साप्ताहिक संवाददाता
अग्लो सुन्दर स्लिम फिगर, बान्की परेको जिउडाल, आकर्षक हिँडाइ, सम्मोहित गर्न सक्ने हाउभाउ, आत्मविश्वासले भरिपूर्ण प्रस्तुति, आवरणीय व्यक्तित्व आदि विशेषताले कुनै पनि फेसन शोको र्याम्प वा रनवेमा फेसन डिजाइनरको सुन्दर परिकल्पना एवं सिर्जनात्मक पहिरनलाई प्रस्तुत गर्ने मोडलको छविलाई परिभाषित गर्छ । फेसन शोहरूमा सक्रिय सुन्दरीहरूको निरन्तरता, हालको सक्रियता, चर्चा एवं नेपाली परिवेशमा स्तरीय तथा उत्कृष्ट मानिएका फेसन शोहरूमा उनीहरूको उपस्थितिलाई उनीहरूको मूल्यांकनको मुख्य आधार मानिन्छ भने व्यक्तित्व एवं पर्फमेन्स त आफ्नो ठाउँमा छँदै छ । साप्ताहिकले कोरियोग्राफर / फेसन पत्रकार रोजिन शाक्यको सहयोगमा पहिलो पटक नेपालका उत्कृष्ट र्याम्प मोडलहरूलाई समेट्ने प्रयास गरेको छ ।
आस्था पोखरेल
नेपाली र्याम्प मोडलिङमा सुपर मोडलको दर्जा पाएकी आस्था पोखरेल घरेलु मोडलिङ वृत्तमा मात्र नभै अन्तर्राष्ट्रिय परिवेशमा समेत सफल नाम हो । आस्थाले भारतीय टेलिभिजन एनडिटिभी गुड टाइम्सद्वारा संचालित र सोही टेलिभिजनमा रियालिटी शोका रूपमा वर्ष २०१४ मा प्रसारित ‘किङफिसर सुपरमोडल्स टू’ को विजेता हुँदै आफ्नो मोडलिङ करियरमा ठूलो फड्को मारेकी हुन् । ‘किङफिसर सुपरमोडल्स टु’ को विजेता भएसँगै आस्था ‘किङफिसर क्यालेन्डर–२०१५’ को डिसेम्बर महिनाको पानामा देखा परेकी थिइन् । आस्था टाइम्स मोस्ट डिजाइरेबल वुमेन–२०१४ को उत्कृष्ट पचासको सूचीमा समेत परेकी थिइन् । आस्थाले सन् २०१५ को लेक्मे फेसन सप्ताहको समर रिसोर्ट–२०१५ मा पनि क्याटवाक गरेकी थिइन् ।
५ फिट साढे ९ इन्च अग्ली आस्थाले ‘एसियाज नेक्स्ट टप मोडल’ शीर्षकको अन्तर्राष्ट्रिय रियालिटी शोमा समेत सहभागिता जनाएकी छिन् । सिंगापुरमा सम्पन्न उक्त रियालिटी शोमा उनले टप फाइभसम्मको यात्रा तय गरेकी थिइन् । आस्थाले सुपर मोडल इन्टरनेसनल–२०१३ को उपाधि हात पारेपछि बैंककमा सम्पन्न सुपर मोडल इन्टरनेसनल–२०१३ मा नेपालका तर्फबाट सहभागिता जनाएकी थिइन् । नेपाल फेसन सप्ताह, ट्रेन्डसेटर, आइसी डिजाइनर्स रनवेजस्ता नेपालका ए क्लास फेसन शोहरूमा हाइलाइट हुँदै आएकी आस्थाले मिस नेपाल–२०१४ मा टप फाइभसम्मको यात्रा गरेकी थिइन् ।
सविता कार्की
नेपालमा आयोजित प्राय: सबै प्रतिष्ठित फेसन शोहरूमा आफ्नो उपस्थिति जनाएर ख्याति कमाएकी सविता कार्कीको व्यवसायिक मोडलिङको दायरा इन्डियाज नेक्सट टप मोडल सीजन थ्रीमा प्रवेश पाएपछि थप चुलिएको हो । प्रतिस्पर्धा प्रारम्भ भएदेखिको समग्र यात्रा, प्रस्तुति एवं प्रभावकारिता सँगै फाइनलको र्याम्प वाक, फोटोसुट एवं पर्फमेन्सका आधारमा विजेता चयन गरिएको इन्डियाज नेक्स्ट टप मोडल सीजन थ्रीमा सविता फस्ट रनर्सअप भएकी थिइन् । इन्डिया नेक्स्ट टप मोडल सीजन थ्रीको फस्ट रनर्सअपसम्मको यात्रा तय गर्ने सविता उक्त प्रतिस्पर्धामा सहभागी पहिलो नेपाली मोडल हुन् ।
नेपाल फेसन सप्ताह देखि क्लासिक डायमन्ड ज्वेलर्सको टाइमलेस पारागन ज्वेलरी फेसन शोजस्ता वृहत् र्याम्प शोमा देखा परिसकेकी सविता कहलिएकी र्याम्प सुन्दरी हुन् । ५ फिट ८ इन्च अग्लो स्लिम फिगरकी २३ वर्षीया सविताको सौन्दर्यले विभिन्न म्यागजिनको शोभा बढाइसकेको छ ।
