साप्ताहिक संवाददाता
सन् २०१० को दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो, बंगलादेशको ढाकाले । त्यसको एउटा घटनाले नेपाली खेलाडी कति बहादुर छन् र उनीहरूमा कति साहस छ भन्ने कुरा देखाउँछ । प्रतियोगिता सुरु भए लगतै ढाका पुगेको नेपाली जुडो टोली एउटा दुर्घटनाको सिकार भयो । टिम बसेको होटलको लिफ्ट खस्ने क्रममा केही नेपाली खेलाडी घाइतेसमेत भए र त्यसमा पर्ने एक खेलाडी थिइन्— देबु थापा ।
प्रतियोगिताअघि नेपालले देबुबाट स्वर्ण पदकको आशा गरेको थियो, तर चोटग्रस्ट भएर अस्पताल भर्ना हुनुपरेपछि उनको त्यो सम्भावना रहेन् । अझ उनको खेल्ने सम्भावना पनि कमजोर भएको थियो, तर देबुले अदम्य शाहस प्रदर्शन गर्ने क्रममा जुडोमा प्रतिस्पर्धा मात्र गरिनन्, कांस्य पदक जित्न सफल भइन् । यस्तो स्थितिमा त्यो कुनै स्वर्ण पदक भन्दा कम थिएन् । अझै पनि नेपाली खेलकुदमा उनको यो प्रदर्शनलाई मीठो ढंगले सम्झना गरिन्छ, तर नेपाली खेलकुद यस्तै बहादुरीको कथाले मात्र भरिएको छैनन् ।
आजभन्दा धेरै अघिको कुरा हो– नेपाल कुनै एक खास खेलमा विदेशी प्रतिद्वन्द्वीसँग ठूलो अन्तरले पराजित भयो र टिमका सबै सदस्य निराश थिए । उनीहरू हतार–हतार आफ्नो होटलको कोठामा सुत्न गए । ठीक त्यही बेला नेपाली टिमका सहायक प्रशिक्षकलाई होटल रुममै फोन आएछ ।
‘म विदेशी पत्रकार हुँ, नेपालले आज निकै राम्रो खेल्यो, तपाईंसँग अन्तर्वार्ता लिनुपर्ने थियो ।’
यो प्रस्ताव अंग्रेजीमा थियो । ती सहायक प्रशिक्षक आश्चर्य चकित भए, आफ्नो टिमले खराब खेलेको छ, तर राम्रो खेल्यो भनेर अन्तर्वार्ता लिन चाहने को होला ? उनले मनमनै सोचे, होइन, नेपालले राम्रो खेल्दा–खेल्दै पनि धेरै गोल खाएको हुनु पर्छ । उनले ती पत्रकारसँग प्रश्न गरे,
‘त्यसो भए म कहाँ आउने त ?’
उत्तर आयो, ‘लबीमा आउनु होस, म तपार्इंलाई नै कुरिरहेको छु ।’
नभन्दै ती प्रशिक्षक पूरा तयारीका साथ कोट लगाएर लबिमा पुगे र घन्टौं कुरे, तर ती विदेशी पत्रकार आएनन् । अरूले किन र कसलाई कुरिरहेको हो भनेर सोध्दा त्यसको उत्तर पनि दिन सकेनन् । खासमा यसरी विदेशी पत्रकारको परिचय दिएर कुरा गर्ने अरू कोही नभएर नेपाली टिमकै कप्तान रूपकराज शर्मा थिए । नेपाली फुटबलमा यो घटना दोहोर्याएर–तेहेर्याएर सुन्न पाइन्छ, तर ती सहायक प्रशिक्षक को हुन भनेर नाम नछाप्न पटक–पटक अनुरोध गरिन्छ । नेपाली फुटबल मात्र होइन, नेपाली खेल क्षेत्रमा यस्ता घटना धेरै छन् ।
