पैसा नकमाए सबैले हेप्छन्

- मुकुन्द बोगटी, जनक तिमिल्सिना

कार्तिक १४, २०७६

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्— भुवनकुमार दाहाल । दाहाल २०४८ सालअघि संसद् सचिवालयका सरकारी जागिरे थिए । संसद सचिवालयको जागिर छोडेर उनले २०४८ सालमा नबिल बैंकमा सहायकका रूपमा जागिर सुरु गरे । २२ वर्षे नविल बैंकको जागिरे जीवनमा उनी सहायक महाप्रबन्धकसम्म भए । २०७० मा उनी सानिमा बैंकमा डेपुटी सीईओमा नियुक्त भए, त्यसको ६ महिनापछि फुल सीईओ भए । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी तथा अर्थशास्त्रमा स्नातक एवं फाइनान्समा स्नातकोत्तर गरेका छन् । २८ वर्षदेखि नेपाली बैंकमा पैसा वरपर रहेर बिताएका दाहालसँग साप्ताहिकका लागि मुकुन्द बोगटी तथा जनक तिमिल्सिनाले गरेको कुराकानीः 

एउटा बैंकको सीईओले चिनेको पैसा के हो ? 

समाजमा दुई खालका मानिस हुन्छन् । एउटासँग यति आम्दानी हुन्छ कि जसले आफ्ना दैनिक आवश्यकता पूरा गरेर केही रकम बचत गर्छ । समाजमा अर्काथरी मानिस हुन्छन्, जसलाई लगानी तथा खर्चका लागि पैसा पुग्दैन । बैंक यस्तो संस्था हो, जसले यी दुईका बीच पुलको काम गर्छ । उदाहरणका लागि एक जना चिकित्सकले १० लाख आर्जन गर्छन् र २ लाख खर्च गर्छन् भने ८ लाख रुपैयाँ बचत हुन्छ । ती चिकित्सकले त्यो पैसाको पर्चेजिङ पावर बढ्ने ठाउँमा लगानी गर्न लगानीको क्षेत्र खोजिरहेका हुन्छन् ।

अर्का एक जना व्यवसायी छन्, जोसँग १ अर्ब छ, तर नयाँ उद्योगमा लगानीका लागि २ अर्ब रुपैयाँ चाहिन्छ । यस्तो स्थितिमा बैंकले व्यवसायीलाई डेफिसिट युनिट भन्छ भने चिकित्सकलाई सरप्लस युनिट । हामी ती चिकित्सकलाई सेभर अफ मनी र व्यवसायीलाई युजर अफ मनी पनि भन्छौं । पैसा चाहिएको र पैसा भएकाको बीचमा पुलको काम बैंकले गर्छ । चिकित्सकको ८ लाख मात्र बचत छ, तर व्यवसायीलाई १ अर्ब अपुग छ, त्यस्ता धेरै बचतकर्ताबाट उक्त रकम जम्मा गरेर बैंकले भएका व्यवसायीहरूलाई व्यवसायको सम्भाव्यताका आधारमा ऋण उपलब्ध गराउँछ । उनको उद्योग–व्यवसाय सफल भए त्यसले प्रत्यक्ष÷अप्रत्यक्ष रोजगारी वृद्धिका अतिरिक्त अर्थतन्त्रमा मल्टीपिलर इफेक्टको भूमिका खेल्छ । उद्योग–व्यवसाय असफल भए भैरहेको पुँजीसमेत क्षय हुन्छ । त्यसैले एउटा बैंकले सरप्लस युनिटको बेफिसिट युनिटलाई दिँदा त्यसको इफिसेन्ट युज हुने गरी दिनुपर्छ ।

माथिको भूमिकाका आधारमा एउटा बैंकको सिईओले चिनेको पैसा भनेको सामान तथा सेवा खरिद्का लागि अति आवश्यक र राम्रोसँग प्रयोग गरे निरन्तर फुल दिने कुखुराजस्तो, दुरुपयोग गरे रोग लागेर मर्ने कुखराजस्तो हो । 

नेपालीले पैसालाई कत्तिको चिनेका छन् ? 