शिक्षा संग्रौला
नेपाली र्याम्प मोडलिङमा चर्चामा रहेको अर्को नाम हो— शिक्षा संग्रौला । लिरिल फ्रेस फेस–२०१४ को विजेता भएसंगै मोडलिङको संसारमा चिनिन थालेकी शिक्षा नेपाल फेसन सप्ताह, क्लासिक डायमण्ड ज्वेलरी फेसन शोदेखि मिस नेपाल–२०१८ सम्मको प्रतिस्पर्धी रहिसकेकी छिन् । शिक्षाले टेलिभिजन, म्युजिक भिडियो, विज्ञापन, फेसन शो आदि सबै क्षेत्रको अनुभव संगालेकी छिन् । नारी, एम एन्ड एसलगायतका म्यागाजिनको कभर गर्ल भैसकेकी शिक्षा अन्तर्राष्ट्रिय ब्रान्ड पोलिसको नेपालका लागि ब्रान्ड एम्बेसडर समेत हुन् ।
अल्का राई
अल्का राईका रूपमा परिचित अलहाङ राई नेपाली रनवे मोडलिङमा अर्को स्थापित नाम हो । नेपाल फेसन सप्ताहबाट आफ्नो मोडलिङ करियरलाई गति दिएकी अग्लो स्लिम फिगरकी अल्काले करिब तीन वर्षको मोडलिङ यात्राका क्रममा थुप्रै र्याम्प शोमा उपस्थिति जनाएकी छिन् । अल्काले अनेकन फोटोसुट, म्यागजिन कभर, म्युजिक भिडियोदेखि क्लासिक डायमण्ड ज्वेलरी फेसन शो, नेपाल फेसन सप्ताह हुँदै दक्षिण कोरियामा सम्पन्न एसिया मोडल फेस्टिभल–२०१६ को अनुभवसमेत सँगालिसकेकी छिन् ।
मुना गौचन
दर्जनौं पटक फेसन शोमा प्रस्तुत भैसकेकी ५ फिट ५ इन्च अग्ली २२ वर्षीया मुना गौचन कहलिएकी र्याम्प मोडल हुन् । उनी फेश अफ क्लासिक डायमण्ड–२०१७ की विजेता हुन् । विभिन्न टिभी तथा छापा विज्ञापनमा छाइसकेकी मुना चपली हाइट टू, जालो तथा जालो रिटर्नस्मा अभिनेत्रीका रूपमा प्रस्तुत भैसकेकी छिन् । एम एन्ड एस, नारी, साप्ताहिक, वाउ, भोअ, वेभ आदि म्यागजिनको शोभा बढाइसकेकी मुनाले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । चिटिक्क मिलेको जिउडाल, शालीन, आकर्षक तथा सुन्दर अनुहारकी धनी मुना बोल्ड एवं स्टाइलिस तथा सौम्य–शालीन दुवै छविमा प्रस्तुत हुन सक्ने खुबी राख्छिन् । उनी मिस इको इन्टरनेसनल नेपाल–२०१९ की विजेता हुन् ।
अरुणी वाइबा
आइसी डिजाइनर्स रनवे, क्लासिक डायमण्ड ज्वलेरी फेसन शो, आइसी डिजाइनर्स रनवे शो लगायत कहलिएका डिजाइनरहरूका फेसन शोको शोभा बढाइसकेकी अरुणी वाइवाले मिस मंगोलमार्फत ग्ल्यामर क्षेत्रमा पदापर्ण गरेकी हुन् । कोरियामा सम्पन्न एशिया मोडल फेस्टिभल–२०१७ मा सहभागी भएर अन्तर्राष्ट्रिय रनवेको अनुभव सँगालेकी अरुणी नारीलगायतका म्यागजिनको कभरमा देखापरिसकेकी छिन् ।
सोनी श्रेष्ठ
फेस अफ क्लासिक डायमण्ड–२०१७ की फस्ट रनर्सअप सोनी श्रेष्ठ अहिलेकी चल्तीकी मोडलका रूपमा चिनिन थालेकी छिन् । विभिन्न म्यागजिनको कभर फेस बनिसकेकी सोनीले क्लासिक डायमण्ड ज्वेलरी फेसन शो, नेपाल फेसन सप्ताह, आइसी डिजाइनर्स रनवे, दलजित सुदान रनवे आदि प्रतिष्ठित फेसन शोमा आफूलाई प्रस्तुति गरिसकेकी छिन् ।
सोरु बराइली
फेस अफ क्लासिक डायमण्ड–२०१७ की सेकेन्ड रनर्सअप सोरु बराइलीलाई उनको अग्लो जिउडाल तथा आकर्षक व्यक्तित्वले निकै सहयोग गरेको छ । नेपाल फेसन सप्ताह–२०१८ को मोडल रहिसकेकी सोरु क्लासिक डायमण्ड ज्वलेरी फेसन शोलगायत केही फेसन शोमा प्रस्तुत भैसकेकी छिन् ।
