साप्ताहिक संवाददाता
पल शाह/ अभिनेता
आँचल शर्मा
चलचित्र नाइँ नभन्नु ल–४ को सुटिङका क्रममा आँचलसँग मेरो भेट भएको हो । उनी एकदमै मेहनती कलाकार हुन् । साथीभाइहरूसँग मिल्न सक्ने, संस्कारी, सहयोगी भावना उनका सकारात्मक पक्ष हुन् । वास्तवमा भन्नुपर्दा आँचल फेमिली गर्ल हुन् । उनका यस्तै–यस्तै गुणले गर्दा हामी एकदमै मिल्ने साथी भयौं । कतिपयले हामी दुईबीच प्रेमसम्बन्धको हल्ला पनि चलाए, हामी त्यस्तो सम्बन्धमा थिएनौं ।
पुष्प खड्का
पुष्पसँग मेरो भेट भएको करिब चार वर्ष भयो, तर हामी मिल्ने साथी भएको दुई वर्ष भयो । पुष्प एकदमै मिलनसार, सहयोगी भावना भएको, जिम्मेवारी बहन गर्न सक्ने, पारिवारिक तथा मेहनती छ । उसका गुणले मेरो मन जित्यो । पुष्प मेरो दु:ख–सुख सेयर गर्ने साथी हो । उसले अहिले नेपाली चलचित्र क्षेत्रमा निकै राम्रो काम गरिरहेको देख्दा निकै खुसी लाग्छ ।
नाजिर हुसेन
नाजिर हुसेनसँग मेरो भेट भएको करिब एक वर्ष भयो । हामीले चलचित्र वीरविक्रम–२ मा स्किन सेयर गर्ने मौका पायौं । नाजिर साथीका लागि ज्यान दिने मान्छे हो । काम गर्दा पनि मिलेर गर्छ । ऊ सहयोगी भावना भएको व्यक्ति हो ।