साप्ताहिक संवाददाता
स्वस्तिमा खड्का निकै भाग्यमानी अभिनेत्री हुन् । किनभने, उनले काम गरेका सबैजसो चलचित्र हिट छन् । स्वस्तिमालाई काम गर्ने इच्छा छ भने, प्रोजेक्टको कुनै कमी छैन ।
चलचित्र क्षेत्रमा हाम फालेको छोटो समयमै सरकारले प्रदान गर्ने उत्कृष्ट अभिनेत्रीको रुपमा राष्ट्रिय एवार्ड हात पारेकी छिन् । अन्य विभिन्न एवार्ड समेत हात पारिसकेकी छिन् । फ्यान फलोइङ मज्जाले कमाएकी छिन् । राम्रै कमाई गरिरहेकी छिन् ।
उनै अभिनेत्री स्वस्तिमाको अर्को चलचित्र ‘घामड शेरे’ आगामी शुक्रवारदेखि प्रदर्शन हुँदैछ । प्रदर्शनरत यो चलचित्रको प्रमोशनमा व्यस्त उनले साप्ताहिकसँगको छोटो कुराकानीमा दर्शकले धेरै माया दिएसँगै आफु संयमित भएर काममा ध्यान दिनुपरेको बताइन् । केहि हिट चलचित्र दिएपछि चुनौती धेरै हुँदोरहेछ, उनले भनिन्, ‘आफ्नै सफलता कहिलेकाहिँ चुनौती बन्दोरहेछ ।’
अघिल्ला प्रोजेक्टको सफलतापछि यसले थप जिम्मेवार बनाएको उनले बताइन् । मिहेनत गरेर काम गर्न दवाव मिलेको छ । सकेसम्म अघिल्ला प्रोजेक्ट भन्दा राम्रो गर्ने हरेक कलाकारको इच्छा हुन्छ, उनले थपिन्, ‘मेरो अरु कोहिसँग प्रतिस्पर्धा छैन । र, कसैलाई जित्ने चुनौती छैन, आफ्नै अघिल्ला प्रोजेक्ट भन्दा राम्रो गर्ने चुनौती छ ।’