साप्ताहिक संवाददाता
मीठा–मीठा र ख्याल–ख्यालका कुरा गर्न रूचाउने अध्यक्ष शर्माले नेपाली भलिबललाई एक स्थानसम्म त पुर्याए, तर उनको नेतृत्वको कार्यसमिति त्यस्तो छैन, जसले थप काम गर्न सकोस् । संघमा भित्रसम्म पहुँच भएकाहरूको कुरालाई मान्ने हो भने यसमा अझै धेरै कमी–कमजोरी विद्यमान छन्, संघ आफैं व्यवसायिक हुन सकेको छैन् । यो खेलमा धेरै प्रायोजक पनि भित्रिएका छन्, तर त्यसको सही व्यवस्थापन हुन सकेको छैन ।
कुनै पनि देशको राष्ट्रिय खेल भनेर कुनै एक खास खेललाई बढी महत्त्व दिनु ठीक छ कि छैन, यो बहसकै विषय हो । नेपालको राष्ट्रिय खेलका रूपमा भलिबललाई चयन गरिएको धेरै भएको छैन । औपचारिक रूपमै भलिबल नेपालको राष्ट्रिय खेल हो अथवा होइन भन्ने विषयमा पनि एक प्रकारको अन्यौल छ, किनभने अझै पनि सबै प्रक्रिया ऐनअनुसार पूरा भैनसकेको मानिन्छ, तर एउटा तथ्य के निश्चित छ भने नेपालमा सर्वाधिक लोकप्रिय खेलमध्ये भलिबल शीर्ष स्थानमै छ ।
यो खेलको जत्तिको प्रतियोगिता अरू खेलमा विरलै भएका होलान् । यो खेलले जत्तिको लगातार चर्चा र समाचारमा स्थान अरू खेलले कमै पाएका हुन्छन् । सायद यो नै भावनात्मक रूपमा भलिबल नेपालको राष्ट्रिय खेल हो भन्ने प्रमाण हुन सक्छ । त्यसभन्दा ठूलो तथ्य त के हो भने नेपाली खेलकुद बजारमा भलिबल मज्जाले बिक्छ । फुटबल र क्रिकेटपछि भलिबल नै त्यस्तो खेल हो, जसमा दर्शकहरूले टिकट काटेर खेल्न हेर्न पटक्कै कन्जुस्याइँ गर्दैनन् ।
त्यसो भए नेपाली खेलकुदमा भलिबललाई मज्जाले बजारीकरण गर्न सकिन्छ त ? भलिबलको अबको बाटो के हुन्छ ? भलिबल नेपालको राष्ट्रिय खेल भयो भनेर यत्तिमै खुसी मानेर बस्ने कि अगाडि बढ्ने ? नेपाली भलिबलको यथास्थितिलाई नै खुसीले स्वीकार गर्ने कि यसलाई थप विकास एवं विस्तार गर्ने ? यी नेपाली भलिबलले सामना गरेका प्रश्न हुन् । केही समयअघि नेपालले एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप आयोजित गर्यो । यो नै नेपालले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो र वृहत अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
त्यहाँ पनि स्पष्ट रूपमा देखियो, नेपालमा भलिबलको क्रेज राम्रै छ । नेपालले खेलेका खेलमा दर्शकको घुँइचो थामिनसक्नु थियो । बरु गुनासो के थियो भने पैसा तिरेर पनि राम्रोसँग खेल हेर्न सकिएन । यहाँ नेपाली भलिबलका स्टार खेलाडी मानबहादुर श्रेष्ठको भनाइ सापटी लिनु ठीक हुन्छ । श्रेष्ठ भन्छन्, ‘केही वर्षयता नेपालमा भलिबलको लोकप्रियता मज्जाले बढेको छ । दर्शकको बाक्लो उपस्थिति यसको सबैभन्दा ठूलो प्रमाण हो ।’
लामो तर कमजोर इतिहास
२०७४ जेठ ८ को मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो, भलिबल नै नेपालको राष्ट्रिय खेल हो । यसका पछाडि प्रस्तुत गरिएका तर्क थिए, यो नेपालको भौगोलिक विकटतामा पनि राम्रैसँग खेल्न सकिन्छ । अन्य खेलको तुलनामा यसमा थोरै लगानी भए पुग्छ अनि यसको पहुँच पूरा देशमा छ । हुन पनि यी सबै दाबी सत्य हुन् । फेरि नेपालमा भलिबलको इतिहास पनि निकै लामो छ, तर गर्व गर्न लायक इतिहास भने कोर्न सकिएको छैन ।
खासै धेरै वर्ष भएको छैन, नेपालमा भलिबलले अहिलेको गति समातेको, १४ वर्षअघिसम्म पनि नेपालमा एउटै घरेलु प्रतियोगिता हुन गाह्रो हुन्थ्यो र यी सबैको अपजस नेपाल भलिबल संघका तत्कालीन अध्यक्ष गंगाबहादुर थापाले लिनैपर्ने हुन्छ । नेपाली भलिबलले चाहेजत्तिको विकास गर्न नसकेको दोष उनैलाई जान्छ, किनभने थापाले यो संघमा अध्यक्ष कायम रहन उत्सुकता त देखाए, तर प्रतियोगिता गर्न कुनै रुचि देखाएनन् ।
त्यो त्यस्तो समय थियो, जति बेला नेपाली भलिबल लगभग मृत स्थितिमा थियो । त्यसयता संघमा आए, दानबहादुर तामाङ । अध्यक्षका रूपमा उनी संघमा आएपछि भलिबलले गति लिन थाल्यो । एकपछि अर्को प्रतियोगिता हुन थाले । कहिले कहाँ कुन प्रतियोगिता, सेमिनार, प्रशिक्षण हुन्छ भनेर भलिबलको क्यालेन्डर नै तयार गरियो । त्यसबीच नेपाली भलिबललाई उकास्न निजी क्षेत्रको पनि उत्तिकै योगदान रह्यो । त्यसपछि भलिबलले लिएको गतिमा थप तीव्रता ल्याउने काम गरे, नयाँ तथा अहिलेका अध्यक्ष मनोरञ्जन शर्माले ।
