साप्ताहिक संवाददाता
गत साता प्रदर्शनमा आएको चलचित्र ‘पोइ पर्यो काले’का लेखक तथा निर्देशक शिशिर राणा चलचित्र रिलिज हुनु केही दिन अघिमात्र साप्ताहिकसँग चलचित्रको कथाका सम्बन्धमा बताउँदै थिए । ‘म ६–७ वर्षको हुँदा नै चलचित्रको कथा दिमागमा आइसकेको थियो । मेरी आमाले सानीमाका लागि केटा हेर्नुभएको थियो । हुनेवाला सानुबुवा कालो वर्णको हुनुहुन्थ्यो । सानोबुवा हेर्न आउने भएपछि आमाले सानोबुवाका बारेमा बताउनुभएको थियो’, उनले भनेका थिए, ‘यो चलचित्र बनाउने घोषणा भएपछि मैले सानोबुवा र सानीमालाई चलचित्रको कथा तपाईंहरूसँग केही हदसम्म मेल खान्छ भन्ने जानकारी गराएको थिएँ । उहाँहरूले चलचित्र हेर्ने इच्छा जाहेर गर्नुभएको छ ।’
चलचित्र हेर्दा उनले भनेका कुरामा एकरूपता पाइन्छ । कुनै पनि चलचित्र त्यसको कथाले मात्र राम्रो हुँदैन । कथाअनुसार कलाकारको अभिनय पनि राम्रो छ भने त्यो चलचित्रलाई दर्शक तथा समीक्षकले मन पराउँछन् । यी दुवै मामिलामा चलचित्र कमजोर देखियो भने दर्शक तथा समीक्षक दुवैलाई मानसिक तनाव हुन्छ । चलचित्र ‘पोइ पर्यो काले’मा नाम चलेका कलाकारको अभिनय भए पनि कथाअनुसार कलाकारले अभिनय गर्न नसक्दा चलचित्र फितलो बनेको छ ।
चलचित्रको कथा ‘कालो’ मानिसलाई घृणा गर्ने पूजा(पूजा शर्मा) र मनले सफा भए पनि रूपले कालो वर्णका गौरव (सौगात मल्ल) को विवाहको दृश्यबाट सुरु हुन्छ । कलेज अध्ययनरत पूजा आफूजस्तै गोरो र स्मार्ट केटासँग विवाह गर्न चाहन्छिन् ।
बाबुआमाले खोजिदिएको केटा भनेर केटाको फोटो नै नहेरी विवाहका लागि तयार भएकी पूजाले जग्गेमा गौरवले सिन्दुर हालिदिएपछि मात्र गौरवको अनुहार देख्छिन् । कालो वर्णलाई घृणा गर्ने पूजा आफ्नै पति कालो देखेपछि बाबुआमासँग रिसाउँछिन् र गौरवसँग बस्न नसक्ने कुरा बताउँछिन् । यद्यपि बाबुआमाले सम्झाएपछि उनी गौरवसँग बस्न राजी हुन्छिन् ।
पूजा कालो वर्णप्रति घृणा गर्छिन् भन्ने उनका साथीहरूलाई पनि थाहा हुन्छ । त्यसैले कलेजका एक कालो वर्णका पुरुष साथीले राखेको प्रेमप्रस्ताव उनले अस्वीकार गरिसकेकी छिन् । चलचित्रमा गौरवको भाइको भूमिकामा नील (आकाश श्रेष्ठ) ले अभिनय गरेका छन् । रूपले गोरा नील र काला गौरव खुबै मिल्छन् ।
यही मिल्ने स्वभावकै कारण केही समयका लागि नीलले पूजाको पति बनेको अभिनय गर्नुपर्ने अवस्था आउँछ । यद्यपि त्यो अभिनयले चलचित्रको कथामा केही ट्विस्ट आउँछ । त्यो ट्विस्ट थाहा पाउन चलचित्र नै हेर्नुपर्ने हुन्छ ।