साप्ताहिक संवाददाता
साना नेपालीहरूले कथित ‘ठूला नेपालीको’ दु:ख देख्नै सक्दैनन् । सामाजिक आधार नै त्यस्तै छ । गाउँमा जिम्माल मुखियाहरू बिरामी हुँदा हलियाहरू जम्मा भएर रुने समाज हो हाम्रो । अहिले पनि सभामुख महरा जेल पर्दा चुकचुकाउने धेरै छन् । साना भनिएका सहनशील र अरूको दु:ख देख्नै नसक्ने प्रकृतिको भएका कारण नै उनीहरूलाई सजाय दिन पनि सजिलो र उनीहरू सजाय सहन भोग्न पनि तयार भएकै कारण समाज ‘सानालाई ऐन र ठूलालाई चैन’ मा बानी परेको हुनसक्छ, तर भन्छन् नि ‘कानुनका बाह्र सिङ हुन्छन रे, ठूलाहरू तिनै सिङ समातेर ऐनभन्दा माथि बसेर चैन गर्छन्, साना र गरिबले ति सिंङको छेउटुप्पो फेला पार्दैनन् र ऐनको दलदलमा फस्न पुग्छन् ।
दुर्गा पंगेनी, गीतकार
हाम्रो नेपालमा कानुनजति सबै सानोलाई मात्र लाग्छ । सानाले राम्रो कुरा गर्यो भने पनि त्यो गलत हुन्छ, तर ठूलो अर्थात् शक्तिको आडमा रहेका मान्छेले जति नै ठूलो गल्ती गरे पनि कानुन लाग्दैन । अहिलेको नेपालको परिस्थिति पनि त्यस्तै छ, किनभने यहाँ शक्तिको आडमा रहेकाले जति गम्भीर गल्ती गरे पनि केही हँुदैन, तर सोझासाझा सर्वसाधारण जनताले सानै गल्ती गरे पनि कानुनको कठघरामा उभ्याइन्छ, त्यसैले नै सानालाई ऐन ठूलालाई चैन भनिएको हो ।
रेश्मा भण्डारी, खेलाडी
जग बलियो नभै घर बलियो हँुदैन, जरा बलियो नभै रूख बलियो हुँदैन, त्यस्तै जबसम्म देशको प्रमुख स्थानमा रहेका व्यक्तिहरू राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र नेताहरू इमान्दार र सच्चा हँुदैनन् तबसम्म नेपालमा सानालाई ऐन ठूलालाई चैन भैरहनेछ । यसको मुख्य कारण हामी जनता नै लाटो भएर हो ।
निर्मल लामा, डान्सर
नेपालमा सानालाई ऐन ठूलालाई चैन हुनुको कारण यहाँ गतिलो प्रणाली नभएर हो ।
भरत खवास, खेलाडी
शासन हराएको देश भएर यस्तो भएको हो ।
प्रकाश भट्ट, निर्देशक
भ्रष्टाचारी राजनीतिज्ञ अनि भ्रष्ट आचरणका कर्मचारी संयन्त्र भएकाले ।
सुवास रेग्मी, सर्जक
हामी कोही पनि राष्ट्रप्रति जिम्मेवारी नहुँदा यस्तो भएको हो ।
प्रमोद अग्रहरी, अभिनेता
यो चलिआएको परम्परा हो । यहाँ जे गरे पनि हुन्छ । नियम–कानुन जसको हातमा छ, त्यसैले समान व्यवहार गर्दैन, आशा र शक्तिमा चलेको छ, जसले गर्दा नै सानालाई ऐन ठूलालाई चैन भएको हो ।
श्रीदेव देवकोटा, गायक
नेपाली समाजको परम्परागत चरित्र । धनी, शक्तिशाली र सत्तासीनहरूको बानीलाई भनिएको हो ।
लक्ष्मण शेष, संगीतकार
हामी नेपाली जनता चेतनशील तथा शिक्षित नभएर त होला, जबसम्म हामी सम्पूर्ण जनता चेतनशील र शिक्षित हुँदैनौं त्यति बेलासम्म यो स्थिति रहिरहन्छ ।
हेमन्त शर्मा, गायक
अल्पविकसित मुलुकको रोग नै यही हो, जहाँ कानुन निर्माता नै कानुन तोड्छन् ।
दीपकराज गिरी, अभिनेता
नेपालमा राजनैतिक संस्कार निकै फोहोरी छ । सत्तामा जो पुग्छ उही नेताले मनलाग्दी गर्छन् । संविधानभन्दा माथि रहेर जस्तोसुकै नीच काम गर्न नेताहरू पछि पर्दैनन् । हाम्रो देशमा नेताहरू देश विकासभन्दा पनि कानुनको दुरुपयोग गर्नमै व्यस्त छन् । अधिकांश कर्मचारी नेताका झोले छन् । देशमा कसैको सुरक्षा छैन । जनता सरकारले सुरक्षा दिएर होइन कि कसैले नमारेर मात्र जीवित छन् । यस्तो देशमा सानालाई ऐन ठूलालाई चैन नभएर अन्त कहाँ हुन्छ ?
बादल घिमिरे, संगीतकार
बुद्धिको कमीले गर्दा यस्तो भएको हो र आफूलाई झैं अरूलाई पनि दुख्छ भन्ने बिर्सेर पनि हो ।
अञ्जु पन्त, गायिका
अहिलेसम्म मैले बुझ्न नसकेको कुरा यही हो, यसको उत्तर देश चलाउने हाम्रा नेताहरूलाई नै थाहा होला, किनभने चैन उनीहरूलाई नै छ, ऐन त हामीलाई मात्र हो नि ।
विनोद न्यौपाने, अभिनेता
सानो मान्छेसँग न पैसा हुन्छ न पावर अनि बोल्न पनि डराउँछन् । ठूलोले पैसा र पावर प्रयोग गर्छन् त्यही भएर होला ।
सविन श्रेष्ठ, अभिनेता
हाम्रो देश नेपाल प्राकृतिक, सांस्कृतिक सम्पदाको धनी भए पनि विकास प्रणाली अनि अर्थतन्त्रमा भने कमजोर छ । हरेक क्षेत्रमा राजनीति जोडिन्छ, पार्टी जोडिन्छ र पहुँच हुनेहरू दोषी भए पनि निर्दाेष ठहरिन्छन् र निर्दाेषहरू दोषी ठहरिने परम्परा नै बसेको छ । त्यसैले पैसा हुने ठूलाबडालाई चैन छ दु:खी गरिबलाई ऐन छ हाम्रो नेपालमा ।
याम क्षेत्री, गायक