साप्ताहिक संवाददाता
आज शुक्रबार दीपावलीको अवसर पारेर तीनवटा ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् जसमा भूमि पेडनेकर र तापसी पन्नु अभिनीत साँढ की आँख, राजकुमार राव र मौनी रायको मेड इन चाइना तथा अक्षयकुमार, बबी देवल एवं रितेश देशमुख अभिनीत हाउसफुल–४ छन् ।
बलिउड सूत्रका अनुसार अक्षयकुमार हेराफेरी–३ बाट बाहिरिएका छन् । अक्षयकुमारलाई कार्तिक आर्यनले रिप्लेस गरेका हुन् । हेराफेरी–३ बाट बाहिरिएलगत्तै अक्षयकुमार भूलभुलैया–२ बाट पनि बाहिरिएका छन् । भूलभुलैया–२ का निर्देश अनिश बाजमीसँग कुरा नमिलेपछि अक्षयकुमार त्यसबाट बाहिरिएको बताइन्छ ।
२ अक्टोबरमा प्रदर्शित ऋत्विक रोशन तथा टाइगर श्राफ अभिनीत चलचित्र वारले प्रदर्शनको १९ औं दिनमा साढे ४ सय करोड व्यापार गरेर वर्षकै सबैभन्दा सफल चलचित्रको ट्याग पाएको छ ।
कुनै बेलाको सुपरहिट टार्जन सिरिजका चलचित्रमा टार्जनको मुख्य भूमिका निर्वाह गर्ने अभिनेता रान एलीका छोरा क्यामरुन एलीले आफ्नै आमा ६२ वर्षीया भ्यालेरी लुंगिन एलीको हत्या गरेका छन् । अघिल्लो मंगलबार भएको यो घटनापछि भाग्न लागेका क्यामरुन आफैं पनि प्रहरीको फायरिङमा मारिएका छन् ।
देव आनन्दका भतिजा तथा विजय आनन्दका छोरा वैभव आनन्दलाई एकता कपुरले आफ्नो वेव शो द भर्डिक्ट नानावती भर्सेज स्टेटमा अनुबन्ध गरेकी छिन् ।