लिभिङ स्ट्यान्डर्ड निरन्तर सुधार भएको देख्दा नेपालीहरूले पैसालाई मज्जाले चिनेका छन् जस्तो लाग्छ । भर्खरै आएको राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालमा झन्डै ३ करोड जति (९४ प्रतिशत) बैंक खाता छ । त्यसमा भएका डुप्लिकेट खाता हटाउँदा ६१ प्रतिशत नेपालीको बैंक खाता छ । सहकारीमा खाता हुनेहरूलाई पनि जोड्ने हो भने ८० प्रतिशत नेपाली वित्तिय कारोबार गर्न जान्ने छन् । धेरै मानिस रिस्क लिन नसकेर उद्यमशील बन्न सकिरहेका छैनन्, उद्यम गर्दा मानिस अझ बढी धनी हुने सम्भावना हुन्छ । अहिले अपवादबाहेक सबैजसो व्यापारीले राम्रै पैसा कमाइरहेका छन् । लोन लिने मानिस भनेका ४-५ प्रतिशत मात्र छन् । यदि ऋण लिएर व्यवसाय गर्ने मानिसको संख्या भनेजसरी बढाउन सकियो भने नेपालीहरूको जीवनस्तर र कमाइमा निकै वृद्धि ल्याउन सकिन्छ ।

 

विदेशका नेपालीहरूले कत्तिको बचत गर्छन् ? 

बाहिर गएका अधिकांश नेपालीले दुःख गर्नुभएको छ, संघर्ष गर्नुभएको छ र उहाँहरूले नेपालमा बस्नेहरूको तुलनामा बढी पैसा चिन्नुभएको छ । सबैले त भन्दिनँ, विदेशमा रहेका धेरै नेपालीले बचत र विविध क्षेत्रमा लगानी गर्नुभएको छ भने अधिकांश ठाउँबाट राम्रो रिटर्नसमेत आइरहेको छ । बाहिर गएर दुःख गरेका नेपालीहरूले यहाँ मात्र होइन, आफू बसेको देशमा पनि राम्रो गरेका छन् । विदेशमा भएका नेपालीहरूले सानो उद्यम पनि अनुशासित रूपमा चलाएका छन् । नेपालमा त्यस्तो अनुशासन कमै देखिन्छ । गल्फतिर गएका नेपालीहरूमा लगानीको उति ज्ञान नहोला, तर युरोप, अमेरिका, अष्ट्रेलियातिर गएका मानिसहरू बढी पढेलेखेका छन्, उनीहरू कहाँ लगानी गर्दा बढी रिटर्न छ, आफंै क्यालकुलेसन गर्न सक्छन् । 

कतिपयले मनी ट्रान्सफरलाई खर्चिलो मानेर पैसा जोगाउन हुन्डीबाट पनि पैसा पठाइरहेको पाइन्छ । त्यो कति सुरक्षित बाटो हो ?

त्यो एकदमै गलत बाटो हो । बैंकबाट पठाउँदा केही कमिसन दिर्नुपर्ला त्यो आफ्नो ठाउँमा छ, तर त्यो रकम तत्काल आउँछ र सुरक्षित पनि हुन्छ । हुन्डीबाट आउँदा केही कम पैसा लाग्ला, तर एउटा व्यक्तिलाई विश्वास गर्ने कि ८ अर्ब क्यापिटल भएको बैंकमाथि विश्वास गर्ने ? त्यसैले बैंकको बाटो नै सबैभन्दा सुरक्षित बाटो हो । हुण्डी कारोबारीहरू ठगेर भागेका उदाहरण पनि छन् तर कुनै बैंक भागेको छ त ? हामी विदेशमा कमाइकै लागि त्यत्रो मेहनत गरिरहेका छौं भने केही रुपैयाँका लागि किन गैर कानुनी र असुरक्षित काम गर्ने ? हामी स्वाभिमानका साथ विदेशमा बसिरहेका छौं, नियमको पालना गरिरहेका छौं भने केही रुपैयाँको लोभ किन गर्ने ? त्यसैले वैधानिक बैंकिङ च्यानलबाट मात्र पैसा पठाऔं । अहिलेका अर्थमन्त्रीले हुन्डीलाई कन्ट्रोल गर्नुभएको छ, भन्सारमा कडाइ गरेर। यसले राजस्वमा पनि टेवा पुगेको छ भने बैंकिङ प्रणालीमा समेत सुधार आएको छ । 

