कालिका मिडिया, चितवनले वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार तथा नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष नीरविक्रम शाहलाई लाइफटाइम एचिभमेन्ट एवार्डले सम्मान गरेको छ । १७ औं वार्षिकोत्सवका अवसरमा आयोजित १५ औं कालिका म्युजिक एवार्डमा शाहलाई सम्मान गरिएको हो । उक्त अवसरमा शाहले आफूभन्दा पनि आफ्नो पेसा सम्मानित भएकोमा गर्व लागेको कुरा बताए ।
१५ औं कालिका म्युजिक एवार्डमा चलचित्र ‘छक्कापञ्जा–३’ को ‘पहिलो नम्बरमा’ गीतले वर्चस्व जमाएको छ । सर्वोत्कृष्ट चलचित्र महिला गायनमा बिन्दु परियार, सर्वोत्कृष्ट संगीतकारमा दीपक शर्मा र वर्षको सर्वोत्कृष्ट गीतको एवार्ड प्राप्त गर्न सफल ‘पहिलो नम्बरमा’ ले ह्याट्रिक नै गरेको थियो । सर्वोकृष्ट गीतको एवार्ड गायक डेविड शंकर र बिन्दु परियारलाई प्रदान गरियो । ‘पहिलो नम्बरमा’ गीतका रचनाकार राजेन्द्र थापा हुन् ।
सर्वोकृष्ट चलचित्र गीतको रचनाकारको एवार्ड भने चलचित्र ‘क्याप्टेन’का गीतकार दिग्गज देउरालीले हात पारे । चलचित्र गायनमा पुरुषतर्फको एवार्ड ‘फूल होइन’ गीतका गायक प्रताप दासले प्राप्त गरे । सर्वोत्कृष्ट आधुनिक गायनमा पुरुषतर्फ शिव परियारले ‘मेरो भाग्यको खुसी’ र महिलातर्फ दीपा लामाले ‘कुर्दैछु म’ गीतबाट एवार्ड पाए ।
सर्वोत्कृष्ट युगल गायनमा ‘कर्के नजर’ गीतबाट सञ्जीव पराजुली र टीका प्रसाईं पुरस्कृत भए । लोकदोहोरी गायनमा पुरुषतर्फ ‘लालुमै’ का लागि सन्दीप न्यौपाने र महिलातर्फ ‘गलबन्दी’ का लागि शान्ति श्री परियारले एवार्ड प्राप्त गर्दा पप गायन पुरुषतर्फ ‘सानी’ गीतका लागि बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पर्खाइमा’ गीतका लागि अनामिका मल्लले एवार्ड प्राप्त गरे । सर्वोत्कृष्ट ब्यान्डतर्फ अभया एण्ड दी स्टीम ईन्जिन सवोत्कृष्ट घोषित भयो । सर्वोत्कृष्ट गजल गायनमा ‘चुप चाप छौ तिमी’ बाट आनन्द कार्की तथा सर्वोकृष्ट राष्ट्रिय गीतमा सुमित खड्का उत्कृष्ट घोषित भए ।
उक्त अवसरमा सर्वोकृष्ट संगीत संयोजनको एवार्ड आशिष अविरलले प्राप्त गरे । लोकदोहोरी संगितमा ‘सालको पात’ बाट वसन्त थापा उत्कृष्ट घोषित भए । सर्वोकृष्ट भिडियो अभिनयमा ‘इन्स्टाको फोटो’बाट आशिफ शाह र महिला तर्फ ‘इन्स्टाको फोटो’ बाटै रेश्मा घिमिरेले एवार्ड हासिल गरे ।
भिडियो सम्पादनतर्फ ‘सानोमा सानो’का सम्पादक पवन शुश्लिङ र भिडियो निर्देशनका लागि आशिफ शाहले एवार्ड हात पार्दा सर्वोत्कृष्ट सिनेमाटोग्राफरमा ‘मेरो भागको’ बाट बुद्ध थापाले एवार्ड प्राप्त गरे ।
सर्वोत्कृष्ट मध्य नेपाल गायनमा ‘म तिम्लाई माया गर्छु’का गायक तम्पेशेर राई र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा ‘कसरी’ गीतबाट देबेन्द्र बब्लुले तथा सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ अस्मिता डिसीले एवार्ड हात पारे ।