बलिउडका सुपरस्टार शाहरुख खान एउटै चलचित्रबाट करोडौं पारिश्रमिक लिन्छन् । विश्वभर लाखौं फ्यान छन् । उनी संसारकै धनी कलाकारको सुचीमा समेत पर्छन् ।
बलिउडका सर्वाधिक भाग्यमानी कलाकार उनै शाहरुख जन्मिएको दिन हो आज । १९६५ नोभेम्बर २ आजकै दिन जन्मिएका उनी आज शनिबार ५४ बर्षमा टेकेका छन् । उनले आफ्नो जन्मदिन मुम्बईमा रहेको आफ्नै बंगाला ‘मन्नत’मा मनाए ।
घाम नअस्ताउँदै उनको घर अगाडी फ्यानहरु जम्मा भएका थिए । मध्यरातसम्म फ्यानहरुको थामिनसक्नु भिड लाग्यो । भिड बढेसँगै शाहरुख मध्यरात घरको बालकोनीबाट निस्किएर आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिए । शाहरुख मध्यरातमा झुल्किएसँगै घण्टौंदेखि पर्खिएका समर्थकहरु निकै खुसी भए । शाहरुखले प्रत्येकबर्ष यस्तै गरेर फ्यानहरुसँग आफ्नो जन्मदिन मनाउने गरेका छन् ।
०००
हेर्दा के लाग्छ भने शाहरुखलाई नपुग्ने केही छैन । जे चाह्यो त्यो पुग्छ उनलाई । तर, किङ खानको जीवनशैली हामीले सोचे जस्तो पनि छैन । मनै न हो, जसको पनि दुख्छ । उनको पनि दुख्छ । कहिले चलचित्र फ्लप हुँदा । कहिले साथिभाईहरुका कारण । कहिले परिस्थितीका कारण । समय–समयमा जव शाहरुखको मन रुन्छ अरुको अघि आँसु झार्दैनन् । बाथरुम छिर्छन् । चुकुल लगाएर रुन्छन् । शाहरुखले केहि समयअघि बाथरुमको ढोका बन्द गरेर मज्जाले रुने गरेको खुलासा गरेका थिए । शाहरुखले ‘सफल र असफल मानिसको हातमा टिक्ने कुरा नरहेको भन्दै थप्छन्, ‘दुबै परिस्थितीमा मान्छे रुन जान्नुपर्छ । किनकी यी दुबै कुरा सबैसँग सधै टिक्दैन ।’
०००
शाहरुख खान धेरै बर्षको संघर्षपछि पो बलिउडका बादशाह भए । तर, कुनै बेला शाहरुखले मुम्बईको सडकमा रात कटाए । भोक भोकै संघर्ष गरे । क्यैययन पटक हार व्योहोरे । २५ अक्टुबर १९९१ मा गौरीसँग बिहे गरेका शाहरुखका अहिले तीन सन्तान छन् आर्यन, सुहाना, अब्राम ।
चलचित्रमा विभिन्न भुमिकामा देखिने शाहरुखका र गौरी खानको प्रेम कहानी निकै रोचक छ । उनको जोडीलाई आदर्शको जोडीका रुपमा समेत लिइन्छ । पहिलो भेटमै एक अर्काप्रति आकर्षित भएका उनीहरुको पहिलो डेट दिल्लीमा भएको हो । गौरीको साथी कामनाले आयोजना गरेको पार्टीमा भेट भएका उनीहरुमध्ये शाहरुख सुरुमै मुख खोलेका थिए । शाहरुखले गौरीलाई थाहा नदिएर नम्बर पत्ता लगाए । अनि सुरु भयो, शाहरुख र गौरीको प्रेम कहानी ।
०००
सन् १९९२ मा चलचित्र ‘दिवाना’बाट बलिउडमा अभिनय यात्रा तय गरेका शाहरुखले चलचित्रको २७ वर्षे करियरमा ३ सयको हाराहारी एवार्ड हात पारेका छन् । उनले पाउन बाँकी कुनै एवार्ड छैन । त्यसो त शाहरुखले हरेक चलचित्र आफ्नो करिअरका लागी महत्वपुर्ण रहेको बताउँदै आएका छन् । तर, शाहरुखको करिअरमा केहि त्यस्ता चलचित्र छन्, जो निकै हिट भए । शाहरुखको स्टारडम बढाउन ति चलचित्रको महत्वपुर्ण भुमिका छ ।
