साप्ताहिक संवाददाता
आइएमई नेपाल लिटरेचर फेस्टिभलको जनकपुर संस्करण यही कात्तिक २२, २३ र २४ मा आयोजना हुने भएको छ । सन् २०११ मा सुरू भएको देशको पहिलो र एक्लो अन्र्तराष्ट्रियस्तरको साहित्य महोत्सवको यो पहिलो स्थानीय संस्करण हो ।
जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवका निर्देशक अजित बरालले नेपाल लिटरेचर फेस्टिभल सुरू गरेको केही वर्षदेखिनै आफूहरुलाई अन्य ठाउँमा पनि महोत्सव लैजान अनुरोध आउन थालेको बताए । ‘महोत्सवले हाम्रो सार्वजनिक वृत्त फराकिलो बनाउने, साहित्यको प्रवद्र्धन गर्ने र ज्ञान उत्पादन एवम् प्रसारणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महोत्सवका स्थानीय संस्करण विभिन्न ठाउँमा आयोजना गर्नुपर्छ भन्ने लागेको हो,’ बरालले भने, ‘तर विभिन्न कारणले त्यसो गर्न सकेका थिएनौं । अहिले आएर फेस्टिभलको जनकपुर संस्करण आयोजना गर्न पाउँदा औधी खुसी लागेको छ ।’ लामो समय बौद्धिक एवम् राजनीतिक जागरणको केन्द्र रहेको तर अहिले त्यो छवि गुमाउदै गएको जनकपुरमा साहित्य महोत्सव आयोजना गरेर यसको पुनरूत्थानमा सहयोग पुर्याउनु आफूहरुको उद्देश्य रहेको उनको भनाई छ ।
नेपाल भ्रमण वर्ष २०२० का प्रदेश २ संयोजक तथा फेस्टिभलको जनकपुर संस्करणका स्थानीय आयोजक मनीष झाले जनकपुरको साहित्यिक इतिहास पुरानै भए पनि यसलाई जनकपुरको आध्यात्मिक पाटोले छोप्दै आएको बताए । ‘त्यही पाटोलाई उजागर गर्न फेस्टिभल आयोजना गर्न लागिएको हो । विगतको राजनीतिक अन्योलता एवम् अस्थिरताका कारण जनकपुरको नकारात्मक छवि स्थापित भएको थियो,’ उनले भने, ‘तर अहिले जनकपुरमा तीव्र गतिमा धेरै परिवर्तन भइहरेका छन् । ती परिवर्तनलाई हामी यसै फेस्टिभलमार्फत देखाउन चाहन्छौं ।’ साथै साहित्यक पर्यटनमार्फत जनकपुरको प्रवद्र्धन गरी आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनु पनि फेस्टिभलको उद्देश्य रहेको उनको भनाइ छ । साहित्यसँग पुरानो पुस्ताका जनकपुरवासीको गहिरो रुचि भए तापनि अहिले युवा पुस्ता साहित्यबाट विमुख हुादै गएको र तिनीहरुलाई साहित्यतर्फ आकर्षित गर्न पनि फेस्टिभल आयोजना गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको उनले बताए ।
तीन दिन चल्ने फेस्टिभल जानकी मन्दिर, विवाह मण्डप, गङ्गासागर, गोपाल धर्मशाला र जनकपुर रेलवे स्टेसनमा सञ्चालन हुनेछ । फेस्टिभलमा १२ ओटा सत्रमा विभिन्न महफ्वपूर्ण विषयमा छलफल हुनेछन् । फेस्टिभलको मुख्य प्रवचन विद्वान् प्रदीप गिरीले दिनेछन् । जानकी मन्दिरको प्राङ्गणमा आयोजना हुने उक्त प्रवचनमा गिरीले जनकनन्दिनी सीतामाथि विचार राख्नेछन् ।
‘प्रदेश वा परदेश’ नामक सत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लेखक/पत्रकार सुधीर शर्मासँग बहस गर्नेछन् । ‘सम्मान, स्वाभिमान र अभिमान’ सत्रमा प्रदेश २ की सांसद रानी शर्मा, पत्रकार किरण नेपाल र प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाबीच संवाद रहनेछ । सांसद गगन थापाले उक्त सत्र सञ्चालन गर्नेछन् । ‘बहुभाषिक कविता वाचन’, ‘साहित्यमा मधेसी पात्रमाथि बहस’, ‘जनकपुरका महत्वपूर्ण साहित्यिक स्रष्टाहरुको योगदान’, ‘मधेसको भोजन संस्कृति’लगायतका विषयमा फेस्टिभलमा चर्चापरिचर्चा हुनेछ ।