प्रकाश थापा विशेष गरेर बलिउड केन्द्रित कार्यक्रम आयोजना गर्छन् । बलिउडका लोकप्रिय कलाकारलाई बोकेर संसारका कुना–कुनासम्म पुगेर स्टेज चढाउँछन् ।
नेपालमा जन्मिएको एउटा ठिटोले कसरी यो सबै सकिरहेको छ ? थापाले मुस्कुराएर भने, ‘यो स्थान पुग्न ठुलै संघर्ष गरेको छ । एउटा नेपालीलाई बलिउड जस्तो सपनाको सहरमा छिर्नु ठुलो कुरा हो, अझ बलिउडसँग सम्बन्धित कार्यक्रम गर्नु चानेचुने कुरा पटक्कै होइन ।’ बलिउडमा यस्ता किसिमका कार्यक्रम आयोजना गर्नेको ठुलै जमात छ, उनी थप्छन्, ‘राम्रो गर्नेहरु टिक्छन्, अरु पाखा लाग्छन् ।’
म सँग त्यस्तो ठुलो सपना केहि छैन । नेपाली कलाकारलाई बलिउड र हलिउडका कलाकारसँग एउटै स्टेजमा चढाउने अबको योजना छ । उनले थपे, ‘यो सपना छिट्टै पुरा गर्दैछु ।’ अमेरिकामा एउटा बिशेष लाइभ शो आयोजना हुन लागेको र त्यो कार्यक्रममा नेपाली कलाकारहरुलाई बलिउड र हलिउडका कलाकारसँग सँगै प्रस्तुती गराउने थापाले योजना सुनाए । हाल सोहि कार्यक्रमको तयारीमा छन् उनी ।
आजभन्दा १० बर्षअघि मुम्बईमा ‘अक्टेभ इन्टरटेनमेन्ट’ कम्पनी स्थापना गरेर उनले आधिकारिक रुपमा इभेन्ट म्यानेजमेन्टको काम थालेका हुन् । उनी यो कम्पनीका निर्देशक हुन् । हाल यो कम्पनी अमेरिकाको क्यालिफोर्नियामा समेत संचालित छ । अमेरिकामा यो कम्पनी स्थापना भएको ५ बर्ष मात्रै पुगेको छ ।
खास गरेर बलिउडमा नाम चलेका अभिनेता, अभिनेत्री, गायक, गायिकाहरुलाई लिएर अमेरिका, मुम्बई, नेपाल तथा अरु विभिन्न देशमा पुगेर उनको कम्पनीले लाइभ प्रोगाम संचालन गर्छ ।
बलिउड मनोरन्जन क्षेत्रमा संसारको आधा भाग हो, उनी भन्छन्, ‘आफुले मन पराएका स्टारहरुलाई नजिकबाट देख्न समेत नपाउने धेरै छन्, हामीले उनीहरुका फ्यानहरुसँग पु-याएर साक्षात्कार गराउने र मनोरन्जन प्रदान गरिरहेका छौं ।’
प्रकाश थापा पुर्व तेक्वान्दो खेलाडी समेत हुन् । मिडियामा समेत आवद्ध छन् । उनी काठमाडौँमा रहेको गोर्खा एफएमको संस्थापक निर्देशक समेत हुन् । बलिउड जस्तो ठुलो उद्योगमा छोटो समयमै धेरै कार्यक्रम गर्न सफल छन् । यो कम्पनीले अहिलेसम्म शाहरुख खान, सलमान खान, ज्याकलिन, अभिषेक बच्चन, दीपिका पादुकोण, सोनाक्षी सिन्हा, कैटरिना कैफ, देशी शाह, विपशा बाशु, कुमार सानु, उदीत नारायण झा लगायत दर्जनौं कलाकारहरुसँग मिलेर काम गरिसकेको छ ।
अहिलेसम्म गरिएका अधिकांश कार्यक्रमहरुलाई सफल रुपमा सम्पन्न गर्न सकेका कारण आफुलाई भाग्यमानी ठान्छन्, प्रकाश । थप्छन्, ‘आगामी दिनमा हामीले कसरी भव्य कार्यक्रम गर्न सकिन्छ भनेर चिन्तन गरिरहेका छौं ।’
बलिउडसँग सम्बन्धित कार्यक्रम गर्दा धेरै किसिमको चुनौती आइपर्छ । सानो खर्चले नपुग्ने उक्त कार्यक्रमलाई सफल गराउनका लागी धेरै ठुलो जोखिम आवश्यक पर्छ । बलिउडमा पुगेर यस्ता किसिमका कार्यक्रम गर्न जो कसैलाई गाह्रो पर्छ, उनी सुनाउँछन्, ‘सायद बलिउडका कार्यक्रम गर्ने पहिलो नेपालीको रुपमा म हुँ कि !’ आफुले नेपालमा समेत बलिउड स्तरको कार्यक्रम गर्न खोजेपनि विभिन्न प्राविधिक कारण नसकेको थापाले स्विकार्छन् ।
एक बर्षअघि सलमान खानको दबंग टुर आयोजना हुनेवाला थियो । त्यो गर्न दिइएन । त्यसपछि आयोजना हुन खोजेको आइफा एवार्ड आयोजना हुन पाएन । उनी भन्छन्, ‘यि कार्यक्रम सर्वाधिक ठुला कार्यक्रममध्ये पर्छन्, जो नेपालमा आउनै पाएनन् । यदि आएको खण्डमा नेपाल र नेपालीहरुको शान संसारभर पुग्ने थियो ।’
अमेरिकाका लागी नेपाल टुरिजम बोर्डका एम्बेस्डर समेत रहेका थापाले ह्विसपर नेपाल नामको प्रोजेक्ट समेत चलाइरहेका छन् । जसले संसारका उत्कृष्ट कलाकार र पपुलर व्यक्तीहरुले नेपाल र नेपालका पर्यटकिय स्थलको बारेमा अभियान चलाउँछन् ।