विदेशमा नेपालीहरूले कमाएको पैसाको व्यवस्थापन कसरी भैरहेको छ ? 

जो पढेलेखेका छन्, जसलाई इन्भेस्टमेन्टको ज्ञान छ, उनीहरूले हाइड्रो पावर, सिमेन्ट, बैंक, होटल, स्वास्थ्य, घर–जग्गा, शिक्षा मिडियाजस्ता क्षेत्रमा लगानी गरेका छन् । जो गल्फ कन्ट्रीतिर जानुभएको छ, उहाँहरूको आम्दानी पनि कम छ । उहाँहरूले घर–जग्गा खरिद तथा छोराछोरीको शिक्षामा खर्च गरिरहनुभएको छ ।

विदेशबाट आएको पैसाका कारण सामाजिक विचलनका घटनाहरू पनि सतहमा आइरहेका छन् नि ? 

बुवाआमाले विदेशमा परिश्रम गरेर कमाएको पैसा छोराछोरीले जाँड–रक्सीमा सकेका घटना पनि समाजमा देखिन्छन् । यस्ता घटना परिवारमा कम कन्ट्रोल वा शिक्षा कमजोर भएकाहरूमा सिर्जना हुन्छन् । यस्तो समस्या समाजमा छ, कतिपयको परिवारै विघटन भएका, पैसा लिएर श्रीमती अन्तैतिर लागेका घटना पनि छन् । त्यस्ता घटना परिवार टाढिएका कारणले भएको हो । यद्यपि अधिकांशको राम्रो छ, हामी नराम्रोको उदाहरण दिन्छौं । मलाई लाग्छ, ९० प्रतिशत त राम्रो नै छ, बाँकी १० प्रतिशतजतिमा समस्या छ, त्यो स्वभाविक हो कि ? 

विदेशमा कुन क्षेत्रमा काम गर्ने नेपालीले बढी बचत गरेको पाइन्छ ? 

विदेशमा बढी बचत गर्नेहरूमा टेक्निकल लाइनमा काम गर्नेहरू अग्रणी छन् । इन्जिनियर, चिकित्सक, सिएजस्ता क्षेत्रमा काम गर्नेहरूको आम्दानी बढी छ । विदेशमा व्यवसाय गर्ने नेपालीहरूले पनि राम्रो कमाएको देख्छु । गल्फ कन्ट्रीहरूमा पनि ह्वाइट कलरको जबमा एकदमै राम्रो कमाइ छ । 

कहाँका नेपालीले बढी पैसा पठाउँछन् ? 

तथ्यांक हेर्दा सबैतिरबाट आएको देखिन्छ । गल्फ कन्ट्रीतिरबाट कमाइको अधिकांश पैसा नेपाल आउँछ । राम्रो आम्दानी भएका कतिपयले नेपालमा कम पैसा पठाएको देख्छु, उनीहरू उतै लगानी गर्छन् । युरोप, अमेरिका, अस्ट्रेलिया जानेहरू प्रायः उतै सेटल हुन्छन् । नकारात्मक पक्ष के छ भने उनीहरू यहाँ भएको घरजग्गा पनि बेचेर पैसा उतै लान्छन् । 

नेपालीहरूको खर्चको स्वभावलाई कसरी नियाल्नुभएको छ ? 

