साप्ताहिक संवाददाता
गत शुक्रबार बलिउडमा प्रदर्शित एकमात्र चलचित्र लाल कप्तान नराम्रोसँग डुबेको छ । नागा साधुहरूको फरक कथामा आधारित यो चलचित्रमा सैफ अलि खानले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा नागा साधुको फरक र डरलाग्दो गेटअपमा देखिएका सैफ अलि खानको अभिनयको प्रशंसा भए पनि चलचित्रले पहिलो विकेन्डमा जम्मा सवा ३ करोडको व्यापार गरेको छ । जबकि यो चलचित्रको बजेट नै ३२ करोड थियो ।
अघिल्लो साता प्रदर्शित पिंक इज स्काईले पनि दोस्रो विकेन्डमा कुनै चमत्कार गर्न सकेन । दुई विकेन्डको समाप्तिमा चलचित्रको व्यापार जम्मा २४ करोड पुगेको छ ।
हलिउडमा गत शुक्रबार प्रदर्शित मेलफिसेन्टले पहिलो विकेन्डमा १ करोड १ लाख ८४ हजार डलर बराबरको कारोबार गरेको छ । चलचित्रको बजेटअनुसार यसलाई पनि फ्लपको ट्याग लागेको छ ।
अघिल्लो साता प्रदर्शित जोकरको चकचकी हलिउडको बक्स अफिसमा दोस्रो साता पनि जारी रह्यो । दोस्रो विकेन्डमा जोकरले ८२ लाख २६ हजार डलर बराबरको कारोबार गरेर बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ ।