साप्ताहिक संवाददाता
पछिल्लो समय नेपाली चलचित्रको राम्रो गन्तव्य बन्ने गरेको जापानको टोक्योमा ‘सूर्य इन्टरनेशनल अवार्ड २०१८’ सम्पन्न गरिसकेपछि यतिबेला दोस्रो शृंखलाको टप ३ सार्वजनिक गरिएको छ । राजधानी स्थित एपीएफको मुख्यालय हलचोकको हलमा सार्वजनिक गरिएको टप ३ समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल, चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, निर्माता संघका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले, कलाकार प्रशान्त ताम्राकार, श्वेता खड्का, भुवन केसी, किरण केसी, सरिता लामिछाने, निर्देशक ऋषि लामिछाने, निर्देशक दीपेन्द्र लामा लगायतको उपस्थिती रहेको थियो ।
टप ३ लाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै शैलेन्द्र खनालले नेपाली फिल्मको टेवामा यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । ‘अवार्ड मार्फत थोरै भएपनि नेपाली फिल्मलाई टेवा पुगोस भन्ने उदेश्यका साथ यसको सुरुवात गरेको हुँ’ बासुदेवले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासँग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ ।’
फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । कार्यक्रम आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइयो । यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । नोमिनेशनमा परेकालाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो ।
अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसँगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।
अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।