नेपाली एकदम रिल्याक्स गर्नुपर्ने जात हो । नेपालीहरूले आधारभूत वस्तुका अतिरिक्त बियर, रक्सी तथा चुरोटको उपभोग उत्तिकै गरिरहेका हुन्छन् । दसैं–तिहार जस्ता चाडपर्वमा जाँड–रक्सी बिक्रीको तथ्यांक हेर्ने हो भने त्यो कुरा स्पष्ट देखिन्छ । रेस्टुराँमा सोध्ने हो भने नेपालीहरूले विदेशीभन्दा बढी खर्च गर्ने प्रवृत्ति बढिरहेको पाइन्छ ।

नेपालभित्र कुन वर्गका नेपालीले अलि बढी बचत गरिरहेका छन् ? 

जसले दुःख पाएका छन्, तिनले बचत गर्छन् । हामी गाउँबाट आयौं, संघर्ष ग¥यौं, कहिलेकाहीं रमाइलो पनि गर्छौं तर त्यति धेरै फुर्माइसी गर्दैनौं बचत नै गर्छौं । यद्यपि हाम्रा छोराछोरीले दुःख देखेका छैनन्, तिनले अलि बढी फुर्माइसी गर्छन् । म कहिलेकाहीँ भन्छु पनि, हामी लोकल कुखुराजस्ता, हाम्रा बच्चाबच्चीहरू बोइलर कुखुराजस्ता ।

जातिगत रूपमा कसले बढी बचत गरेको पाइन्छ ? 

बैंकिङ बचतको ट्रेन्ड हेर्ने हो भने जातिगत रूपमा नेवार, मारवाडी, थकाली तथा बाहुन–क्षेत्रीले बढी बचत गर्छन् । त्यसमा पनि नेवार र मारवाडी समुदाय बढी उद्यम गर्ने र कमाउनेमा पर्छन् । कतिपय समुदायमा अलि बढी रमाइलो गर्ने चलन पाइन्छ । मैले यो सामान्य टे«ण्ड भने तर बचत र खर्च गर्ने कुरा जातभन्दा पनि व्यक्तिमा बढी भर पर्छ । 

पैसा बढाउने कुनै टेक्निक छ ? 

अनावश्यक रुपमा खर्च नगर्ने, सेयरमा लगानी गर्ने वा जग्गामा लगानी गर्ने ? केमा लगानी गर्दा रिटन्र्स राम्रो हुन्छ, जसले स्टडी गरेर इन्भेस्ट गर्छ उसले पैसा बढाउने हो । जसलाई त्यति धेरै विश्लेषण गर्न आउँदैन, उसले बैंकमा डिपोजिट राखेर ब्याज खाने हो । जो रिस्क लिन चाहन्छ, उसले विभिन्न सेक्टरमा लगानी गरेर विविधीकरण गर्ने हो । पोर्टफोलियो बनाउने जस्तोः बैंकमा कति, सेयरमा कति, जमिनमा कति, गोल्ड तथा सिल्भरमा कति भन्ने निश्चित गर्ने हो ।

लगानीको कुनै फर्मुला हुन्छ ? 

यो गतिशील चिज हो । आज जग्गामा लगानी गर्दा बढी रिटर्न होला, भोलि सेयरमा लगानी गर्दा बढी हुन सक्छ । पर्सी दुवै चिज डाउन भएका बेला बैंकमा राखेको रिटर्न पनि बढी हुन सक्छ । दुई वर्षअघि म्युचुअल फन्डहरूले सेयरमा लगानी गरे, अहिले त्यो डाउन छ । अहिले बैंकमा राखेको पैसाले त्यसलाई जित्छ । इन्भेस्टमेन्ट भनेको डाइनामिक चिज हो, स्टाटिक्स होइन । परिस्थिति एकदमै बदलिरहन्छ, त्यसकारण जसले परिस्थिति चिनेर लगानी गर्छ, पोर्टफोलियो डाइभर्सिफाइड गर्छ ऊ सफल हुने हो ।

