साप्ताहिक संवाददाता
अक्टुबर २९, १९६९ मा एआरपी नेटले प्रेषित गरेको पहिलो सन्देश आजको नेटवर्क संसारका लागि जग थियो । अहिले ५० वर्षपछि ४ अर्बभन्दा बढी मानिससँग इन्टरनेटको पहुँच छ र आईपी नेटवर्कमा जडान भएका उपकरणहरूको संख्या विश्वव्यापी जनसंख्याको तुलनामा दोब्बर छ ।
एआरपी नेट अमेरिकाको सैन्य शाखाबाट आएको हो, जसले यसमा लगानी गरेको थियो । जब एआरपी नेट सिर्जना गरिएको थियो यसले ५ वटा साइटलाई जोडेको थियो— यूसीएलए, स्ट्यानफोर्ड, युसी सान्ता बार्बरा, उताह विश्वविद्यालय तथा बीबीयन टेक्नोलोजिज् ।
इन्टरनेट वर्ल्ड स्ट्याटिक्सका अनुसार आज विश्वव्यापी रूपमा ४ दशमलव ४ अर्ब इन्टरनेट प्रयोगकर्ता छन् । अमेरिकाबाट सञ्चालित इन्टरनेटको माध्यमबाट विश्व नै परिवर्तन भएको छ र आज विश्वको जनसंख्याको आधाभन्दा बढी यसमा प्रवेश गरिसकेको छ । यहि सन्दर्भमा इन्टरनेटको भविष्यका सम्बन्धमा विभिन्न अनुमान लगाउन थालिएको छ ।
स्मार्टफोनले कम्प्युटरलाई ओभरटेक गर्दै
अहिले स्मार्टफोनबाट इन्टरनेट प्रयोग गर्ने मानिसहरूको संख्या बढ्दो छ र आउने वर्षहरूमा यो संख्या अझ बढ्नेछ । सन् २०१८ मा इन्टरनेट प्रयोगकर्तामध्ये ४१ प्रतिशतले डेस्कटप प्रयोग गर्थे भने अब २०२२ सम्ममा १९ प्रतिशत मात्र हुने अनुमान गरिएको छ ।
इन्टरनेटमा सुरक्षा जोखिम
आज इन्टरनेटमा जडित प्रणालीहरूविरुद्धको आक्रमण गणना नै गर्न नसकिने अवस्थामा छ । सुरक्षा जोखिमका कारण पीडित संघ–संस्थाको वित्तीय अवस्था पनि त्यत्तिकै नाजुक भएको छ । विश्वव्यापी रूपमा डाटा उल्लंघनको लागत, विगतका वर्षहरूको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।
सोसल मिडियाको लहर
सुन्दा आश्चर्य लाग्न सक्छ, फेसबुकमा हरेक सेकेन्डमा ८ वटा नयाँ प्रोफाइल बन्छन् । यसका १ दशमलव ५९ अर्ब दैनिक प्रयोगकर्ता छन्, जसमध्ये १ अर्ब प्रयोगकर्ताले मोबाइल प्रयोग गर्छन् । ट्विटरमा प्रत्येक सेकेन्ड औसतमा ६ हजार ट्विट हुन्छन् भने हरेक दिन ५० करोडभन्दा बढी ट्वीट हुन्छन् । इन्टरनेटमा दैनिक ४० लाख भन्दा बढी ब्लग पोस्ट हुन्छन् । विभिन्न माध्यममा प्रकाशित सामग्री बाट के थाहा हुन्छ भने औसतमा २ दशमलव १ अर्ब भन्दा बढी मानिस फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप अथवा म्यासेन्जरमध्ये कुनै एक हरेक दिन प्रयोग गर्छन् ।
अनलाइन खोजी र किनमेल
उद्योग सञ्चालकहरूको अनुमानमा प्रत्येक दिन ५ अर्बभन्दा बढी पटक गुगल सर्च गरिन्छ, जसमध्ये मालसामान किनबेचको हिस्सा झन्डै आधा छ । अहिले ई–कमर्स एकदमै फस्टाउँदो अवस्थामा छ । सन् १९९० को मध्यदेखि अनलाइन खोजी र किनमेल बढेको छ जसले कुल खुद्रा बजारको ठूलो हिस्सा ओगट्दै आएको छ । सन् २०१८ को अन्त्यमा उपभोक्ताहरूले कुल बिक्रीको २८ प्रतिशत अनलाइनबाटै गरेको बताइन्छ ।