साप्ताहिक संवाददाता
हेमा मानन्धर, इभेन्ट मेनेजर
मण्डप
म्ह:पूजा आफ्नै पूजा गर्ने चलन हो । यो पूजामा तान्त्रिक विधि अनुसार आकर्षक मण्डप बनाइएको हुन्छ । मण्डपमाथि फलफूल सजाइन्छ । त्यसमा भटमासदेखि अन्य कुराहरू पनि राखिन्छ । यो दिन नयाँ वर्ष पनि हो । सबै समस्यासँग लडेर आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न यो पूजा गरिन्छ । एक किसिमले भन्नुपर्दा काम र जिम्मेवारीको युद्ध गर्नु अघि गरिने पूजा नै म्ह:पूजा हो ।
भेटघाट
म्ह:पूजाको एउटा राम्रो पक्ष भनेको भेटघाट हो । यो दिन नेवार समुदायको बसोबास रहेको हरेक ठाउँमा आफन्त तथा साथीभाई भेटघाट गरेर म्ह:पूजा गरिन्छ । हामी पनि अभिभावक हौं भनेर सम्झन पनि यो पूजा महत्वपूर्ण छ ।
खानेकुरा
यो पर्वमा मीठा खानेकुराहरू तयार गरिन्छ । खास गरी बारा, भटमास, छोयला, उसिनेको अण्डा, तारेको माछा आदि । यी सबै परिकार चिउरामाथि सजाएर समेबजीका रूप दिइन्छ । मलाई समेबजी मीठो लाग्छ । दिनभरी दिदीबहिनी मिलेर घरमै यी परिकार तयार पारिन्छ । यो दिन बाहिरबाट यस्ता परिकार ल्याउन मिल्दैन ।
एकता
यो पर्व एकताको प्रतीक पनि हो । हामी भित्री रूपमा विवाद र द्वन्द्वमा रहे पनि यो दिन सबैले आफ्नो पूजा आफैंले गर्ने भएकाले त्यो तुष हटेर जान्छ । यो दिन कसैले कसैलाई भेदभाव गर्दैन । केटाकेटीदेखि बुढाबुढी एकै ठाउँ जम्मा भएर म्ह:पूजा गरिन्छ ।
युवापुस्ता
नेवार समुदायको वर्तमान पुस्ताले फेसबुकमा राख्नकै लागि भए पनि म्ह:पूजा गर्छ । उनीहरूले यो पूजाको विधि सिकेर–बुझेर अन्य साथीभाइलाई समेत जानकारी गराउँछन् ।