एउटै मात्र क्षेत्रमा लगानी गर्नु हुँदैन । अंग्रेजीमा एउटा भनाइ छ— यू सुल्ड नेभर ले अल एग इन द सेम बास्केट । एउटै भाँडोमा अन्डा राख्नुभयो भने कहिलेकाहीँ सबै अण्डा फुट्न सक्छ, तपाईंले डाइभर्सिफाइड गर्नैपर्छ । जस्तो आफूसँग भएको पैसाको ५० प्रतिशत जग्गामा, ३० प्रतिशत सेयरमा, १० प्रतिशत सुन तथा चाँदीमा तथा १० प्रतिशत बैंकमा राख्नुभयो भने त्यो आजको दिनमा आइडल हुनसक्छ, तर जग्गाको मूल्य घट्दो क्रममा रह्यो भने त्यसलाई घटाएर सेयरमा बढाउनुपर्छ । लगानी गर्दा जुन पोर्टफोलियो क्रिएट गरिन्छ, त्यसको एनालाइसिस गरेर काम गर्नुपर्छ । एउटै क्षेत्रमा लगानी गर्ने मानिसचाहिँ मूर्ख हुन्छ । जसले परिस्थितिको विश्लेषण गरेर आफ्नो पोर्टफोलियोलाई रिएडजस्टमेन्ट गर्छ त्यो मानिस नै वारेन बफेटजस्तो सफल हुन सक्छ । बफेटको लस नहुने होइन तर ओभर अलमा प्रोफिट नै हुन्छ । तास खेल्न जानेको मान्छे हार्दा पनि कम हार्छ, जित्दा पनि बढी जित्छ । तास खेल्न नजान्ने मान्छे तासै आएका बेला पनि कम जित्छ, हार्दा बढी हार्छ । तास खेल्न जान्ने मानिस र लगानी गर्न जान्ने मानिस उस्तै–उस्तै हुन् लगानीका दृष्टिले । 

यस्ता खालका नेपाली कति होलान् ? 

नेपालमा इन्भेस्टमेन्टसम्बन्धी एक्सपर्टहरूको संख्या कम छ । त्यसैले अहिले इन्भेस्टमेन्ट बैंकिङको कन्सेप्ट चलेको छ । यिनीहरूको कामै लगानीको क्षेत्र कुन एरियामा बढ्दैछ, कुन क्षेत्रमा घटिरहेको छ विश्लेषण गरेर लगानी गर्नु हो । ती कम्पनीका एक्स्पर्टहरूले फन्ड तथा पोर्टफोलियो म्यानेजमेन्ट गरिरहेका हुन्छन् । लगानी सम्बन्धी ज्ञान कम भएका÷नभएका व्यक्तिहरूले इन्भेस्टमेन्ट बैंकिङको सेवा लिनु उपयुक्त हुन्छ ।

 

पैसा कमाउन कुन महत्वपूर्ण छ, बुद्धि कि मेहनत ? 

दुवै चाहिन्छ । बुद्धि भएर पनि अल्छी भयो भने त्यसले कमाउँदैन । मेहनत छ तर गलत ठाउँमा मेहनत गरिरहेको छ भने उसले पनि कमाउँदैन । कमाउनका लागि बुद्धि र मेहनत दुवैको कम्बिनेसनका साथै भाग्यको पनि साथ हुनुपर्छ । बुद्धि र मेहनत त चाहियो नै त्यसमा भाग्य पनि हुनु जरुरी हुन्छ । भाग्यले साथ दियो भने चाँडै कमाइन्छ, भाग्यले साथ दिएन भने बुद्धि र मेहनत भएर मात्र पनि हुँदैन ।

कहिलेकाहीँ प्रशस्त मेहनत र राम्रो प्रोजेक्ट हुँदाहुँदै पनि सफल भइँदैन, कहिलेकाही कम मेहनतमै सामान्य प्रोजेक्ट पनि सफल भइदिन्छ । जस्तैः नारायणमूर्तिले इन्फोसिस आइटीमा लगानी गरे, बुद्धि पनि थियो, मेहनत पनि थियो, आइटी सेक्टर बुम भएका बेला उनले प्रशस्त पैसा कमाए । 

पैसावालाहरू र लक्ष्मीको कनेक्सन के हो जस्तो लाग्छ ? 

