साप्ताहिक संवाददाता
वीरगंजमा हुन लागेको ‘नेपाली चलचित्र स्वर्णीम महोत्सव’ मा सहभागी हुन बलिउडका चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । आयोजक नेपाल चलचित्र निर्माता संघले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने पक्का भएको छ । ‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सव कात्तिक २१ देखि २३ गतेसम्म चल्नेछ ।
महोत्सवमा नेपालका चर्चित कलाकारहरु नीर शाह, राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, करिश्मा मान्नधर, गौरी मल्ल, निरुता सिंह, केकी अधिकारीलगायतका कलाकार समेत उपस्थित हुने जनाइएको छ ।
महोत्सव आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य संघले समेत सहयोग गरेका छन् । महोत्सव सम्पन्न गर्न १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रदेश २ सरकारले १० लाख, वीरगञ्ज महानगरपालिकाले १५ लाख रुपैयाँ र प्रादेशिक पर्यटन प्रवर्दन समितिले समेत आर्थिक सहयोग गरेका छन् । यो महोत्सवले नेपालको पर्यटन विकासमा समेत टेवा पुग्ने अपेक्षा राखिएको निर्माता आकाश अधिकारीले जानकारी दिए ।