साप्ताहिक संवाददाता
तिहारको अवसर पारेर आज शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्यो काले’ मा समाजको यथार्थ चित्रण गरिएको निर्देशक शिशिर राणाको दाबी छ । निर्देशक राणाका अनुसार मानिसको अनुहारको रङमा जानुका साटो उसको मन हेर्नुपर्छ, बानी–बेहोरा हेर्नुपर्छ । चलचित्रले बाहिरी आवरण हेरेर व्यक्तिको मूल्यांकन गर्न नहुने सन्देश बोकेको निर्देशकको भनाइ छ ।
गत जेठमा छायांकन गरिएको यो चलचित्रको शीर्षक पुरानो लोक गीत ‘ए दिदी पोइ पर्यो काले, हुन्देऊ बैनी इज्जतै नफाले’ बाट साभार गरिएको हो । रोचक कुरा के छ भने चलचित्रको शुभमुहूर्तका क्रममा समेत यही गीत बजाइएको थियो, जसमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ तथा पूजा शर्माले गीतकै भावमा अभिनय गरेका थिए । चलचित्रमा दुई भिन्न जोडीलाई प्रस्तुत गरिएको छ ।
यद्यपि, सौगातकी जोडी पूजा हुन् कि सृष्टि भन्ने कुरा आजको मितिसम्म खुलाइएको छैन । चलचित्रमा सौगात मल्ललाई कालो वर्णका पोइ अर्थात् श्रीमान्का रूपमा प्रस्तुत गरिएको छ । हास्यशैलीमा निर्माण गरिएको यो चलचित्रमा सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, श्याम राई, गोपाल ढकाल ‘छन्दे’ आदिले समेत अभिनय गरेका छन् ।
चलचित्रको आफ्नो भूमिकाका बारेमा केही नभने पनि अभिनेता सौगातले बाहिरी आवरणका आधारमा विभेद गर्न नहुने सामाजिक मुद्दालाई चलचित्रले उठाएको कुरा बताएका छन् । अभिनेत्री पूजाले भने पहिलो पटक दिग्गज अभिनेता तथा निर्देशकसँग काम गरेकाले आफूलाई नौलो अनुभव भएको धारणा व्यक्त गरेकी छिन् ।
पूजाले चलचित्रको नाम मात्र सुन्दा कमेडी शैलीको लागे पनि चलचित्रमा चेतनामूलक सामग्री समावेश गरिएको कुरा बताएकी छिन् । पोखरा तथा काठमाडौंंमा छायांकन गरिएको यो चलचित्रको निर्माण राजीव गुरुङ (दीपक मनाङे) तथा सरोज नेपालीले गरेका हुन् जसको सांगीतिक पक्ष पनि आकर्षक छ । चलचित्र पोइ पर्यो कालेमा लालबहादुर खाती, अर्जुन पोखरेल तथा पुरुषोत्तम न्यौपानेको संगीत निर्देशन छ ।