साप्ताहिक संवाददाता
तिहारमा मिठाईको महत्व स्वभाविक रूपमा अन्य चाडपर्वको तुलनामा बढी हुन्छ । नेपाली समाजमा तिहार र मिठाईलाई नङ र मासुको जस्तै सम्बन्धका रूपमा लिइन्छ । तिहारमा रंग र बत्तीको जस्तो महत्व मिठाईले पनि राख्दै आएको छ । पहिले–पहिले तिहारमा मात्र मिठाई खाने नेपालीहरू मिठाई पसलको संख्यामा वृद्धि, बदलिँदो परिवेश तथा भारतीय मिठाई नेपाल भित्रिन थालेपछि भने परिवर्तित हुन थालेका छन् । नेपालमा लामो समयदेखि नेपाली मिठाई प्रस्तुत गर्दै आएका दुई मिठाई पसल :
काष्ठमण्डप भण्डार
काठमाडौंको मरुटोलस्थित काष्ठमण्डप भण्डार नेपालका पुराना मिठाई पसल मध्ये एक हो । गम्भीरदास राजकर्णिकारको यो मिठाई पसलले ७० वर्षदेखि नेपाली मिठाईका परिकारहरू उत्पादन एवं बिक्री–वितरण गर्दै आएको छ । आजभन्दा करिब ७० वर्षअघि हजुरबुवा भानदास कर्णिकारले पसल सञ्चालनमा ल्याएको र उक्त पसललाई अझ विस्तृत रूपमा बुवा गोविन्द दासले अघि बढाएको गम्भीरदास बताउँछन् । हजुरबुवाले थालेको तथा बुवाले अघि बढाएको मिठाई पसललाई अहिले दाजुभाइहरू मिलेर अस्ट्रेलियासम्म पुर्याएको उनले बताए । लाखामरी तथा ऐठ्याजस्ता परिकार काष्ठमण्डपका विशेषता हुन् । त्यसबाहेक यो भण्डारमा अनरसा, रोट, खजुरी, खाजा, गुदँपाक, बर्फी, फिनी, बलबारा, रातोपुरी, गुलमरी, सेल तथा निम्की आदि परिकार तयार पारिन्छ । काष्ठमण्डपले तयार पारेका यी मिठाई नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, पोखरासम्म पुग्ने तथा सुपरमार्केटहरू मार्फत बिक्री–वितरण हुने राजकर्णिकार बताउँछन् । नेपाली मिठाईबाट सुरु गरिएको यो काष्ठमण्डपमा समय क्रमसँगै अहिले भारतीय मिठाईहरू पनि उपलब्ध हुन थालेका छन् ।
मूल्य
लाखामरी : रु. ५ सय प्रतिकिलो
गुँदपाक : रु. ६ सय ५० प्रतिकिलो
गुलमरी : रु. ५ सय प्रतिकिलो
औषधी गुँदपाक : रु. ९ सय प्रतिकिलो
सेलरोटी : रु. ४० प्रतिगोटा
ऐठ्या : रु. ७ सय प्रतिकिलो
पूर्णमान मिठाई पसल
काठमाडौं नरदेवीस्थित पूर्णमान मिठाई पसल विगत ४० वर्षदेखि सञ्चालनमा रहेको नेपाली मिठाई पसल हो । काठमाडौंको किलागलबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले आÏना ससुराले यो पसल स्थापना गरेको नानीहीरा ताम्राकार बताउँछिन् । लाखामरी, ऐठ्या, निम्की, फिनी, रोट, खजुरी, प्यारा, लड्डु, खाजा, अनरसा, जेरी, स्वारी, मालपुवा जस्ता परिकार यो पसलका विशेषता हुन् । लाखामरी यो पसलमा भएकामध्ये सबैभन्दा बढी मन पराइएको परिकार हो । मिठाईका यी परिकार विशेष गरी पूजाको अवसर तथा तिहारमा बढी प्रयोग गरिन्छ । यो पसल पुस्ता हस्तान्तरण हुँदै अहिले छोरासम्म पुगेको छ । ससुराको समयमा पसलबाट राम्रो आम्दानी हुन्थ्यो । घरखर्च चलाएर पनि बचत गर्न सकिन्थ्यो तर अहिले त्यस्तो अवस्था नरहेको नानीहीरा बताउँछिन् । नानीहीरा सम्झन्छिन्— पहिले–पहिले मिठाई पुर्याउनै नसकिने गरी अर्डर आउथ्यो, काम गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले मिठाई पसलको संख्यामा वृद्धि भएको छ, साथै भारतीय मिठाईले समेत बजार ओगटेका कारणले नेपाली मिठाईको माग त्यति सारो नहुने ताम्राकार बताउँछिन् ।
मूल्य
लाखामरी : रु. ६ सय प्रतिकिलो
ऐठ्यामरी : रु. ६ सय प्रतिकिलो
निम्की : रु. २० प्रतिगोटा
फिनी : रु. २५ प्रतिगोटा
रोट : रु. २० प्रतिगोटा
खजुरी : रु. २० प्रतिगोटा
प्यारा : रु. ५ प्रतिगोटा
खाजा : रु. २० प्रतिगोटा
लड्डु : रु. ५ प्रतिगोटा
अनरसा : रु. २० प्रतिगोटा ।