पैसाकी देवी लक्ष्मी हुन् । मलाई त लक्ष्मी र सरस्वतीबीच इन्टरलिंक छ जस्तो लाग्छ । लक्ष्मीवालाहरूले सरस्वतीवालाहरूलाई किनिरहेको देख्छु । जोसँग पैसा छ, उसले एक्सपर्टहरूलाई हायर गर्छ । लक्ष्मीवालाहरूसँग सबै विषयमा ज्ञान नहुन सक्छ, तर उ एक्सपर्ट हायर गर्न सक्ने हुन्छ । सरस्वतीवालाले लक्ष्मी कमाउन सहयोग गर्ने हो । लक्ष्मीवालाले सरस्वतीवाला हायर गरेर आफ्नो सम्पत्ति अझ बढाउने हो । एक्सपर्ट भनेका त सरस्वतीवालाहरू हुन् । 

पैसाको महत्व कहाँ–कहाँ छ ? 

पैसा भएन भने सबैले हेप्छन् । अहिले नेपाली पासपोर्टलाई हेप्नुको कारण हामी गरिब भएर पनि हो । पैसा कमाउन जरुरी छ, तर गैरकानुनी रूपमा कमाउनु भएन । गरिब भएपछि सबैले हेप्छन् । सिंगापुर त्यति सानो देश छ, धनी भएकाले सरकार लगानी गरेर डिभिडेन्ट खान्छ । हामीले जियोपोलिटकल चिजहरू ब्यालेन्स गर्न सक्यौं भने नेपालमा पनि अथाह स्रोतहरू छन् । सगरमाथा, लुम्बिनी, पोखरा, नेचर, कल्चर, एडभेन्चर सबै दृष्टिले हामी नेपाली भाग्यमानी छौं, तर हामीले इन्फास्ट्रक्चर नै विकास गर्न सकेका छैनौं ।

हामीले फराकिला सडक तथा ठूला एयरपोर्टहरूसम्म बनाउन सकेका छैनौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सोच ठूलो छ, तर कार्यान्वयनको पाटोमा खै किन उहाँ चुकिरहनुभएको छ ? उहाँले मन्त्रीहरूलाई स्वतन्त्रपूर्वक काम गर्न दिएर क्लोज मनिटरिङ गर्नुभयो भने छिटो र राम्रो परिणाम आउँथ्यो कि ? 

मनी माइन्डेड ट्रेन्डले समाजमा समस्या पनि सिर्जना गरिरहेको छ । यसलाई कसरी रोक्ने सकिन्छ ? 

यसमा राजनेताहरूले नै उदाहरण सेट गर्नुपर्छ । अहिले जग्गाको भाउ अचाक्ली बढेको छ । अहिले कुनै पनि कर्मचारीले शुद्ध कमाइबाट काठमाडौंमा घर बनाएर देखाओस् त ? टाढा–टाढाको जग्गा पनि आनाको २०–२५ लाख भनिन्छ । हामी बैंकमा काम गर्ने मान्छे भाग्यमानी छौं, हामीलाई आफ्नै बैंकले लोन दिन्छ । विदेशतिर ५–७ वर्षको कमाइले एउटा ठिक्कको घर बनाउन पुग्दो रहेछ । नेपालमा त त्यो सम्भावना नै छैन । राज्यले जग्गाको भाउ किन बढ्यो यसलाई एड्रेस गर्नुपर्छ । अर्को शिक्षा र स्वास्थ्य पनि उत्तिकै महँगो छ । घरजग्गा, स्वास्थ्य र शिक्षामा बढिरहेको महंगीमा राज्यले हस्तक्षेप गर्नुपर्छ । त्यसो नगर्ने हो भने भ्रष्टाचार रोक्नै सकिँदैन । भ्रष्टाचार रोक्न सबैभन्दा पहिले शिक्षा र स्वास्थ्यमा हुने खर्च रोक्नुपर्छ । शिक्षा र स्वास्थ्यलाई हामीले निकै महँगो बनायौं । अर्को कुरा, एउटा मान्छेले ३० वर्ष जागिर गरेपछि एउटा घर होस् भन्ने त चाहन्छ, तर हामीकहाँ त्यो किसिमको वातावरण नै छैन । नेताहरू उपचार गर्न निजीमा, नेताका छोराछोरीहरू पढ्न सबै निजीमा । नेपालीका छोराछोरी पढ्ने राम्रो सरकारी स्कुल र उपचार गर्न जाने एउटा राम्रो अस्पताल बनाएर उदाहरण सेट गर्न सकिँदैन ? यो चिजमा हामीले ध्यान दिन सक्यौ भने भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । ब्युरोक्रेसी र नेताहरू ठीक भएपछि देशमा चुस्त प्रणाली विकास गर्न सकिन्छ । 