ती घटना सुन्दा खुबै मज्जा पनि आउँछ । नेपालको पहिलो अन्तर्राष्ट्रिय कप्तानले सुरु गरेको यस्तो परम्परा अहिलेसम्म पनि उस्तै छ र कहिल्यै सकिने पनि छैन । खेलाडीहरूसँग प्राय: केही न केही यस्ता घटना वा कथा पक्कै हुन्छन्, तर उनीहरू प्राय: त्यसको सिकार भएको व्यक्तिको नाम सार्वजनिक नगर्न अनुरोध गर्छन् । माथि उल्लेख गरिएको घटनामा ती सहायक प्रशिक्षक एकैपटक कति धेरै उत्साह र निराशाबाट गुज्रिए होलान् ? सहजै अनुमान गर्न सकिन्छ ।
नेपाली टिममा लामो समय प्रशिक्षक रहिसकेका व्यक्तित्व हुन्– कृष्ण थापा । उनी पनि ख्याल–ठट्टा गर्न रुचाउने खालका छन् । पछिल्लो समय उनले नेपाली फुटबल टिममा व्यवस्थापकको भूमिका पनि निर्वाह गरे, कतिपटक नेपाली टिमका नेता भए, त्यसको लेखाजोखा छैन । थापा पनि टिममा ख्याल–ठट्टा गरिरहन्छन् ।
नेपाली भारोत्तोलनसम्बन्धी एउटा यस्तै मज्जाको कथा धेरै सुन्न पाइन्छ । सन् १९८९ को दक्षिण एसियाली खेलकुद पाकिस्तानको इस्लामावादले आयोजना गरेको थियो र त्यसअघि नेपाली भारोत्तोलन टिम प्रशिक्षणका लागि त्यहाँ पुगिसकेको थियो । प्रशिक्षण चलिरहेका बेला नेपाली खेलाडीलाई इस्लामाबादस्थित नेपाली राजदूतावासले रात्रिभोजका लागि निम्तो दियो । नेपाली राजदूत थिए— चूडाबहादुर हमाल जो अभिनेता राजेश हमालका बुबा हुन् ।
नेपाली राजदूतावासको त्यो निम्तो मान्ने क्रममा केही नेपाली खेलाडी पाकिस्तानकै पारम्परिक पठानी भेषभूषामा त्यहाँ पुगे । त्यस्तो पहिरन लगाउनेमा सुरेन्द्र हमाल, संजय महर्जनदेखि समसुद्दिन सिद्दीकीसम्म थिए । त्यसै पनि भारोत्तोलनका खेलाडी मोटाघाटा हुन्छन्, त्यसमाथि पठानी पहिरन । राजदूत हमालले उनीहरूलाई पाकिस्तानी नै
सम्झिएछन् तर खेलाडीहरूसँग कुरा गरेपछि मात्र राजदूतले थाहा पाए, यी त नेपाली खेलाडी नै हुन् ।
कुनै पनि खेलाडी पहिलो पटक टिममा परेर विदेश जान लागेको छ भने सुरुमै सुनाइन्छ, विमानमा उड्दा यस्तो–यस्तो हुन सक्छ, होसियार हुनु । आफू चढेको विमानमा प्राविधिक समस्या छ भनेर सुनाउनेहरू पनि उत्तिकै हुन्छन् । त्यस्ता कुरा सुनेर नयाँ खेलाडीको सातो उड्छ ।
जो–कोहीलाई पनि पहिलो पटक विमान चढ्दा खुसी मात्र होइन, डर–त्रास समेत हुन्छ । यस्तै पहिलो पटक ठूलो र सानदार होटलमा बस्दा पनि उत्तिकै समस्या हुन्छ । होटलको कोठा खोल्नेदेखि लिएर लिफ्ट प्रयोग गर्दासमेत नयाँ–नयाँ खेलाडीलाई धेरै गाह्रो हुन्छ । पुरानै खेलाडी भए पनि यसमा समस्या देखापर्न सक्छ । होटलमा बस्दा भएका समस्याहरूका सम्बन्धमा पनि प्राय: खेलाडीसँग केही न केही कथा हुन्छ, तर आपंैm जोकर हुने कारणले उनीहरू त्यस्ता घटना सार्वजनिक गर्न चाहँदैनन् ।
