स्पष्ट तथा प्रखर वक्ता हुन्– रमेश प्रसाई । अद्भुत वाक्कलाले नै उनलाई पब्लिक स्पिकर नेपाल सिजन–२ को विजेता बनायो । देशभरिका ११ सय युवालाई पछि पार्दै विजेता भएका प्रसाईं अहिले सञ्चारमाध्यमहरूमा आफ्नो कौशल देखाइरहेका छन् । जन्मजात आफ्नो दृष्टि गुमे पनि संसारका हरेक कुरालाई ह्दयबाट महसुस गरी सत्य, तथ्यसँग नजिक हुँदै प्रखर अभिव्यक्ति दिने रमेश वाक्कलासँगै कविता लेखन एवं गीत–संगीतमा समेत सक्रिय छन् ।
एक समय युट्युबमा खुबै चर्चित हुनुभयो होइन ?
हो, त्यो एउटा कालखण्ड थियो, युट्युबका हरेक नेपाली च्यानलमा मेरो अन्तर्वार्ता आएकै हुन्थ्यो ।
किन कम गर्नुभयो ?
त्यो मेरा शुभेच्छुकहरूको मप्रतिको माया एवं सद्भाव थियो भन्ने लाग्छ । कुनै पनि मानिसले घमन्ड र अहंकार गर्नुपर्ने कुनै कारण छैन । मैले चर्चित व्यक्तित्वहरू पलायन भएको पनि देखेको छु । मानिसको रुचि नै नयाँ र नौलो चिज तथा वस्तुको खोजीमा हुन्छ । म त्यो समयको पर्खाइमा छु जुन समय नयाँ विषय र सोच आओस् । नयाँ कुरा बोल्न नयाँ विषय चाहिन्छ, नयाँ विषयका लागि नयाँ समय चाहिन्छ ।
दर्शकहरूको प्रतिक्रिया र सफलतालाई कसरी हेरिरहनुभएको छ ?
मलाई समाजको वास्तविकता र तथ्यमा आधारित भएर बोल्न मन लाग्छ, त्यो म निरन्तर गरिरहन्छु, जसका कारण म चिनिएको छु ।
व्यक्तिगत रूपमा कस्ता प्रतिक्रिया पाउनुहुन्छ ?
संसारको मज्जा र जीवनको सन्तुष्टि नै विविधतामा छ । हामी सबैले आ–आफ्नो दख्खल र दक्षतामा विश्वास गर्नुपर्छ । म इमान्दार भएर मेरो ब्रह्मले देखेको कुरा समाज र देशको पक्षमा बोल्छु, सायद यही नै मेरो विशेषता हो । अझ सबैको सकारात्मक प्रतिक्रियाले मलाई ऊर्जा प्रदान गर्छ ।
वाक्कलाका लागि आफूलाई कसरी परिष्कृत गर्नुहुन्छ ?
मेरो अध्ययनको पहिलो स्रोत रेडियो र इन्टरनेट नै हो । सबै पुस्तक ब्रेल लिपिमा उपलब्ध नभएका कारण म रेडियोलाई आफ्नो ज्ञानको स्रोत मान्थे । पछिल्लो समय इन्टरनेटसँग पनि आफूलाई अभ्यस्त बनाउँदैछु ।
तपाईको दृष्टि कसरी गुम्यो ?
मेरो दृष्टि जन्मजात नै गुमेको हो । संसारमै दुर्लभ रूपमा पाइने वर्थ डिफेक्ट हो यो । डा. सन्दुक रुइतका अनुसार आजसम्म यसको अप्रेसन विश्वका कुनै पनि डाक्टरले गरेका छैनन् ।
कार्यक्रमको सिलसिलामा विभिन्न ठाउँहरूमा पुग्नुहुन्छ, भेटिएका नयाँ मानिसहरूको व्यवहार एवं आचरण कसरी महसुस गर्नुहुन्छ ?
