उनीहरू फरक–फरक विद्यालयमा अध्ययनरत छन् । सबै ह्यान्डबल खेल्न रुचाउँछन् । कसैले यसअघि नै प्रतियोगितामा भाग लिएर अनुभव हासिल गरिसकेका छन् । कोही भने पहिलो पटक प्रतियोगितामा भाग लिन पुगेका हुन् । त्यसैले उनीहरू सबै उत्साहित देखिन्छन् । उनीहरूको खेल कौशलमा निखार ल्याउन प्रशिक्षकले सहजीकरण गरिरहेका छन् । प्रशिक्षकको प्रशिक्षण एवं आफ्नो मेहनतका कारण खेल कौशलमा सुधार आएकोमा छात्रछात्राहरू पनि प्रफुल्लित देखिन्छन् । यो दृश्य हो पोखरा, सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयको । लिटिल स्टेपले छात्र–छात्रा ह्यान्डबल प्रतियोगिता आयोजना गरेर विद्यार्थीमा खेल्ने, हेर्ने र सिक्ने अवसर प्रदान गरेको थियो ।
लिटिल स्टेपले विगत १० वर्षदेखि निरन्तर ह्यान्डबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो प्रतियोगिताले ह्यान्डबल खेल्ने १२ वर्षमुनिका बालबालिकालाई प्लेटफर्म प्रदान गर्छ । यसमा पोखराका विभिन्न विद्यालयका १२ वर्षमुनिका ५ कक्षासम्म अध्ययरत छात्र–छात्रा मात्र सहभागी हुन्छन् । प्रतियोगितामा छात्रतर्फ गण्डकी बोर्डिङ स्कुल तथा छात्रातर्फ माउन्ट अन्नपूर्ण आवासीय मावि विजेता भएका थिए ।
नयाँ–नयाँ साथीहरूसँग खेल्न पाउँदा मात्र होइन, विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीको खेल कौशल हेर्न तथा आफ्ना गल्ती–कमजोरी सुधार्ने अवसर पाउँदा छात्रछात्राहरू निकै हौसिए । सबैको लक्ष्य अनुभव हासिल गर्ने र विजेता बन्ने नै हो, तर सबै विजेता बन्न सम्भव थिएन ।
बीएमजी स्कुलमा कक्षा ५ मा अध्ययनरत विनिसा गुरुङ पहिलो पटक प्रतियोगितामा भाग लिन पाएकोमा निकै खुसी थिइन् । सिर्जना आवासीय माविमा कक्षा ५ मा अध्ययनरत डेविड क्षेत्रीले प्रतियोगितामा भाग लिँदै नयाँ–नयाँ साथीहरूसँग भेट्न तथा खेल कौशल सिक्न पाउँदा रमाइलो लागेको बताए । जीबीएसमा अध्ययनरत प्रज्वला पण्डितले साथीहरूसँग मिलेर खेल्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिइन् ।
पोखरामा ह्यान्डबल खेलप्रतिको आकर्षण बढिरहेको छ । यहाँ ह्यान्डबलका लागि चाहिने पूर्वाधार समेत निर्माण भैरहेका छन् । यसले नयाँ खेलाडी उत्पादनमा मात्र नभएर यसतर्फको आकर्षणमा समेत वृद्धि गरेको छ ।
अहिले पोखराका झण्डै ७० वटा स्कुलमा ह्यान्डबल खेलिने दक्षिण एसियाली ह्यान्डबल महासंघका उपाध्यक्ष एवं नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए । नेपाल ह्यान्डबल संघको उद्देश्यअनुसार स्कुल लेभलबाट ग्रास रुटमा ह्यान्डबल खेलाडी उत्पादनसँगै उनीहरूको वृत्ति विकासका लागि विभिन्न तालिम एवं प्रतियोगिताको आयोजनाले सकारात्मक परिणाम दिन थालेको गुरुङको जिकिर छ । पोखरामा विद्यालय स्तरका २ सय टिमको महोत्सव आयोजना
गर्ने तयारीसमेत भैरहेको गुरुङले जानकारी दिए ।
बालबालिकामा मात्र नभएर विभिन्न तहगत प्रतियोगिताको आयोजनाले नेपालमा ह्यान्डबल खेल लोकप्रिय भैरहेको छ । यसको विकासमा राज्यले गरेको लगानीमा भने सन्तुष्ट हुने अवस्था छैन । ह्यान्डबलको विकासका लागि बृहत् रूपमा लाग्नुपर्ने र सोही अनुसारका पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ ।
खेल्दा रमाइलो हुने तथा हौसला बढ्ने भएकाले नियमित पढाइका अतिरिक्त यस्ता खेल गतिविधिले बालबालिकामा नयाँ ऊर्जा सञ्चार गर्छ । प्रतियोगितामा पदक जित्नुभन्दा पनि हरेक सहभागी खुसी हुने खालका उत्प्रेरणामूलक सन्देश दिनसके बालबालिकाको विकासमा सकारात्मक प्रभाव पर्छ । ह्यान्डबल खेलको तल्लो स्तरबाटै भैरहेको विकासले विद्यार्थीहरूको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने लिटिल स्टेप माध्यमिक विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङले बताए ।
नेपालमा वि.सं. २०३८ सालमा ह्यान्डबल खेल भित्रिएको हो । अहिले पोखरा, उदयपुर, सुर्खेत, कैलाली, काठमाडौं आदि ठाउँका अतिरिक्त नेपाली सेना तथा सशस्त्र प्रहरीमा यो खेल नियमितजसो खेलिँदै आएको छ ।