नाङ्लो पसलेदेखि धनाढ्यसम्म सबै पैसा कमाउन चाहन्छन् । यो पैसा भन्ने कुरा कस्तो शक्ति हो ? 

धन सधैं पावरफुल छ। हामीले पौराणिक ग्रन्थमा कुबेरको कथा पढेका छौं । उपचार गर्न, विदेश भ्रमण गर्न, छोराछोरीलाई राम्रो ठाउँमा पढाउन पैसा त चाहियो चाहियो । पैसा कानुनी रूपमा कमाउनुपर्छ । हाम्रो बैंकमा सुरुमा प्रवेश गर्नेहरूको तलब ३० हजार रुपैयाँ छ, बोनसलगायतका सुविधा गरेर झण्डैं ६० हजार हुन्छ । स्नातक गर्ने बित्तिकै युवाहरूले ६० हजार मासिक कमाउँछन्, त्यसबाहेक हामी एक वर्षपछि अटो लोन दिन्छौं, ३ वर्षपछि घर लोन पाइन्छ । स्नातक गरेकाले नबिल बैंकमा ज्वाइन गर्ने बित्तिकै ५० हजार तलब पाउँछ, बोनस समेत जोड्ने हो भने १ लाख पुग्छ । नेपालमा लिगल्ली काम गरेर पनि त पैसा कमाउन सकिँदो रहेछ । त्यसैले नेपालमा एकदमै सम्भावना छ । व्यापारी–व्यवसायीहरूको रिटन्र्स पनि उत्तिकै लोभलाग्दो छ । धनी नभएकाले नै हाम्रो भिसा रिजेक्ट पनि हुन्छ । त्यसकारण हामीले धनी त हुनैपर्छ । कानुनी रूपमा पैसा कमाउनुपर्छ । पैसा नकमाएपछि सबैले हेप्दा रहेछन् । पैसाले मानिसलाई कन्फिडेन्स पनि दिन्छ, तर पैसा कमाउँदा अनेस्टी र इन्टीग्रेटी पहिलो सर्त हुनुपर्छ । 

प्रधानमन्त्री ओलीसँग अहिले मौका छ । मापदण्डमा आधारित भएर निष्पक्ष रुपमा उहँँले दक्ष व्यक्तिहरू नियुक्ति गर्न थाल्नुभयो भने केही वर्षमै नेपाल आर्थिक रूपले सम्पन्न हुन गाह्रो छैन । हाम्रो विश्वविद्यालयको अवस्था पनि नाजुक छ । बुद्ध एयरले नाफा गर्ने, यति एयरले नाफा गर्ने नेपाल एयरलाइन्स सधैं घाटा हुने कसरी हुन्छ ? त्यसैले सरकारी संस्थानहरूको व्यवस्थापन पनि चुस्त र क्षमतावान् बनाउनुपर्छ । नेपाल गरिब भएको रिसोर्स नभएर होइन, व्यवस्थापनमा कमी–कमजोरी भएर हो । राम्रोसँग व्यवस्थापन गर्ने हो भने नेपाल धनी हुन्छ । हामीसँग पैसाको अथाह स्रोत छ, हामीले चिन्न नसकेको मात्र हो । 

प्रकाशित :कार्तिक १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्