बलिउड डेब्यु गरेको ४ वर्षमै १९९५ मा ‘दिलवाले दुल्हनिया ले जाएंगे’बाट शाहरुखले पहिलो पटक बक्सअफिस लिड गरेका थिए । यो चलचित्रले उतिबेला विश्वव्यापी १ सय २३ करोड कलेक्सन गरेको रेकर्ड छ । शाहरुखको करियरमै सर्वाधिक चलेको यो चलचित्र अहिले पनि भारतका केहि हलमा प्रदर्शन भैरहेको छ ।
शाहरुख खान, माधुरी दिक्षित, करिश्मा कपूर र अक्षय कुमार अभिनित ‘दिल तो पागल हे’ले १९९७ मा वर्षकै सर्वाधिक कलेक्सन गरेको थियो । विश्वव्यापी करिब ७२ करोड कलेक्सन गरेको यो चलचित्रका केहि गीत अहिले पनि उत्तिकै हिट छन् ।
शाहरुखको अर्को चलचित्र ‘कुछ कुछ होता हे’ १९९८ को सर्वाधिक हिट चलचित्र हो । शाहरुख, काजोल, सलमान खान, रानी मुखर्जी अभिनित यो चलचित्रले त्यतिबेला विश्वव्यापी १ सय ७ करोड कलेक्सन गरेको थियो ।
मल्टीस्टार चलचित्र ‘मोहबते’ले सन् २००० मा विश्वव्यापी ९० करोड कलेक्सन गर्दै वर्षको सर्वाधिक हिट चलचित्र भयो । चलचित्रमा शाहरुखसहित अमिताभ बच्चन र ऐश्वर्या राय बच्चन लगायत थुप्रै कलाकारको अभिनय थियो ।
शाहरुखको करिअरको अर्को हिट चलचित्र हो, कभी खुसि कभी गम । यो चलचित्रले विश्वव्यापी १ सय ३६ करोड कलेक्सन गर्दै उक्त बर्षको सर्वाधिक धेरै कमाउने चलचित्र समेत बनेको थियो ।
शाहरुखलाई हिट बनाउने अर्को चलचित्र हो, देबदास । यो चलचित्र शाहरुखको करियरका लागी मात्रै होइन बलिउडका इतिहासले सधै सम्झने चलचित्र समेत हो । त्यस्तै चलचित्र ‘कल हो ना हो’ अर्को हिट चलचित्रमा पर्छ । यो चलचित्रले उतिबेला विश्वव्यापी ८६ करोडको व्यापार गरेको थियो ।
२००४ मा प्रदर्शन भएको चलचित्र ‘वीरजारा’ शाहरुख आफैको सलेक्टेड चलचित्र समेत हो । यो चलचित्रले उक्त वर्ष ९८ करोड विश्वव्यापी कलेक्सन गरेको थियो ।
शाहरुखको अर्को हिट चलचित्रमा पर्छ, ओम शान्ति ओम । फराह खानको निर्देशनमा तयार भएको यो चलचित्रले उक्त साल विश्वव्यापी १ सय ५० करोड कलेक्सन गरेको थियो । यहि चलचित्रबाट अहिलेकी सर्वाधिक हिट अभिनेत्री दीपिका पादुकोणले बलिउडमा डेब्यु गरेकी थिइन् ।
त्यस्तै, ‘चेन्नई एक्सप्रेस’ शाहरुखको करिअरकै सफल चलचित्रमा पर्छ । २०१३ मा प्रदर्शन भएको यो चलचित्रले ४ सय २३ करोडको विश्वव्यापी कलेक्सन गरेको थियो ।
०००
केहि बर्षयता लगातार उनले काम गरेका चलचित्र असफल छन् । उनले सोचेजस्तो भैरहेको छैन । सोहि कारण चलचित्र ‘जीरो’ को प्रदर्शनपछि नयाँ चलचित्रमा अभिनय गर्नका लागि सम्झौता गरेका छैनन् । यो कुराले उनका प्रसंशकहरु निकै निराश छन् । शाहरुखबारे संचारमाध्यममा लगातार विभिन्न समाचार छापिएपछि उनले केहि समयअघि मुख खोलेर आधिकारिक धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘नयाँ चलचित्रको काम सुरु भएपछि आफै जानकारी गराउनेछु, अहिले कुनै प्रोजेक्टमा साइन गरेको छैन ।’