साप्ताहिक संवाददाता
चर्चित साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा टेकेर निर्माण गरिएको चलचित्र यहि कात्तिक २२ गते नेपालभर प्रदर्शन हुने भएको छ । यो चलचित्रमा झमकको जन्मदेखि मदन पुरस्कार प्राप्त गर्दासम्मको यात्रालाई समेटिएको चलचित्रका निर्देशक विनोद विष्टले बताए ।
विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा र संवाद छ । यो चलचित्र यसअघि गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको थियो । यद्यपी, नेपालबाहिर प्रिमियर गर्दा समय नपुगेकाले नेपालमा प्रदर्शन गर्न नसकिएको निर्माण पक्षको भनाई छ ।
चलचित्रमा झमले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई मसिनो गरी उठान गरिएको जनाइएको छ ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापाले काम गरेकी छिन् । युवावस्थामा रोजिता बुद्धचार्यले अभिनय गरेकी छिन् । त्यस्तै, सारिका घिमिरे, किशन सुनार, उमा गिरी लगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।
चलचित्रका अधिकांश दृश्य उनको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गला लगायतका क्षेत्रमा छायांकन गरिएको छ ।