समृद्धि रावल
एनभोग फाइभ, फेस अफ हाउस अफ फेसनकी विजेता समृद्धि रावल पनि नेपाली रनवे मोडलिङमा जम्दै छिन् । नेपाल फेसन सप्ताह–२०१८ को रनवेमा आफ्नो जादू छर्न सफल समृद्धिले दलजित सुदान रनवेसहित अन्य महत्वपूर्ण फेसन शोहरूमा आफ्नो उपस्थिति जनाइसकेकी छिन् । समृद्धि विभिन्न म्यागजिनमा कभर गर्लका रूपमा समेत देखा परिसकेकी छिन् ।
सुदीपा पाठक
मिस नेपाल–२०१५ की प्रतिस्पर्धी सुदीपाले आफूलाई रनेव मोडलका रूपमा उभ्याएकी छिन् । नेपाल फेसन सप्ताहदेखि दलजित सुदान रनवेसहित अनेकन् फेसन शोमा आफ्नो दरिलो उपस्थिति जनाइसकेकी सुदीपालाई उनको अग्लो जीउडाल एवं आकर्षक मुहारले र्याम्पको आकर्षण बन्न सहयोग गरेको छ ।
सन्दीपा लिम्बू
मिस नेपाल–२०१६ की सहभागी सन्दीपाले फेस अफ नेपाल–२०१७ को विजेताका रूपमा दक्षिण कोरियामा संचालित एसिया मोडल फेस्टिभलमा सहभागिता जनाएकी थिइन्, जसमा उनले एसिया मोडल फेस्टिभल फेस अफ एसिया जेजु एयर अवार्ड जितेकी थिइन् । अग्लो शरीर तथा कन्फिडेन्ट लुक्सकी सन्दीपासँग नेपाल फेसन सप्ताहको अनुभवसमेत छ ।
हिसिला महर्जन
लिरिल फ्रेस फेस–२०१७ की विजेता हिसिला महर्जन अन्य कहलिएका रनवे मोडलजत्तिकै अग्लो शरीरकी धनी भने होइनन् । यद्यपि उनको आकर्षक व्यक्तित्व, स्लिम फिगर तथा पर्फमेन्सले उनलाई अहिलेका चल्तीको र्याम्प मोडलमा उभ्याएको छ । हिसिलाले ग्ल्यामर क्षेत्रमा प्रवेश गरेको थोरै समयमै थुप्रै फेसन शो तथा डिजाइनर्स रनवे आदिमा आफ्नो उपस्थिति जनाइसकेकी छिन् । महर्जन डिजाइनर अफ द इयर शीर्षकको वृहत् डिजाइन् प्रतिस्पर्धाका लागि पनि छनोट भैसकेकी छिन् । म्यागजिन कभर, विज्ञापन तथा म्युजिक भिडियो आदिसमेतमा उनको उपस्थिति देखिन्छ ।
नेहा बानु
अग्लो स्लिम फिगर तथा सुन्दर मुहारकी धनी नेहा बानु छोटो समयमै मोडलिङ क्षेत्रमा परिचित नाम हो । रनवे मोडलका रूपमा सक्रिय हुँदै आफूलाई फिट मोडलका रूपमा स्थापित गरेकी नेहाले क्लासिक डायमण्ड ज्वेलरी फेसन शोलगायत अनेकन् फेसन शोमा आफ्नो बलियो उपस्थिति जनाइसकेकी छिन् ।
शिक्षा शाक्य
ईमेज मेगा मोडलको पछिल्लो श्रृङ्खलाको टप थ्रीमध्येकी एक शिक्षा शाक्य नेपाली रनवे मोडलिङमा सक्रिय सुन्दरी हुन् । नेपाल फेसन सप्ताहदेखि किङफिशर नेपाल फेसन शो तथा आर्शिया काउचरमा र्याम्प नापिसकेकी शिक्षाले थुप्रै पटक कहलिएका डिजाइनरका लागि क्याटवाक गरिसकेकी छिन् ।
अदिति अधिकारी
नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित मोडल हन्ट नेपाल–२०१८ को विजेता भएसँगै स्लिम फिगरकी धनी अदिति अधिकारीले मोडलिङ करियरमा राम्रै छलाङ मारेको पाइन्छ । कोरियाको इन्चिनमा सम्पन्न पाँचौं लक्जरी ब्रान्ड मोडल एवार्ड, ग्लोबल फेसन विक–२०१८ मा सहभागिता जनाएकी अदितिले त्यहाँ ‘फेसनिस्टा एन्ड ब्रान्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ एवार्ड प्राप्त गरेकी थिइन् भने हालै भारतको नयाँ दिल्लीमा संचालित मिस सुपर मोडल ग्लोबमा सेकेन्ड रनर्सअप भएकी थिइन् । अदिति दलजित सुदान रनवे, इबिजा फेसन नाइट हुँदै डिजाइनर अफ द इयरका लागिसमेत अनुबन्धित भएकी छिन् ।