साप्ताहिक संवाददाता
दर्जनौं कालजयी गीतका सर्जक गीतकार रत्नशमसेर थापालाई रेडियो कान्तिपुरले सम्मान गरेको छ । रेडियोको मासिक कार्यक्रम ‘सलाम जिउँदो इतिहासलाई’ को क्रममा गत शनिवार गीतकार थापाले नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गरिएको हो ।
अग्रजको अनुभव सुन्दै नयाँ पुस्ताका प्रतिभाले अग्रजकै सिर्जनालाई प्रत्यक्ष प्रस्तुत गर्दै आएको उक्त सांगीतिक कार्यक्रममा थापाले आफ्ना अनुभूतिहरु सुनाउँदै नयाँ पुस्तालाई प्रेरणा समेत दिए ।
कार्यक्रमका परिकल्पनाकार एवं प्रस्तोता दिनेश डीसीका अनुसार करिव चार घण्टासम्म सञ्चालन भएको कार्यक्रममा गोरेटो यो गाउँको...’ गीतलाई गायक भविन ढुंगानाले सुनाए भने ‘चुमेर सुगन्धित फूल...’ मा भने भविनलाई गायिका मनीषा पोखरेलले साथ दिइन् ।
पंक्षीमा डाँफे राम्रो...गीतलाई दुर्गा परियार तथा मनिषा पोखरेलले प्रस्तुत गरे भने फूलै फूलको मौसम तिमीलाई...गीतलाई दुर्गा परियारले प्रस्तुत गरिन् । कार्यक्रममा स्वर्गकी रानी...तथा छाती भरी...गीतलाई अजर जंगमले गाए भने न आउ जून कोठामा...लाई सन्तोष लामाले प्रस्तुत गरे ।
सप्तरंगी फूलै फूल्यो...गीतलाई सरिता शाहीले प्रस्तुत गरिन् भने ए कान्छा..गीतलाई यम बराल तथा सरिता शाहीले प्रस्तुत गरे । घुम्तीमा न आउ है...गीतलाई भने गायक यम बरालले प्रस्तुत गरेका थिए । कार्यक्रममा गीतकार थापाको गीति लेखन र नेपाली संगीतमा उनको योगदानमाथि समालोचक प्रकाश सायमीले प्रकाश पारेका थिए ।