वास्तवमा म कसैको आवाजबाट उसको मप्रतिको व्यवहार एवं सोच आँकलन गर्छु । मेरो मूल्याङ्कनले कहिलेकाहीं मात्र मात खाने गरेको छ । हरेक मानिसको बोलीमा एक प्रकारको कम्पन हुन्छ, बोलीले धेरै कुरा मूल्याङ्कन गर्न सघाउँछ । शरीरभन्दा प्रमुख मानिसको स्वभाव हो । शरीर त परिवर्तनशील छ, तर सोच र स्वभाव नै मानिसको प्रमुख पहिचान हो । म चिप्लो बोलीमा कुटीलता र स्वार्थ घुलित भएको पाउँछु भने रुखो बोली सुन्दा नराम्रो लागे पनि त्यसमा सत्यता मिसिएको पाएको छु ।
विदेश जाने युवाहरूप्रति तपाईंको धारणा कस्तो छ ?
धेरैले विदेश जानेहरूलाई भागेको भन्छन् तर मलाई त्यस्तो लाग्दैन । देशभित्र बसेर देशलाई लुट्नु–चुस्नुभन्दा विदेशमा बसेर देश धान्नु ठूलो कुरा हो । नेपालमा बसेर प्राकृतिक प्रकोपबाट पीडित भएकाहरूको समेत रगत चुस्न पल्किएकाहरूको तुलनामा विदेशमा बसी आफ्नो छाक काटेर ती पीडितहरूको पेट भर्ने प्रयास गर्नु ठूलो कुरा हो । यद्यपि नोटका बिटाले मात्र आमाको आँसु पुछिँदैन । अब विदेशको सीप र सम्पन्नतालाई आफ्नो माटोमा खर्चिनुपर्यो ।
प्रसङ्ग बदलौं, तपाईंको रुचि कविता लेखन र संगीतमा पनि छ होइन ?
कविता लेखन वाककलाकै अर्काे पाटो हो भने, संगीत र मेरो गायकी सबैको मायाको परिणाम हो । विद्यालयमा पढ्दाताका रहरमा गाइयो । पछि दृष्टिविहीन साथीहरूले चोकचोकमा वाद्यवादनसहित गीत प्रस्तुत गर्नु हुन्थ्यो तर बाध्यताले । पछि–पछि मलाई जसले जहाँ भेटे पनि गीत गाउन अनुरोध गर्न थाले । त्यो मेरो गायनकलाको सम्मानभन्दा पनि अपमान हो भन्ने लाग्न थालेपछि जीवनमा कहिल्यै गाउँदिनँ भनेर आफूलाई सम्हालेको थिएँ । पब्लिक स्पिकरको विजयी भएसँगै रमाइलोका लागि गाएको थिएँ, सबैले ऊर्जा दिइरहनुभएको छ ।
रमेश प्रसाईको भोगाइमा प्रेम के हो ?
प्रेम मानवजीवनको अन्तिम सत्य हो, जसका लागि मानिसले संसार त्याग्न सक्छ ।
त्यो प्रेम आफ्नो जीवनमा महसुस गर्नुभएको छ ?
म त्यसको प्रतीक्षामा छु ।
आफ्ना प्रशंसकहरूलाई के सन्देश दिनुहुन्छ ?
महिला र पुरुषबीच समागम हुँदा पुरुषको १ लाख शुक्रकीट महिलाको डिम्बमा प्रवेश हुन्छ । तीमध्ये ९९ हजार ९ सय ९९ मरेर जान्छन् र एउटा शक्तिशाली शुक्रकीटले जीवन्तता पाउँछ, त्यो म हो, तपाईं हो । हामी आफ्नो जीवन प्रारम्भ नहुँदै विजयी भएर आएका छौं, त्यसैले कहिल्यै हार नमानौं ।
तस्बिर : कृष्ण गुरुङ