विमान चढ्दा होस अथवा ठूलो होटलमा बस्दा होस्, नयाँ–नयाँ प्रविधिसँग अभ्यस्त हुन नसक्दा पनि समस्या हुन्छ । केही खेलाडी खुबै रमाइलो गर्नु पर्ने खालका हुन्छन् र तिनको उपस्थितिले पूरा टिमको वातावरण रमाइलो भैरहेको हुन्छ । अहिलेको नेपाली फुटबल टिममा नवयुग श्रेष्ठ त्यस्ता खेलाडी हुन्, जसले टिमका सदस्यहरूलाई खुसी दिइरहेका हुन्छन् । उनको विशेषता नै हो, उनी मैदानमा जति राम्रो खेल्छन्, मैदानबाहिर चुट्किला सुनाउन, गीत गाउन वा ख्याल–ठट्टा गर्न उत्तिकै माहिर छन् । उनी टिममा न त नयाँ खेलाडी हुन्, न त पुराना । त्यसैले टिमका सबै खेलाडीसँग उनको राम्रो मित्रता छ ।
नेपाली क्रिकेट टिममा यस्तै भूमिकामा हुन्छन्— सोमपाल कामी । उनी पनि टिममा न त नयाँ खेलाडी हुन्, न त पुरानै । त्यसैले उनको पनि टिमका लगभग सबै सदस्यसँग राम्रै मित्रता छ । त्यसैले पनि उनी कप्तानदेखि लिएर टिममा डेब्यु गर्न लागेका खेलाडीहरूसँग ख्याल–ठट्टा गरिरहन्छन् ।
यी सबै कुरामा सबैभन्दा छुटाउन नहुने नाम हुन्, क्रिकेटर संजम रेग्मी । केही अघिसम्म पनि नेपाली टिममा पर्न प्रयासरत रेग्मी त्यसअघि भने नियमित सदस्य जस्तै थिए । उनी एक प्रकारले अद्भुत खेलाडी हुन्, मैदानमा मात्र नभएर मैदानबाहिर पनि । टिममा छँदा उनलाई सबै संजम बाबा भन्थे । पुराना खेलाडी विनोद दासले आफ्नो खेल जीवनकै पहिलो अर्धशतक बनाउँदा रुद्राक्षको माला लगाएर खेलेका थिए र त्यस्तो उपाय सुझाउने अरू कोही नभएर संजम नै थिए ।
उनी आफ्नै विशिष्ट शैलीको विश्लेषण पछि यस्तो गर्नु हुन्छ, यस्तो गर्नु हुन्न भनेर भविष्यवाणी गर्छन् र ती अधिकांश अनुमान मिल्छन् पनि । उनी प्राय: कुनै पनि होटलमा टिम बस्दा, खास तल्लामा, खास कोठामै बस्नु पर्ने समीकरण निकाल्छन् । खेल खेल्न जाँदा बसको नम्बर के छ, त्यसमा कति सिट छन् र ती सिटमध्ये कुन सिटमा कुन खेलाडी बस्दा फाइदा हुन्छ, संजम आफ्नै खालको समीकरण तयार पार्छन् ।
खेलाडी भएपछि अधिकांश समय भ्रमणमा निस्किरहनुपर्ने हुन्छ । यो कुरा विशेषत: फुटबल तथा क्रिकेटमा लागू हुन्छ । अरू खेलका खेलाडीहरूसँग पनि देश–विदेश घुमेको अनुभव हुन्छ । यसक्रममा सबै खेलाडीले केही न केही नयाँ अनुभव गरिरहेकै हुन्छन् र त्यस क्रममा परिस्थितिले उनीहरूलाई मुर्ख जस्तो पनि बनाएको हुन्छ । यो सबै घटनाक्रमले टिम र खेलाडीलाई भ्रमणको मज्जा पनि दिइरहेको हुन्छ । आखिर ख्याल–ठट्टा जीवनकै एक भाग न हो ।