साप्ताहिक संवाददाता
युट्युबबाट एकाएक भाइरल बनाइएका अघोरी बाबा कति भाग्यमानी छन् भन्ने कुरा प्रमाणित हुँदै गएको छ । अन्तरवार्ता दिएर पैसा कमाएका छन् । विभिन्न कार्यक्रममा सहभागीता जनाएर पैसा कमाएका छन् । अस्ट्रेलियाको भिषा समेत प्राप्त गरिसकेका छन् ।
यसअघि विभिन्न चलचित्रको प्रचारमा सहयोग गरेका भाइरल बाबालाई भेट्न यसपटक चलचित्र ‘पोइ प-यो काले’ टीम पुगेको छ । उनीसँग यो चलचित्रका विभिन्न कलाकारले तस्विर समेत खिचाएका छन् ।
चलचित्रकी अभिनेत्री पुजा शर्माले भाइरल बाबासँग खिचाएको तस्विर सार्वजनिक भएको छ । यसलाई कतिपयले त सामान्य रुपमा लिएका छन् । तर, कतिपयले भने नेपाली चलचित्रको विज्ञापनका लागी पनि अब भाइरल बाबाको साथ आवश्यक हो ? भन्दै मजाक बनाएका छन् ।
नेपालकी सबैभन्दा महंगी अभिनेत्रीको रुपमा आफुलाई व्याख्या गरेकी अभिनेत्री पुजा आफैले फेसबुकमा भाइरल बाबालाई बोल्न लगाएर भिडियो सार्वजनिक गरेकी छिन् ।
भिडियोमा बाबाले भनेका छन्, ‘कात्तिक ८ गते पोइ प-यो काले हेर्नुहोला । नभुल्नुहोला । भुल्नुभयो भने लाइफ ड्यामेज ।’ बाबाले यति भनिसकेपछि पुजाले थ्यांक यु भनेकी छिन् । पुजाको भिडियोमा वाउ र लभ रियाक्ट भन्दा धेरै हाहा रियाक्ट आएको छ ।
बाबाले आफ्नो लाइफ म्यानेज गर्दै गएपनि उनले प्रमोशन गरेका चलचित्र भने ड्यामेज भएका छन् । यसपटक भाइरल बाबाको साथ प्रमोशन गरिएको यो चलचित्र चल्ला कि नचल्ला ? त्यसका लागी भने उनीहरुले घोषणा गरेको मितिमा थाहा होला कि कसो ?