साप्ताहिक संवाददाता
नेपाल टेलिभिजनमा २०५२ सालदेखि लगातार १८ वर्षसम्म लोकप्रियताका साथ सञ्चालन भएको टेलिशृखंला हो –हिजो आजका कुरा । तत्कालिन समयको समसामयिक सामाजिक, राजनीतिक घटनाक्रमलाई समेटेर हास्यकलाकार सन्तोष पन्तले चलाएको यहि टेलिशृखंलाले पन्तलाई हास्यअभिनयको क्षेत्रमा स्थापित गरायो ।
उक्त शृंखला बन्द भएपछि निष्क्रियजस्तै रहेका पन्तले अब सोही नाममा चलचित्र बनाउने भएका छन् । छोरा साकारको निर्देशनमा पन्तले शुक्रबार चलचित्र ‘हिजो आजका कुरा’ निर्माणको औपचारिक घोषणा गरे ।
‘त्यसबेला टेलिशृंखलामा पनि हिन्दी सिरियलको ठूलो प्रभाव थियो । मैले ‘हिजो आजका कुरा’ सुरु गर्दा केही थाहा थिएन । तर त्यहींबाट सिक्दै गएँ । मध्यमवर्गलाई लक्षित गरी तीज, दसैं, माघेसंक्रान्तिका कथादेखि नेपालीकै व्यथालाई समेटेर हास्यरसमा कार्यक्रम पस्कन थालेको हुँ,’ कार्यक्रममा विगत सम्झँदै पन्तले भने, ‘अब चलचित्रमा पनि अहिलेकै समस्यालाई समेटेर बनाउने प्रयास गरेको छु । पक्कै पनि दर्शकलाई रुचिकर लाग्ला ।’
पन्तकै कथालाई सन्दीप किस्नाले तयार पारेको पटकथामा काठमाडौंका चार परिवारको समस्या र संघर्षलाई देखाउन खोजिएको छ । जसमा विदेश सपनालाई चलचित्रको मुख्य विषय बनाइएको बताइएको छ ।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका साकारले चलचित्र पनि टेलिशृंखला ‘हिजो आजका कुरा’ कै धार र नाममा आधारित रहेर बन्ने प्रस्ट्याएका छन् । चलचित्रमा पनि टेलिशृंखलाकै जोडी सन्तोष पन्त र रमा थपलियाले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् ।
चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइँकेल, अनुष्का अधिकारीलगायत कलाकारले अभिनय गर्ने भएका छन् । रवि सायमीको छायांकन रहने चलचित्रको सम्पादन विनय कंसाकारले गर्नेछन् भने गीत, संगीत हर्कुलस बस्नेतको रहने बताइएको छ ।