शर्माको नेतृत्वमा यो खेलले फड्को नै मार्यो । अध्यक्ष शर्माले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नु पर्छ भनेर अथक प्रयास गरे अनि उनकै परिश्रमको परिणामस्वरूप नेपालले एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको आयोजना गर्ने अवसर पायो । यो त्यही प्रतियोगिता हो जसले प्रस्ट पारेको छ, अब यहाँबाट अघि बढ्ने हो भने व्यवस्थापन अझ चुस्त हुनुपर्छ । नेपाली भलिबललाई सफलतासम्म पुर्याउन यत्तिको व्यवस्थापनले पुग्दैन ।
मीठा–मीठा र ख्याल–ख्यालका कुरा गर्न रूचाउने अध्यक्ष शर्माले नेपाली भलिबललाई एक स्थानसम्म त पुर्याए, तर उनको नेतृत्वको कार्यसमिति त्यस्तो छैन, जसले थप काम गर्न सकोस् । संघमा भित्रसम्म पहुँच भएकाहरूको कुरालाई मान्ने हो भने यसमा अझै धेरै कमी–कमजोरी विद्यमान छन्, संघ आपंैm व्यवसायिक हुन सकेको छैन् । यो खेलमा धेरै प्रायोजक पनि भित्रिएका छन्, तर त्यसको सही व्यवस्थापन हुन सकेको छैन । अझ भनौं, संघले सिक्नुपर्ने कुरा धेरै छन् ।
शर्मा आफैं पनि भन्छन्, ‘हामीले धेरै काम गरेका छौं र निश्चित छ, हामीले गर्नु पर्ने काम अझ धेरै छन् ।’ संघको व्यवस्थापक कमजोर रहनु नेपाली भलिबल विकासका लागि सबैभन्दा ठूलो समस्या हो । अबको केही समयमा संघमा नयाँ नेतृत्व आउनेछ, किनभने नयाँ कार्यसमितिको निर्वाचन नजिकै छ । नयाँ नेतृत्वमा को आउने छन् त ? प्रश्न अहिले नै उठ्न थालेको छ । सबै मान्छन्, अबको नेतृत्व अझ व्यवसायिक हुनु पर्छ, अहिलेको जस्तो सोचले मात्र पुग्दैन ।
कच्चा अन्तर्राष्ट्रिय पहुँच
नेपाली भलिबल आफैमा कहाँ छ ? दक्षिण एसियाकै कुरा गर्दा अहिले तत्काल नेपालले जतिसुकै मेहनत गरे पनि जित्ने भनेको बढीमा कांस्य पदक हो । नेपालले अहिलेसम्म दक्षिण एसियाली खेलकुदमा हात पारेको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै कांस्य पदक हो । नेपाली भलिबल यही कांस्य पदकको उपलब्धिभन्दा माथि उठ्न सकेको छैन् । यो महिला र पुरुष दुवै विधाको समान कथा हो ।
नेपाली भलिबलको अर्को समस्या हो, नेपालमा जतिसुकै घरेलु प्रतियोगिता भए पनि त्यसले यो खेलको लोकप्रियता त बढाएको छ, तर स्तर बढाएको छैन । एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खेलेको नेपाली टिमका प्रशिक्षक थिए, हान आबङी । यी डच प्रशिक्षक अहिले आफ्नो जिम्मेवारी पूरा गरेर स्वदेश फर्किसकेका छन् तर उनले भनेका कुराले नेपाली भलिबल कहाँ छ, त्यसलाई ठीकसँग देखाउँछ । हान भन्छन्, ‘नेपाली भलिबलले गर्नु पर्ने धेरै छ ।’
त्यही प्रतियोगिताकै क्रममा यी प्रशिक्षकले अनुभव गरेको तथ्य के पनि हो भने नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजरकै कमी छ । नेपाली खेलाडीले धेरै भन्दा धेरै घरेलु प्रतियोगिता त खेल्छन्, तर त्यसको तुलनामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छैन । सबैलाई के राम्रोसँग थाहा छ भने घरेलु प्रतियोगिता खेल्नु र त्यसकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुमा आकाश जमिनको अन्तर छ । अबको नेपाली भलिबलको चुनौती भनेको यही हो— अन्तर्राष्ट्रिय प्रतियोगिता मज्जाले खेल्न सक्ने टिम तथा खेलाडी तयार पार्ने ।
यो खेलले एउटा निश्चित यात्रा पक्कै पनि तय गरेको छ, यसका लागि सहयोग गर्ने सबै धन्यवादका पात्र छन्, तर यहाँबाट पनि अघि बढ्ने हो भने यतिले मात्र पुग्दैन । गर्नुपर्ने काम धेरै छन् । सबैभन्दा ठूलो कुरा संघ आफैंमा व्यवसायिक हुनुपर्छ अनि संघले त्यसै अनुरूप व्यवसायिक टिम बनाउनुपर्छ । यी सबैलाई थाम्न सक्ने नेपाली भलिबल प्रेमी भने धेरै छन् र उनीहरूकै धारणा हो— नेपाली भलिबलले अझ विकास गरोस् ।