साप्ताहिक संवाददाता
नायिका केकी अधिकारी बाल्यकालको तिहार रमाइलो हुने अनुभव सुनाउँछिन् । ‘बाल्यकालमा देउसी–भैलो खेल्न जान्थ्यौं हामी । केही दिन अघिदेखि नै सांस्कृतिक कार्यक्रमको तयारी हुन्थ्यो । त्यसबाट संकलित पैसाले पछि पिकनिक जान्थ्यौं,’ –केकीले भनिन् । देउसी खेल्दा आफुले, नाच्ने, भट्याउने र कोरियोग्राफी गर्ने गरेको उनले बताइन् ।
आजभन्दा १५ वर्षअघिको कुरा हो । धेरै रकम संकलन नभए थोरैमै पनि रमाउँथ्यौ । १–२ सय पाउँदा पनि एकदमै खुसी लाग्थ्यो । अहिले पनि देउसी–भैलो खेल्न मज्जा लाग्छ, तर कतिपय कारणले खेल्न मिल्दैन । यद्यपि साथीभाइहरू मिलेर रमाइलो गर्न कसैको घरमा देउसी–भैलो खेल्न पुग्छौं– उनले भनिन् ।
‘मलाई सेल बनाउन त आउँदैन तर पकाएको हेर्नचाहिँ मनपर्छ,’ –केकी भन्छिन् । परिवार तथा आफन्तसँग रमाइलोका लागि तास पनि खेल्ने उनले बताइन् । तिहार भनेको उज्यालो चाड हो । यो चाडले जनावरलाई रेक्स्पेक्ट गर्ने सन्देश दिन्छ । यी कारणका अतिरिक्त दीपावली, भाइटीका आदिका कारण पनि केकीलाई यो चाड विशेष मन पर्छ ।