साप्ताहिक संवाददाता
अवैध बाटोबाट अमेरिका छिर्नेहरूको कथा साँच्चिकै दर्दनाक छ । दलालहरूले एउटै रुट प्रयोग नगरी फरक–फरक बाटो हुँदै मानिसहरूलाई अमेरिका पुर्याउने काम गर्दै आएका छन् । हवाई, जल तथा स्थलमार्ग जुनसुकै बाटो प्रयोग गरे पनि अमेरिका पुग्नेहरूको अन्तिम विन्दु भने मेक्सिको नै हुने गरेको छ । उनीहरू खोला वा पर्खाल नाघेर अवैध रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्छन् ।
अमेरिकाको सपना नदेख्ने कमै हुन्छन् । घुमघामका लागि होस् वा यतै आएर बसोबास गर्ने चाहना राख्ने नेपालीहरू प्रशस्तै छन् । डलर कमाउने सपनाले धेरैलाई अमेरिकाप्रति लोभ्याउँदै आएको छ । बर्सेनि वैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूको संख्या बढ्दो छ । दलाललाई लाखौं बुझाएर ज्यानै जोखिममा पारी अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीहरू पनि त्यत्तिकै छन् । नजानेर मात्र होइन, जानी–जानी गैरकानुनी रूपमा अमेरिका आउने चाहना राख्ने नेपालीहरू दिनानुदिन बढिरहेका छन् । त्यही चाहना राख्नेहरूमध्ये एक थिए— खगेश्वर केसी । रोल्पाको विकट गाउँमा जन्मिए पनि उनी काठमाडौंमै बसेर उच्च शिक्षा हासिल गर्दै कलेजमा अध्यापनरत थिए । यद्यपि पढाउने पेसाबाट उनी खासै सन्तुष्ट भने थिएनन् ।
तीन छोराछोरीका बाबु केसीको कमाइले काठमाडौंमा डेरा भाडा र बच्चाबच्चीलाई ख्वाउने–पढाउने लगायतका आर्थिक भार थेग्न सक्ने अवस्था थिएन । उनलाई अनायासै अमेरिका जाने प्रस्ताव आयो । पहिले त उनले पत्याएनन् । सहजै अमेरिकाको भिसा पाइँदैन भन्ने पनि उनलाई थाहा थियो ।
गैरकानुनी बाटोबाट उनलाई अमेरिका पुर्याउने प्रस्ताव आएको रहेछ । सुरुमा त उनी टकटकिए । जोखिम मोलेर जान तयार भएनन् । साथीमार्फत परिचित भएका एजेन्टले सहजै अमेरिका छिराउने कुरा बताएपछि उनी तयार भए ।
अहिले जोकोहीलाई बोलिभिया, ब्राजिल, कोलम्बिया, पनामा, निकारागुवा, होन्डुरस, ग्वाटेमाला अनि मेक्सिको हुँदै झन्डै ८ महिनाको कष्टकर यात्रापछि अमेरिका आइपुगेको व्यथा सुनाउँछन् केसी । घनाजंगल, समुद्र तर्दै अनि हतियारधारी जत्थाको सामना गर्दै उनी अमेरिका प्रवेश गरेको पनि पाँच वर्ष भैसकेको छ । केसी त्यसक्रममा तीन महिना जेल पनि बसे । बल्लतल्ल अमेरिका आइपुगेका केसीले यसबीच झन्डै ६० लाख रुपैयाँ स्वाहा पारे । अझै पनि उनले कानुनी रूपमा अमेरिकामा बस्न पाएका छैनन् ।
