कुमारी मनमा प्रेमको पहिलो आरोहण । पहिलो प्रेम लाग्छ, प्रेम भावना मात्र नभै शाश्वत अस्तित्व हो सबैको जीवनमा । त्यो प्रथम पाइला मेरो स्मृतिमा सधैं ताजा, प्रिय र रुमानी छ । पहिलो प्रेमको स्मृतिले सधैं मलाई किशोरी बनाउँछ । जति उमेरको सिँढी उक्लन्छु उति प्रिय र नयाँ लाग्छ त्यो अतित अनि म आफूलाई नवयौवना महसुस गर्छु । माघको चिसो दिन, कलेजको छतमा घाम ताप्ने क्रममा परिचय भएको थियो ऊसँग । रातो सर्ट र मसिनो गरी राखेको जँुगा अहिलेजस्तै लाग्छ हाँसेर गरेको परिचय । २१/२२ को ऊ र म १८/१९ की । कविता लेख्थेँ म, ऊ पनि लेख्थ्यो । दुई–चार दिनपछि एक दिन एउटा कविता सुनाउँदै भन्यो कस्तो छ ? माया र चाहनाले भरिएको गुलाबी प्रणयको दस्तावेज जस्तै सुन्दर थियो त्यो कविता । त्यतिबेला धेरैजसो प्रेमका कविता र गीत नै प्रिय लाग्थे मलाई ।
कति राम्रो कविता मैले प्रशंसा गरेँ । मोबाइल–इन्टरनेट थिएन । फोन पनि सामान्य थिएन । कलेजमा भेट हुने अनि फर्कंदा केही वरसम्म सँगै, त्यसपछि बाटो अलग । दिनभरि कल्पनामा रमायो, कलेजमा गरेका कुरा सम्झियो, आफैँसँग हाँस्यो । कलेजबाट फर्कंदा उसले कानै छेउमा आएर भनेको थियो— यो कविता तिम्रो लागि लेखेको है । अनौठो तरिकाले मन चिसो भएको थियो । म हाँसेकी थिएँ, सायद लजाएँ पनि । त्यो दिन संसार एकदम राम्रो गुलाब लाग्यो, घर पुगेर धेरै पटक ऐना हेरेँ र धेरै पटक कविताका लाइनहरू सम्झने प्रयास गरेँ । अर्को दिनदेखि कलेजमा ऊसँग अरूका अगाडि बोल्न अप्ठ्यारो लाग्यो । जति बेला हेरे पनि ऊ मलाई नै हेरिरहेको हुन्थ्यो, मेरा आँखा पनि उसैलाई खोज्थे ।
सायद त्यो माया थियो । एक दिन एउटा चिठ्ठी मेरो कितावमा राखिदिएछ । आजसम्म मलाई कुनै साहित्य त्यति राम्रो लागेको छैन जति त्यो राम्रो लाग्यो । हजारौँ पटक पढेँ, हजारौँ पटक पट्याएँ तर कहिल्यै अघाइनँ । मैले त्यो पत्रको प्रतिउत्तर लेखिनँ, केवल ऊसँग भेट हुँदा मुस्कुराएँ मात्र । यसै पनि सुन्दर थियो ऊ । मलाई साह्रै मन पथ्र्याे । जति हेर्यो उति राम्रो लाग्थ्यो । ऊ छेउछाउ आएको रमाइलो लाग्थ्यो । उसको आवाज एकदमै मीठो थियो, कहिलेकाहीँ साथीहरूको भीडमा गीत पनि गाउँथ्यो । कलेज पुग्नको हतार, ऊ आ’को छ कि छैन नजानिँदो गरी खोज्नको हतार । हामी जम्मा पाँच मिनेट सँगै पैदल हिँड्थ्यौँ होला, त्यो पनि समूहमा, त्यति छोटो बाटो कति रमाइलो, चार लाइन नबोल्दै टुङ्गिने । मनमा लाग्थ्यो, कहिल्यै नटुङ्गियोस् । आँखैले धेरै कुरा गर्ने ती थोरै दिनले रमाइलो धेरै दिएर गए ।
पढाइ चल्दै थियो । जीवनको अन्तिमसम्मका सपना हामीले सँगै देख्न थालेका थियौँ । जीवनका उकाली–ओरालीमा दु:खसुखको मेलापात गरेका मीठा कल्पना पनि । सोचेजस्तो जिन्दगी हुँदैन भन्छौँ, सायद हामी बनाउन चाहँदैनौँ । कलिलो दिमाग, कमलो मुटु । त्यहीँ कहीँ हामी अलमलियौँ । अझ भनौँ भने मैले नै हिम्मत गर्न सकिन सायद । अहिले पनि आफूलाई एकदम कमजोर महसुस गर्छु त्यो समयकी म ।
त्यस्ता सुखद अनुभूतिहरूबाट, मीठामीठा सपनाका बगैँचाबाट, मन पर्ने मान्छे र उसको मायाबाट बाहिरिएर कसरी आफूलाई फकाएँ होला, अचम्म लाग्छ । त्यो पल दोहोरिन्न । दोहोरिएर फेरि फेरि कोहीसँग आए पनि पहिलो प्रेमको जस्तो अनुभूति रहन्न । परपरसम्म सँगै हिँडने भनेर संयुक्त सपना देखे पनि, एउटा बाटो है तिम्रो र मेरो भनेर बाटो खने पनि, एक–अर्कालाई असाध्यै मन पराए पनि हामी एक वर्षभन्दा बढी सँगै हिँड्न पाएनौँ । आम युगलको प्रेम कहानीजस्तै भयो हाम्रो पनि । त्यही पाँच मिनेट हिँडेपछि आउने दोबाटोमा हामी छुट्टियौँ र मिसियौँ भद्रगोल संसारको आ–आफ्नै जञ्जालमा । एक दिन मात्र पनि मन खोलेर घण्टौँ कुरा भएन । एक दिन तिमीबिना बाँच्न सक्दिन भनेर घुर्की लगाइएन । कुनै वाचा कसम खाइएन । बिनासर्त, बिना कसम नै माया सुन्दर हुँदो रहेछ । कुनै अपेक्षाबिना गरिएको मायाले सकारात्मक ऊर्जा र मनलाई भावनात्मक संकटबाट जोगाउने रहेछ । कुनै दिन हात समाएर दुई पाइला सारिएन, तर त्यो प्रेम नै थियो । आज पनि उसले पठाएको प्रेमपत्रको अन्तिम हरफ कण्ठै छ, तिमीलाई सुख दिन सक्दिनँ तर कहिल्यै नरुवाउने हिम्मत गर्छु । तिम्रा शब्दहरूको शीर्षकमा यौटा कविता नै लेखेको छु मैले । आज पनि तिनै शब्दको स्मृतिमा म वैभव अनुभव गर्छु । संसारको सबैभन्दा मीठो आनन्द आभास गर्छु । कसैलाई खुसी दिन साथ मात्र महत्वपूर्ण नहुँदो रहेछ, कुनै शब्द पनि काफी हुने रहेछ । त्यो मेरो पहिलो प्रेमको स्मृतिले मलाई आनन्द दिन्छ, ऊर्जा दिन्छ र म आफैँसँग भन्छु— कास ! फेरि फर्केर त्यहाँ पुग्न पाए ?