यले त्यहाँ नृत्य सिकाउँछन् ।
क्रिस्टल क्रु आफ्नो म्युजिक भिडियो पनि गर्ने, प्रतियोगितामा भाग लिने लक्ष्यका साथ अघि बढिरहेको छ । आफैंले कार्यक्रम आयोजना गर्ने तथा सिकारुहरूलाई प्रोत्साहित गर्ने उनीहरूको लक्ष्य छ । जति सकिन्छ मेहनत गर्ने, गु्रपमा एकता कायम राख्दै अघि बढ्ने उनीहरूको प्रतिबद्धता छ ।
डान्सलाई आफ्नो करियर कहिल्यै नसोचेको सन्देश बताउँछन् । भैलो आयो नाच्यो, प्यारेन्टस डेमा नाच्यो, त्यति मात्र थियो । मैले आफूसँग भएको क्षमता चिन्न सकेको थिइन । एसएलसी दिएपछि पनि सोचिनँ, तर विस्तारै मन मोडियो अनि नृत्यमै सक्रिय भएँ । अहिले धेरैको माया पाएका छौँ । मुख्य कुरा, हामीले हरेक म्युजिक भिडियोमा आफ्नो रचनात्मक ऊर्जा बढाउँछौं । मेहनत सबैले गर्छन्, सन्देश भन्छन् ।
उनी आफैं पनि भिडियो सम्पादक हुन् । उनीहरूले बनाउने भिडियो सार्वजनिक भएपछि अरू गायकहरूले हेर्छन्, अनि कल गर्छन् र काम दिन्छन् । अहिलेसम्म १० वटाभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । निर, जताततै पिरतीको बाटो, ओखती, बाउ बाजेको पालामा, तिम्रो बाउ, फसियो, दाइ नभन्नु ल, चाइनाको रेल, चस्मा उनीहरूले तयार पारेका भिडियो हुन् ।