केसीले ग्रिनकार्डका लागि पेस गरेको कागजपत्र अहिलेसम्म त्यत्तिकै छ । ऋण खोजेर अमेरिका आएका केसीलाई अहिले त्यो पैसा तिर्दै ठिक्क छ । ‘अब ग्रिनकार्ड पाउने र कहिले कमाउने ? उनले नियास्रो मान्दै भने– ‘दशा लागेर पो अमेरिका आइएछ ।’ खगेश्वरले अहिले अमेरिकाको कडा अध्यागमन नीतिका कारण लुकेर बस्न पनि हम्मे–हम्मे हुन थालेको दुखेसो पोखे ।
गैरकानुनी रूपमा अमेरिका आउनेहरूलाई त्यति सजिलो छैन । दलालहरूले बाटो–बाटोमा सेटिङ मिलाउँदै र पैसाको बार्गेनिङ गर्दै अघि बढाउँछन् । उनीहरूले भने अनुसारको पैसा भएन भने अघि बढ्न नदिने अवैधानिक रुपमा अमेरिका आउने सबैजसोको अनुभव छ । यसरी अवैधानिक रूपमा अमेरिका आउने कतिपय बीच बाटोबाटै फर्काइएका पनि छन् भने केहीले ज्यानसमेत गुमाएका छन् । कतिपयले समुद्रमा डुंगा पल्टेर जलसमाधी लिएका छन् । केहीबीच बाटोमै अलपत्र परेको कथा त्यही रुटबाट अमेरिका आइपुग्नेहरू सुनाउँछन् ।
दलालहरूले ट्रकमा कोचेर, जंगलको बाटो हिँडाउँदै, महासागरहरू तार्दै भोकै–प्यासै मानिसहरूलाई अमेरिका छिराउने गरेका छन् । कतिपय त मानव तस्करहरूको चंगुलमा परेर विभिन्न देशमा बन्धक समेत बनाइएका छन् । केही वर्षअघि २३ जना नेपालीलाई अमेरिका पुर्याउने भन्दै थाइल्यान्ड हँुदै नाइजेरिया पुर्याएर बन्धक बनाइएको थियो । यसरी आउनेहरूले जंगली जनावरहरूको सामनालगायत अन्य विभिन्न समस्या भोग्नुपर्ने एक वर्षअघि मुस्किलले ज्यान जोगाएर अमेरिकाको टेक्सस आइपुगेका स्याङ्जाका हर्कबहादुर खत्रीले बताए । चूक पोखिएजस्तो अँध्यारो जंगलमा कतिपटक जंगली जनावरको सामना गरियो, गन्ती भएन,’ उनले भने– ‘तर एकपटकचाहिँ झन्डैले ज्यान गएन ।’ उनले लुकीछिपी अमेरिका आउने बाटो सजिलो नभएको बताए । ज्यानको माया चैं मारेर आउनुपर्ने रहेछ, खत्री भन्दै थिए– यो सब थाहा पाएको भए त आउने पनि थिइन् ।’
यसरी अमेरिका आउँदा बाटोमा भोगिने ठक्कर–हन्डर त छँदैछ । फेरि अमेरिका छिरेपछि पनि कागजपत्र नहुँदाको
सास्तीको अर्को कथा सुरु हुन्छ । राम्रो काम नपाइने र लुकीछिपी हिँड्नुपर्ने त्रास आफ्नो ठाउँमा छँदैछ ।
यस्तै ऋणधन गरेर भारत हँुदै विभिन्न देशको कठोर यात्रा पार गर्दै अमेरिका पुगेका पोखराका चित्रबहादुरलाई दुई वर्षअघि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले विमान चार्टर गरेर नेपाल डिपोर्ट गरेको थियो । त्यतिबेला चित्र सहित अन्य चार जना नेपाली डिपोर्टमा परेका थिए । यसरी ज्यान धरापमा राखेर अमेरिका प्रवेश गर्नेहरूको संख्या बढे पनि ट्रम्प सरकारको कडा अध्यागमन नीतिका कारण लुकीछिपी आउनेहरूलाई डिपोर्ट गर्ने क्रम पनि त्यत्तिकै बढेको छ । दलाललाई ४० देखि ८० लाख रुपैयाँसम्म बुझाएर अबैध बाटोबाट अमेरिका
