आरके स्क्वायर पप रक प्यार्टन गीत गाउने ब्यान्ड हो । यसको स्थापना सन् २०१५ को अन्त्यमा बेलायतमा भएको हो । यो ब्यान्डमा दुई जना मात्र सदस्य छन् । भोकल र कम्पोजमा राज क्षेत्री तथा गितारिष्टमा केवल गुरुङ । यी दुवै जनाको जन्मस्थान पोखरा हो । केवलको रामबजार मिलन टोल अनि राजको तल्लो रामबजार । यद्यपि उनीहरूको भेट भने बेलायतमै भएको हो ।
दुवैको संगीतमा उस्तै रुचि थियो । अनि यी दुईको टिम जुट्यो । त्यसअघि केवल अर्को ब्यान्डमा थिए । राज एकल रूपमै संगीतमा सक्रिय थिए । त्यतिबेला लन्डनमा नेपालीहरूले नेपाली संगीतलाई लक्षित गरेर त्यतिसारो कार्यक्रम गरिरहेका थिएनन् । उनीहरूले एउटा ट्रेन्ड ल्याइदिए । युकेको प्लमस्टिड भन्ने ठाउँमा हरेक शुक्रबार पबमा नेपाली म्युजिक सुनाउने, उनीहरूको करियर त्यहींबाट सुरु भयो ।
आफ्ना गीत पर्याप्त थिएनन् त्यसैले उनीहरू त्यहाँ कभर गीत सुनाउँथे । पछि उनीहरूमा कभर नगर्ने भन्ने सोच आयो । गीत तयार गरी पहिलो एल्बम निकाले । उनीहरूको पहिलो गीत ‘लौन हो’ जुन २०१६ मा लन्डनस्थित ब्रेन्डेड स्टुडियोमा रेर्कड भएको थियो । त्यसमा ६ वटा ओरिजिनल गीत समावेश थिए जसले बिस्तारै यो ब्यान्डलाई चर्चामा ल्यायो । त्यतिबेला युके पुग्ने धेरै नेपाली कलाकारसँग काम गरे उनीहरूले । राष्ट्रिय स्तरका आर्टिस्टहरूसँगको भेट एवं सहकार्यले उनीहरूमा परिपक्वता थपिँदै गयो । ती कलाकारसँग बेलायत टुर गर्ने क्रममा उनीहरू आफ्ना ओरिजिनल गीत पनि सुनाउँथे ।
‘राष्ट्रिय स्तरका आर्टिष्टहरूले तपाईंहरूको काम राम्रो छ । नेपाल आउनुहोस्, यहाँ युकेको कामले मात्र पुग्दैन । तपाईंहरूका गीत राम्रा छन् भन्नुहुन्थ्यो’ ब्यान्डका भोकलिष्ट राज क्षेत्रीले भने । यसबाट उनीहरू हौसिए । केही गर्न सक्छौ भन्ने आत्मबल पनि बढ्यो । सन् २०१७ मा उनीहरू बेलायतबाट नेपाल आए नेपाल टुरका लागि । यो पहिलो एल्बमको लञ्च टुर थियो । कार्यक्रम अपेक्षाअनुरूप नै सफल भयो । त्यतिबेला उनीहरू नेपालका थुप्रै सहर पुगे ।
उनीहरूले अझै आफ्ना मौलिक गीतको कमीको महसुस गरे । सेकेन्ड एलबम रिलिज गरौं भन्ने हुटहुटी बढ्यो । किनभने कभरभन्दा ओरिजिनललाई पुस गर्नुपर्छ भन्ने उनीहरूको धारणा थियो । त्यसैले उनीहरूले वर्ष २०१८ लाई एल्बमका लागि समय दिए अनि सन् २०१९ मा दोस्रो एलबम ‘सुनचरी’ निकाले । अहिले फेरि टुरलाई नै फोकस गरी उनीहरू नेपालका विभिन्न ठाउँमा पुगिरहेका छन् ।
संगीतमा केही गर्न १२ वर्षपछि केवल र ९ वर्ष पछि राज नेपाल फर्किएर कस्सिएर लागिपरेका छन् । पार्ट टाइम काम गर्दै पढेका राज र केवल पछि अन्य काम छोडेर संगीतमै लागे । अहिले नेपालका मेजर सिटीका अतिरिक्त भित्र–भित्रका ठाउँमा समेत पुग्ने योजनाका साथ टुरमा हिँडिरहेका राज र केवल २२ वटा ठाउँमा कार्यक्रम गर्ने योजनामा छन् । केही ठाउँमा कार्यक्रम सम्पन्न भैसकेको छ भने थप ठाउँबाट पनि कुरा आएको उनीहरूको भनाइ छ । यो टुरमा उनीहरूले केही समयअघि रिलिज भएको आफ्नो दोस्रो एल्बम ‘सुनचरी’को प्रमोसन गरिरहेका छन् । अब भने एल्बमभन्दा पनि सिंगल गीतमा जोड दिने उनीहरूको योजना छ ।
अब बढी समय नेपालमा दिने उनीहरूको सोच छ । ‘आउने जाने भैरहेको छ । अब हामी नेपालमै केही गर्छौं । लामो समय नेपालमै बस्ने हो,’ –केवलले भने । ब्यान्डमा हामी दुई जना मात्र छौं, तर साउन्डचाहिँ पूरै ब्यान्डको आउँछ । यो वेस्टन टेक्नोलोजी हो । हामी अलिकति नयाँ तरिकाले गैरहेका छौं, –राजले जानकारी दिए । ब्यान्डका गीत राजले लेख्छन्, कम्पोजिसन तयार गर्छन् अनि गाउँछन् । म्युजिक भर्ने लगायतका काम केवलले पूरा गर्छन् अनि दुई जना बसेर त्यो गीतलाई पोलिस गर्छन् । केवल काठमाडांैको सुन्धारामा होटल पनि चलाउँछन् । राजको आफ्नै प्रोजेक्ट अनि फेमिली बिजनेस पनि छ । राजले युकेबाट एमबीए सकेका छन् भने केवलले म्युजिकमा ब्याचलर पूरा गरेका छन् ।
अहिले नेपाली संगीतमा ट्रेन्डिङको भुत चढेकोमा उनीहरू सन्तुष्ट छैनन् । राम्रो गीत भन्दा पनि नेपालमा अहिले अचम्म–अचम्मका गीत चलिरहेको उनीहरूको तर्क छ । ट्रेन्डिङमा नपर्ने आर्टिस्टले ठाउँ नपाउने चलन छ । राम्रो आर्टिस्टलाई ट्रेन्डिङले बिगारेको छ । गीत बजाउन मिडियाले समेत पैसा मागेको तितो अनुभव उनीहरूसँग छ ।