साप्ताहिक संवाददाता
किशोर नेपाल
यसपालाको तिहारमा मज्जा आयो । खल्तीमा पैसा नभए पनि मज्जा आएको तिहार यसैपाला थियो । तिहारको मज्जा लिन खल्तीमा पैसा हुनै पर्ने भ्रम टुटेको पनि यसै वर्ष हो । राप नभएको घाम, ताप नपुगेको ज्यान । बाटामा साथीभाइहरू र्याप गाउँदै थिए । सुनियो,
‘माला किन्न गएको छोटो माला पायो
दाख छोहरा, काजु मसला मुसाले खायो
मिठाईमा फोहोर पस्यो, जलेबी हरायो
गुणस्तरको हाकिम सित्तैंमा करायो ।
ठूल्ठूला बिमिरो सडकमा हरायो
पशुपतिको बाँदरले कटुस टिपी खायो ।’
यो एउटा नमुना थियो र्याप गीतको ।
र्यापरहरू गाउँदै थिए । उनीहरूको आवाज चर्किंदै थियो– हामी मान्छे नै खत्तम । हामी मान्छे नै खत्तम । हामी मान्छे नै खत्तम ।
सुनेर तन्नेरीहरूको भीड रमायो– हामी मान्छे नै खत्तम । हामी मान्छे नै खत्तम ।
पिच्च, पिच्च– सरकार बोल्यो कसैले नांगो हिँड्छु भन्दैमा त्यसलाई नांगै हिँड्न दिन सकिँदैन । पिच्च, पिच्च ।
पिच्च, पिच्च– हातमा लामपाते माड्दै पुलिसले पनि समाज र संस्कृतिको कुरा निकाल्यो । भन्यो समाज र संस्कृतिको रच्छे हामीले नगरे कसले गर्ने ? सारा मुद्दा थाती राखेर, प्राथमिकताहरू पर सारेर, प्रहरी गायक खोजी हिँड्छ, कविको कठालो समात्छ । कान्तिपुरको पत्रकार जनक सापकोटाले ट्विटमा लेख्यो । क्या गज्जब लेख्यो ।
समृद्धिको काठमाडौं–केरुङ राजमार्गमा दौडी रहेको सरकार र्यापमा अलमलियो । भनौं र्यापले सरकारलाई अल्मल्यायो । र्यापरहरूले भने, हाम्लाई राजमार्ग चाहिन्न । हामीले गाउने गीतमाथि रोक लाउन पाइन्न । एक हुल मानिसले सरकारको गिल्ला गरे– र्याप नसुन्नेले भजन सुने त सक्किगो नि !
दाँतका डाक्टर दिनेश कार्कीले अंग्रेजी भाषामा फेसबुक स्टेटस लेखे :
रेपर्स वाक स्कट फ्री,
र्यापर्स गेट अरेस्टेड,
नेपाल !
३ जय नेपाल
डाक्टरको स्टेटसलाई राजेश मिश्र र अन्य दुई जनाले मन पराए ।
पुलिस थानामा थुनिएका र्यापर समीर घिसिङ भिटेनलाई डेंगु लागेको भए के हुन्थ्यो ? यो नालायक सरकारले कहिल्यै सोचेको छ ? आखिर डेंगु, मलेरिया र
हैजाको सुरुवात हुने नै थानाबाट हो । यो सत्यलाई कसैले झूठो सावित गर्न सक्दैन ।
मन्त्रीजी सुर्ती सेवन गर्छन् कि क्या हो ? पिच्च, पिच्च । थुकेको थुक्यै छन् । कसैले हेर्यो भने भनी देलानजस्ता छन्– हामी यस्तै त हो नि ब्रो π मन्त्रीजी रमाइला भए पनि बानी बेहोरा खतम छ । अचेल नियमित बर्बराउँछन्– हेप्नी ? दुइतिहाइलाई हेप्नी ?
तेइ त π दुइतिहाइलाई हेप्नी ?
मण्डलामा र्यापरहरूको भेला भयो भने अहिलेको समयलाई कसरी व्याख्या गर्लान ?
सृष्टिमा बबाल, डेंगुको कमाल, जेब्राक्रसको प्रयोग गर्ने पत्रकार, घाइते हुने पत्रकार, जनता के जान्न चाहन्छन् ? थाहा छैन पत्रकार, मण्डलामा हाहाकार, हामी यस्तै त हो नि ब्रो π
हो हामी यस्तै त हो नि ब्रो !
अनुप काफ्ले काठमाडौं पोष्टका सम्पादक हुन भन्ने धेरै र्यापरलाई थाहा छैन होला । उनले नेपालीले बुझनै पर्ने कुरा ट्विट गरेका छन् । उनको भनाइको सार छ– नेपाली जनताले भिटेनको गीत, दुर्गेशको संगीत र प्रनेशको ख्याल–ख्याल मन पराउनु पर्दैन । यति बुझे पुग्छ, जनताले के गाउने के नगाउने ? यो सरकारले भन्ने कुरो होइन । जनता सिद्धान्तमा अडिनुपर्छ ।
तर, दुनियाँ त्यस्तो छैन । जस्तो कि, सबै आमाबाबु आफ्ना छोराछोरीले पौष्टिक खानेकुरा खाउन भन्ने चाहन्छन् र ‘टु मिनट इन्स्ट्यान्ट’ चाउचाउ किनेर ख्वाउँछन् । छोराछोरीले अरू खानेकुराको स्वादै थाहा पाउँदैनन् । गैरसरकारी एफएम रेडियोमा र्यापरको आवाज घन्की रहेको हुन्छ– ‘सधंै चाउचाउ खाउँ भन्छ, सधंै चाउचाउ खाउँ भन्छ । तिहारको बेला सेल रोटी खान्न भन्दै पिच्च पिच्च गर्छ । सधंै चाउचाउ खाउँ भन्छ, सधंै चाउचाउ खाउँ भन्छ । पिच्च पिच्च गर्छ ।’
अनि, अनुपको ट्विटमा एउटा ‘भिषा’ भन्ने र्यापरले जवाफ दिएछ : अंकल, मन हुनेले सडकमा नांगै हिँडौं, हेर्न मन नहुनेले आँखामा कालोपट्टी बाँधेर हिँड्छन् ।
कति महान विचार । कुनै दिन साँच्चै त्यस्तो भयो भने कि त सबैले आँखामा कालोपट्टी बाँधेर हिँड्लान, कि त सबै नांगै हिँड्लान ।