साप्ताहिक संवाददाता
आफूलाई बादशाह मान्ने दुई युवकको कथा समेटिएको चलचित्र ‘बादशाह जुट’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । सुशील श्रेष्ठ एवं अमिर गौतमले प्रमुख भूमिका निर्वाह गरेको यो चलचित्रमा सुशील पत्रकार तथा आमिर प्रहरीको भूमिकामा छन् ।
अभिनेता श्रेष्ठका अनुसार चलचित्रमा उनको चरित्र ब्रेकिङ न्यूज दिन लालयित पत्रकारको छ । ‘समाचारको खोजीमा व्यस्त रहने चरित्र निर्वाह गरेको छु जसको उद्देश्य राम्रो काम गरेर सबैमाझ चिनिनु हो’, सुशील भन्छन्, ‘यो चलचित्रमा मलाई दर्शकले मेरा अघिल्ला चलचित्र भन्दा भिन्न रूपमा देख्नुहुनेछ । मैले यो चलचित्रमा अभिनय गर्ने अर्को कारण यसको कथा पनि हो ।’ यसअघिका चलचित्रमा सहरीया हेण्डसम चरित्रमा देखिएका सुशील यो चलचित्रमा साधारण लुक्समा प्रस्तुत हँुँदैछन् । चलचित्रकै लागि उनले १२ केजी तौल घटाएका छन् ।
चलचित्रमा निर्देशक जोनी सिंह राणाको ‘डेब्यू’ निर्देशन छ । ‘मेरो पहिलो चलचित्र भए पनि मैले सतप्रतिशत काम गरेको छु । चलचित्रले देशमा केही गर्न खोज्ने युवा प्रहरी तथा पत्रकारको कथालाई समेटेको छ’, निर्देशक राणा भन्छन्, ट्रेलरमा आतंकवादी आक्रमणको कथामा आधारित चलचित्र लागे पनि यसमा त्यस्तै कथा भने छैन ।’ उनले चलचित्रमा दुई युवाको बादशाह बन्ने संघर्ष र बादशाह बन्न कस्तो काम गर्नुपर्छ भन्ने कुरा प्रस्तुत गरिएको बताए ।
अर्का अभिनेता अमिरले चलचित्रमा आफू अन्य प्रहरीको तुलनामा अलिक फरक रूपमा प्रस्तुत हुने कुरा बताए । ‘आफूलाई सिंघम शैलीमा कसरी उतार्ने भन्ने मनोविज्ञान भएको प्रहरीको चरित्रमा देखिएको छु । मेरो चरित्र अलिक फन्नी किसिमको पनि छ’, अमिर भन्छन् ।