साप्ताहिक संवाददाता
हँसिया, बीर बिक्रम, बोबी, लिलिबिली, बीर बिक्रम–२ लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्स नयाँ चलचित्र निर्माणको तयारीमा जुटेका छन् । हाल उनी दुई चलचित्र निर्माणको तयारीमा छन् । दुबै चलचित्रको स्क्रिप्टको काम भैरहेको प्रोजेक्ट एकपछि अर्को गरेर छायाँकन गर्ने जनाइएको छ ।
हालै उनले सार्वजनिक रुपमा इच्छुक कलाकारहरुलाई एक प्रोजेक्टमा कामका लागी बाटो खोलिदिएका छन् । नेपाल र बिदेशमा छायाँकन हुने उक्त प्रोजेक्टका लागी उनले सूचना सार्वजनिक गरेका छन् । चलचित्रका लागी मुख्य अभिनेत्री र अरु सहायक केहि कलाकार आवश्यक परेको मिलन चाम्सले जारी गरेको सुचनामा उल्लेख छ ।
तिन महिनाभित्रै छायाँकनमा जाने तयारी गरिएको उक्त प्रोजेक्टमा अभिनय गर्न चाहाने कसैले चलचित्र निर्माण कम्पनी 'लण्डन सिने आइ प्रोडक्सन'मा सम्पर्क गर्न सकिनेछ ।
अधिकांश कलाकार फाइनल भएपनि एक मुख्य अभिनेत्री र सहायक कलाकार अडिसन मार्फतनै छान्ने उदेश्य रहेको निर्देशक मिलन चाम्सले जानकारी दिए । उनले भने, ‘प्रतिभावान धेरै नयाँ कलाकारहरु हुनुहुन्छ, जो अवसर पाउनुभएको छैन । उहाँहरुलाई लक्षित गरेर अडिसन राखिएको हो ।’
अहिले निर्माण हुन थालेको चलचित्रमा महंगो रकम खर्चिन थालिएको चाम्स निकट श्रोतले बताएको छ । यो चलचित्र लण्डन र नेपाल तथा भारतमा सुटिङ हुनेछ ।