साप्ताहिक संवाददाता
सन् २००५ मा फ्लाईङ्ग फिदर एल्बमबाट सांगीतिक करियर शुरु गरेका गायक प्रणय राणाले आफ्नो तेस्रो गिति एल्बम मन सार्बजनिक गरेका छन् । अमेरिकाको एटलान्टामा आयोजित एक भव्य संगीतिक समारोहमा गायीका इन्दिरा जोशी, प्रणयकी धर्मपत्नी र प्रणय लगायतले संयुक्त रुपमा एल्बम बिमोचन गरे ।
एल्बममा पप लोकपप र रक शैलिका ७ वटा गीतहरु समाबेश छन् । जसमध्ये ६ वटा गीतहरु नेपालमा रेकर्डिङ गरिएको थियो । एउटा गीत भने अमेरिकामा गरिएको हो । एल्बममा हराएको गोर्खे र नयाँ नेपाल गरी २ वटा देशभक्ति भावको गीतको अलावा माया मेरी, मन, एउटा फुल, कहाँ छौँ जस्ता माया प्रेमको गीतहरु सुन्न पाइन्छ । एल्बममा रहेका गितको संगीत संयोजन बिशाल गुरुङ, डिका गुरुङ, जनक सुनुवार, पवन वाङ्गलामा, सुजल भण्डारी, शिब मुखिया र अमृतले गरेका छन् । चल्दा चल्दै, ट्राफिक जाम र विर नेपाली जस्ता गीतबाट नेपाली संगीतिक आकाशमा चहकिलो पहिचान बनाएका प्रणयले यो एल्बमका सबै गितहरुमा उत्तिकै मेहनत गरेको बताए ।
सैनिक पृष्ठभूमीको परिवारमा जन्मिएका प्रणयले करिब १० बर्ष नेपाली सेनामा बिताए । त्यो समय उनले आफ्नो संगीतिक करियरलाइ पनि एक उचाइमा पुराएका थिए । अध्ययनका शिलशिलामा अमेरिका आउनु परेकाले तेस्रो एल्बम निकाल्न करिब एक दशक लागेको उनले बताए ।