छिर्नेहरूको कथा साँच्चिकै दर्दनाक छ । दलालहरूले एउटै रुट प्रयोग नगरी फरक–फरक बाटो हुँदै मानिसहरूलाई अमेरिका पुर्याउने काम गर्दै आएका छन् । हवाई, जल तथा स्थलमार्ग जुनसुकै बाटो प्रयोग गरे पनि अमेरिका पुग्नेहरूको अन्तिम बिन्दु भने मेक्सिको नै हुने गरेको छ । उनीहरू खोला वा पर्खाल नाघेर अवैध रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्छन् ।
यसरी लुकीछिपी अमेरिका आउनेहरू सामान्य व्यक्ति मात्र नभै पढेलेखेका तथा सरकारी जागिर खाएकाहरूसमेत छन् । अमेरिका छिरेपछि पनि वकिललाई पैसा ख्वाएर केस लड्नुपर्छ, डेढ वर्षअघि अमेरिका आएका तनहुँका वेदशरण कार्कीले भने– वकिलले भनेजति पैसा दिनुपर्छ, नत्र मुद्दा नै लड्न मान्दैनन् । बाटोमा ठगिनु त छँदैछ, अमेरिका आइसकेपछि पनि ठगिनुपरेको उनको अनुभव छ । मुलुक चरम द्वन्द्वमा हुँदा होस् वा भूकम्पपछिको विपत्तिमा होस्, थुप्रै नेपाली अवैध रूपमा अमेरिका प्रवेश गरी यतै बसेका छन् । द्वन्द्वकालमा त धेरैले विद्रोहीको समस्या देखाएर सजिलै ग्रिनकार्ड समेत हात पारे । भूकम्पपछि पनि नक्कली पीडित बनेर अमेरिकामा शरण लिनेहरू पनि देखिए । विभिन्न कार्यक्रमको बहानादेखि लिएर घुम्न आउनेहरूसम्म अधिकांशत: यतै लुक्ने गरेका छन् । कार्यक्रमको सिलसिलामा यता आएर नफर्किने पेसाकर्मी तथा कलाकार पनि उत्तिकै छन् ।
बर्सेनि अवैध रुपमा अमेरिका प्रवेश गर्ने नेपाली सयौं भए पनि हजारौंको संख्यामा कागजातविहीन नेपाली अमेरीकामै सेटल भएको बताइन्छ । यद्यपि यसको आधिकारिक तथ्यांक कसैसँग पनि छैन । अमेरिकाको एक समाचार एजेन्सीको तथ्यांकअनुसार एसियाली मुलुकका झन्डै १० लाख आप्रवासी अवैध रुपमा अमेरिकामा बस्दै आएका छन्, जसमा भारतीयहरूको संख्या सबैभन्दा बढी छ भने नेपालीहरूको संख्या ४० हजार भन्दामाथि भएको अनुमान गरिन्छ । कानुनी रूपमा अमेरिका बस्ने नेपालीहरूको संख्या ४ लाखको हाराहारीमा रहेको तथ्यांक छ ।
अवैध रुपमा आए पनि ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरूको संख्या पनि बढ्दो छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नीतिमा कडाइ गरेपछि यसरी ग्रिनकार्ड पाउनेहरूको संख्या घट्दै गएको छ । अहिले त गैरकानुनी रूपमा बस्दै आएका आप्रवासीलाई फिर्ता पठाउन आईसीईले धरपकड समेत गर्न थालेको छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टयुम्स इन्फोर्समेन्टको तथ्यांकअनुसार २०१८ मा २ लाख ८६ हजार ८५ जनालाई उनीहरूकै मुलुक फिर्ता पठाइएको छ भने त्यसमा के–कति नेपाली फिर्ता पठाइए भन्ने विषयमा आधिकारिक तथ्यांक फेला पर्न सकेको छैन ।